NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

गुटबन्दीको घेराबन्दीमा प्रचण्ड, कति छन् माओवादीमा गुट ?

काठमाडौं । पटक–पटक टुटफुट र विभाजनबाट गुज्रिँदै आएको माओवादी केन्द्रभित्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मुखमा आन्तरिक विवाद सतहमै छताछुल्ल भएको छ । माओवादी युद्धदेखि प्रचण्डलाई साथ दिएका संगठन विभाग प्रमुख जनार्दन शर्मा बुधबार प्रचण्डकै विरुद्धमा खनिए ।

अखिल क्रान्तिकारीले चुनावी तयारीका लागि अखिल फोर्स घोषणा कार्यक्रममा आफ्नै अध्यक्षविरूद्ध कडा रूपमा प्रस्तुत भएपछि कार्यकर्ताहरूले अनौठो माने । चुनावी तयारीबारे शीर्ष नेताहरूबाट निर्देशनात्मक प्रतिक्रिया आउनेमा नेता तथा कार्यकर्ताहरूको अपेक्षा थियो । तर मञ्चमा शीर्ष नेताबीच नै नोकझोकको अनौठो दृष्य देखिएपछि कार्यकर्ताहरू नै विभाजित भए ।

प्रचण्डभन्दा अगाडि आफ्नो भनाइ राख्न पोडियममा उभिएका अर्थमन्त्रीसमेत रहेका शर्माको पक्षमा दर्शकदीर्घबाट गढगढाहट ताली बर्सियो । लगातार ताली बजेपछि शर्माले औपचारिक सम्बोधन नगरी ‘नबजाऊ मलाई ताली, तालीदेखि डर लाग्छ । नगर मलाई गाली, गालीले मलाई दुःख लाग्छ । सक्छौ भने आलोचना गर त्यसले मलाई रक्षा गर्छ ।’ सायरीबाट आफ्नो भनाइ राखेका थिए ।

त्यसपछि पार्टीले दिएको उपमहासचिव पद अस्वीकार गर्दै उनी प्रचण्डमाथि खनिएका थिए । आफूले पहिल्यैदेखि नै नीति र नेतृत्वको रक्षा गर्दै आएको जिकिर गरे । आफू प्रचण्डको आलोचक रहेको र आलोचना गर्ने सार्वजनिक अभिव्यक्ति दिए ।

‘म संगठन विभागको हैसियतले कार्यक्रममा उपस्थिति भएको हुँ । पार्टी नीति र नेतृत्वले चल्छ । तपाईंहरूमाझ म भन्न चाहन्छु । म पहिल्यैदेखि प्रचण्डको आलोचक र संरक्षक थिएँ । अहिलेपनि आलोचना गर्छु । नीति र नेतृत्व ठीक भएन भने चाकडीले पार्टी अगाडि बढ्दैन ।’

आफूमाथि शर्माले एकाएक कडा अभिव्यक्ति प्रहार गरेपनि आफ्नो बचाउमा प्रचण्ड उत्रिए । शर्मालाई आफैले हुर्काएको जिकिर उनले गरे । प्रचण्डले यसो भनिरहँदा उनको पक्षमा कार्यकर्ताहरूले जोडतोडले ताली बजाए ।

‘जनार्दनजीले नीति र नेतृत्वको कुरा गर्नुभयो । प्रचण्डले नै जनार्दनलाई हुर्काएको हो । मैले युद्धको नेतृत्व पनि गरें । शान्ति, संविधान र गणतन्त्रको नेतृत्व पनि गरें । मलाई सबै थोक पुगेको छ । अब मेरो इच्छा भनेको सक्षम र क्षमतावान उत्तराधिकारी तयार गरेर पार्टीलाई थप एकताबद्ध र क्रान्तिकारी पार्टी बनाउने हो ।’

बुधबारको दुई शीर्ष नेताबीचको घोचपेचले माओवादीभित्र असन्तुष्टि र गुट–उपगुट कसरी झाँङ्गिदै गइरहेको छ भन्ने कुराको पटाक्षेप भएको छ ।

शान्तिप्रक्रियाको १६ वर्षमा माओवादी ८ टुक्रामा विभाजित

२०६३ को शान्ति सम्झौताबाट शान्तिपूर्ण राजनीतिमा अवतरण गरेको माओवादी १६ वर्षमा ८ टुक्रामा विभाजित भइसकेको छ । २०६४ को पहिलो संविधानसभा निर्वाचनसम्म आइपुग्दा कार्यादिशालाई लिएर पार्टीभित्र प्रचण्ड–वैद्यबीच दुई लाइन संघर्ष चर्कियो । चुनबाङ बैठकले तय गरेको लोकतान्त्रिक गणतन्त्र र २१ औं शताब्दीको जनवाद संस्थागत गर्न कामीडाँडा, बालाजु, खरीपाटी हुँदै २०६७ मंसिरमा गोरखाको पालुङटार आइपुग्दासम्म प्रचण्ड–वैद्य–बाबुरामबीच तीन लाइन संघर्ष चर्कियो ।

प्रचण्डले पार्टीभित्र देखिएको विग्रहलाई व्यवस्थापन गर्न नसक्दा २०६९ असारमा वैद्यको नेतृत्वमा ठूलो समूह माओवादीबाट अलग भयो । वैद्यसमूहबाट अहिले विप्लव र धर्मेन्द्र बास्तोलाको अलग–अलग पार्टी रहेको छ । पार्टी विभाजनले २०७० को दोस्रो संविधानसभा निर्वाचनसम्म आइपुग्दा माओवादी उठ्नै नसक्नेगरी थिलथिलो भयो । २०६४ को निर्वाचनमा सबैभन्दा ठूलो पार्टी भएको माओवादी २०७० मा आइपुग्दासम्म सानो दलको हैसियतमा तेस्रो स्थानमा खुम्चियो ।

राष्ट्रिय राजनीतिमा माओवादी कमजोर हुँदै गएपछि बाबुरामले पनि प्रचण्डको साथ छाडे । वैकल्पिक शक्ति बनाउने भन्दै उनी २०७२ असोज ९ गते उनी पार्टीबाट अलग भए । बाबुराम अहिले नयाँ शक्ति, संघीय समाजवादी, जसपा, नेसपाहुँदै पुनः माओवादीमै फर्किने तरखरमा छन् ।
२०७४ को निर्वाचनमा वैद्य समूह त्याग गरी मूल पार्टीमै फर्किएका रामबहादुर थापालगायत नेताहरू नेकपा हुँदै एमालेमा रहेका छन् । त्यसबाहेक गोपाल किराँतीको एकीकृत माओवादी र विश्वभक्त दुलाल आहुतिको नेतृत्वमा रहेको वैज्ञानिक समाजवादी सानो झुण्डमा अस्तित्वमा रहेको छ ।

अहिले प्रचण्ड नेतृत्वको माओवादीबाहेकले अन्य माओवादी घटकले राष्ट्रिय राजनीतिमा प्रभाव जमाउन सकेको छैन ।

गुट–उपगुटको घेराबन्दीमा प्रचण्ड

टुटफुट र विभाजनले कमजोर भएका प्रचण्डले अस्तित्व बचाउनका लागि २०७४ मा कुनै बेला चीर शत्रु भानिएका एमाले अध्यक्ष केपी ओलीसँग पार्टी एकताको हात बढाए । २०७४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गरी जनमतबाट शक्तिशाली पार्टी निर्माण गर्न सफल भए । केन्द्रदेखि प्रदेशसम्म अध्याधिक बहुमतको कम्युनिष्ट सरकार गठनदेखि २०७५ जेठ ३ मा एउटै कम्युनिष्ट पार्टी नेकपा बनाएका थिए । तर ओली र प्रचण्डबीचको शक्ति संघर्षका कारण तीन वर्ष नपुग्दै सर्वोच्च अदालतले नेकपा खारेज गर्यो ।
नेकपा विघटपछि पहिलेकै अवस्थामा फर्किएका प्रचण्डले नयाँ वैचारिक धारसहित पार्टीलाई पुनर्गठन गर्ने भन्दै २०७८ पुसमा पार्टीको आठौं महाधिवेशन गरे । महाधिवेशनमा प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन अपुरो र हचुवाको भरमा आएको भन्दै नेता राम कार्की र लेखनाथ न्यौपानेले फरक दस्तावेज पेश गरेका थिए ।

शहिद रामवृक्ष यादवको शालिकलाई लिएर हलभित्रै नारायणकाजी समूह र मात्रिका यादवसमूहबीच झण्डै हात हालाहालको स्थिति सिर्जना भएको थियो ।

प्रदेश २ बाट सत्यनारायण भगतले समूहको रिर्पोटिङ गर्ने क्रममा सहिद रामवृक्ष यादवको सालिक तत्कालीन शिक्षामन्त्री रहेका नेता गिरिराजमणि पोखरेलले हटाउन लगाएर अपराध गरेको आरोप लगाएका थिए । उक्त आरोपमा आपत्ति जनाउँदै अध्यक्षमण्डमा रहेका पोखरेलले बन्दसत्र नै बहिस्कार गरेका थिए ।

अध्यक्ष प्रचण्डले उठेको प्रश्नको जवाफ दिँदै छानबिन गरी कारबाही गर्ने आश्वासन दिएपछि विवाद साम्य भएको थियो । त्यही विषयलाई लिएर मात्रिका यादवसहितका मधेशका नेताहरू प्रचण्डसँग असन्तुष्ट भए । प्रचण्डले प्रस्ताव गरेको राजनीतिक दस्तावेज र अपुरो केन्द्रीय सदस्य अनुमोदन गर्दै महाधिवेशन सकिएको थियो । पुस १९ मा ललितपुरमा बसेको पहिलो केन्द्रीय समिति बैठकबाट केन्द्रीय समिति, स्थायी समिति, पोलिटब्युरो र पदाधिकारी टुंगो लगाउने भनिएको थियो । तर महासचिवमा शर्मा र वर्षमान पुनले आकांक्षा देखाएपछि प्रचण्ड अप्ठ्यारोमा परेका थिए । महासचिवलाई लिएर शर्मा र पुनबीच शक्ति संघर्ष चर्किकपछि महाधिवेशन भएको आठ महिनासम्म कुनै समितिले पनि पूर्णता पाउन सकेन ।

भदौ ४ मा केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकबाट महासविचमा प्रचण्डले देव गुरुङको नाम अनुमोदन गराए । सोही बैठकबाट प्रचण्डले केन्द्रीय समिति, स्थायी समिति, पोलिटब्युरो र पदाधिकारीलाई पूर्णता दिए । पदाधिकारीमा भागबण्डा मिलाउन उनले विधान विपरीत २१ सदस्यीय पदाधिकारी बनाए । महासचिवका आकांक्षी पुन र शर्मालाई उपमहासचिवमा थन्काइदिए । प्रचण्डको निर्णयबाट चिढिएका पुन र शर्मापक्ष पर्ख र हेरको रणनीतिमा रहेका छन् । १५, फागुनमा विवादित विषय एमसिसी संसदबाट अनुमोदन भएपछि वरिष्ठ उपाध्यक्ष श्रेष्ठले प्रचण्डबाट राष्ट्रघात भएको आरोप लगाउँदै पार्टी छोड्नेसम्मको धम्की दिएपछि प्रचण्ड थप अप्ठ्यारोमा परे । स्थानीय तहको निर्वाचनपछि आन्तरिक समस्या हल गर्ने प्रचण्डले आश्वासन दिएपछि विवाद केही मत्थर भएको थियो ।

यसरी पार्टीभित्र एकपछि अर्को गर्दै गुट र उपगुटको घेराबन्दीमा पर्दै गएका प्रचण्डले सार्वजनिक रुपमै माओवादीमा स्वार्थी समूहको गुट–उपगुट हावी भएको आरोप लगाउँदै आएका छन् ।

२०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा कांग्रेससँग मिलेर उनी चुनावमा होमिए । चुनावी परिणामले कमजोर हुँदै गएको माओवादीले ७५३ स्थानीय तहमध्ये १२२ स्थानीय तह जित्न सफल भयो । तर पार्टीभित्र मौलाउँदै गएको गुट–उपगुटको अन्तर्घातका कारण मधेस प्रदेशसहित केही जिल्लामा ५० सिट गुमेको प्रचण्डले दुःखेसो पोखे ।

चुनावी तयारीका लागि गतहप्ता प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा कर्णालीको सुर्खेत पुगेका प्रचण्डले असन्तुष्ट शर्मामाथि संकेत गर्दै आफू नेताको आग्रहमा नभइ कार्यकर्ताको आग्रहमा आएको जिकिर गरे । पार्टीभित्र मौलाउँदै गएको गुट–उपगुटप्रति लक्षित गरी नेताहरूबीच बोलचाल नै बन्द भएको सार्वजनिक अभिव्यक्ति दिए । प्रचण्डको अभिव्यक्तिले पार्टीभित्र नयाँ तरङ्ग ल्यायो ।

‘पार्टीमा विचार समूह र नेतृत्वमा कसैको विमति छैन । नेताहरूमा गुटभन्दा पनि स्वार्थ समूह हावी भयो । पदका लागि गठजोड भएका छन्’, उनले भने, ‘बोलीमा प्रचण्ड नै हाम्रो नेता हो भन्ने गरेका छन् । तर व्यवहारमा चाहिँ प्रचण्डभन्दा त म ठूलो हो भन्दै हिँडेका छन् ।’
प्रशिक्षण कार्यक्रममा पार्टीभित्र नेताहरूमा देखिएको गुट र उपगुटका कारण निराश देखिएका प्रचण्डले पार्टी नै विघटन गर्नेसम्मको धम्की दिए ।

‘नेताहरूको बीचमा बोलचाल छैन । कार्यकर्ता विभाजित छन् । आफ्नो गुटमा नलागेको छ भने त्यसलाई हराउनुलाई बहादुरी ठान्छन्’, प्रचण्डले भने, ‘यही गुटबन्दी, स्वार्थ समूह, व्यक्तिवादका कारण हामीले स्थानीय तह निर्वाचनमा ५० सिट गुमायौं ।’

प्रचण्डको निराशाजनक अभिव्यक्तिले पछिल्लो समय उनी निकै घेराबन्दीमा पर्दै गएको देखिन्छ । महासचिव नबनाएकोमा पुन र शर्मा समूहले त्यसको परिणाम प्रचण्डले भोग्ने चेतावनी दिएका छन् ।

‘महासचिवमा पुन र शर्माबीच देखिएको संघर्षका कारण देव गुरुङलाई बनाउनुपरेको बाहिर हल्ला चलाइएको छ । वास्तवमा हामीबीच कुनै मतभेद छैन । दुईमध्ये जो महासचिव बनेपनि आपत्ति छैन भनिसकेको अवस्थामा पार्टीभित्र हाम्रो बदनाम गर्ने काम भयो’, पुन पक्षीय एक नेताले भने, ‘अध्यक्षकै कारण लामो समय महासचिव चयन भएन । वास्तवमा प्रचण्डले वर्षमान पुन वा जनार्दनलाई महासचिव बनाउन चाहेका थिएनन् । बाहिर हामीलाई बदनाम गराएर देवलाई नै महासचिव बनाउने उनको दाउ थियो । यसको परिणाम आगामी चुनावमा उहाँले भोग्नुहुन्छ ।’

माओवादीभित्र आधा दर्जन गुट–उपगुट सक्रिय

युद्धकालदेखि शान्तिप्रक्रियामा आउँदासम्म दरिलो साथ दिएका शर्मा र पुन पक्षको असन्तुष्टिले प्रचण्डले आगामी दिनमा ठूलो मूल्य चुकाउनुपर्ने देखिन्छ । महाधिवेशनसम्म सुषुप्त रहेको गुटबन्दी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्म आइपुग्दा प्रचण्डले व्यवस्थापन गर्न नसके विष्फोट हुने सम्भावना देखिएको छ । माओवादीभित्र स्थायी गुट मानिएको श्रेष्ठ समूहदेखि विभिन्न गुट र उपगुट गरी ६ वटा समूह सक्रिय रहेको देखिन्छ ।

प्रचण्ड समूह

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पार्टीभित्र सर्वमान्य नेता मानिन्छन् । प्रचण्डको विकल्पमा अहिलेसम्म कोही देखिएका छैन । तर पार्टीभित्र गुटबन्दी गरेको आरोपबाट भने प्रचण्ड मुक्त छैनन् । पछिल्लो समय उनी प्रायः पार्टीभित्रको गुटबन्दीलाई लिएर निराशा व्यक्त गर्दै आएका छन् । आफूलाईलाई सहयोग नगरेका नेताहरूलाई स्वार्थी समूहको संज्ञा दिएका छन् । कहिले पार्टी नै विघटन गर्नेसम्मको धम्की दिएका छन् । तर उनी अफै सीमित घेराबाट माथि उठ्न नसकेको माओवादी नेताहरूले नै आरोप लगाउने गरेका छन् ।

नेता शर्माले त उमहमासचिव पद अस्वीकार गर्दै नीति र नेतृत्व ठीक ढंगले अगाडि नबढे पार्टी चल्न नसक्ने चेतावनी दिए । बुधबार राष्ट्रियसभा गृहमा अनेरास्ववियु क्रान्तिकारीको कार्यक्रमा उपस्थित भएका शर्माले आफू प्रचण्डको आलोचक भएको र आलोचना जारी राख्ने बताए । प्रचण्डमाथि भाइ–भतिजा, ज्वाईं–छोरी, बुहारी र वरिपरिका चाकडि समूहको प्रभावमा परेको आरोप लाग्ने गरेको छ । प्रचण्ड माओवादीको मूल नेतृत्व भएपनि नेताहरूलाई भिडाएर आफ्नो स्वार्थ पूरा गर्ने गरेको आरोपबाट मुक्त हुन सकेका छैनन् ।

‘नीति र नेतृत्वबारे हामीले प्रश्न उठाएका छैनौं । अहिलेको हाम्रो मुख्य नेता प्रचण्ड नै हुन् । तर उहाँ सिंगो पार्टीको नेता भन्दापनि सीमित समूहको नेतामा रहनुभयो’, एक नेताले भने, ‘नीति, सिद्धान्त र कार्यदिशाबारे पार्टीभित्र छलफल र बहस हुँदैन । सीमित घेराबाट माथि नउठ्दा पार्टीभित्र समस्या आएको छ ।’

नारायणकाजी गुट

२०६४ को पहिलो संविधानसभा निर्वाचनमा माओवादी सबैभन्दा ठूलो दलमा उदायो । २०६५ सालमा माओवादी र अर्धभूमिगत एकताकेन्द्र मशाल तथा उसको वैधानिक मोर्चा संयुक्त जनमोर्चाबीच पार्टी एकता भएको थियो । त्यतिबेला माओवादीभित्र प्रचण्ड, वैद्य र बाबुरामबीच दुइ लाइन र तीन लाइन संघर्ष हुँदा श्रेष्ठले प्रचण्डलाई साथ दिएका थिए । २०६८ साउनमा श्रेष्ठ वैद्य, बाबुराम कित्तामा लागेर प्रचण्डविरुद्ध उभिएका थिए ।

ललितपुरको धोबीघाट भएको भेलाले बाबुरामलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेको थियो । प्रचण्ड पहिलोपटक केन्द्रीय समितिमा अल्पमतमा परेका थिए । धोबीघाटको प्रस्तावलाई अनुमोदन गर्न प्रचण्ड बाध्य भएका थिए । त्यहीबाट श्रेष्ठ समूहले स्थायी गुट चलाउँदै आएका छन् । पार्टीको हरेक निर्णयमा बखेडा झिकेर बार्गेनिङ गर्ने गरेको उनीमाथि आरोप लाग्दै आएको छ । एमसिसी गतवर्ष संसदबाट अनुमोदन भएपछि राष्ट्रियताको मुद्दासँग जोडेर माओवादी छोड्नेसम्मको धम्की प्रचण्डलाई दिएका थिए । प्रचण्डले पनि उनलाई पार्टी छोडेर गए केही फरक नपर्ने बताएका थिए । तर अहिले एकताकेन्द्रबाट आएका सबै नेताले उनलाई साथ दिएका छैनन् ।
जर्नादन गुट
अर्थमन्त्रीसमेत शर्मा पछिल्लो समय पार्टीभित्र शक्तिशाली बन्दै गएका छन् । संगठन विभाग प्रमुखसमेत रहेर शर्माले पार्टीभित्र शक्ति आर्जन गरे । यही शक्तिक आधारमा अर्थसम्बन्धी ज्ञान नभए पनि अर्थमन्त्री बनेको बनेको भन्दै आलोचना खेप्दै आएका छन् । प्रचण्डलाई दबाबमा राखेर संगठन विभाग प्रमुख हत्याउन उनी सफल भएको बताइन्छ ।

२०७३ मा प्रचण्ड नेतृत्वमा उर्जामन्त्री हुँदा १६ घण्टा लामो लोडसेडिङ अन्त्य गर्न उनले खेलेको भूमिकाले पार्टीभित्र र बाहिर उनको प्रभाव बढेको हो । पार्टीभित्र हरेक निर्णयमा शर्मा हाबी हुने गरेको स्रोतको दाबी छ । माओवादी उद्गम स्थल रुकुममा उनको दबदबा कायम छ । स्रोतका अनुसार शर्माले प्रचण्ड सरहको नेता आफैं भएको भन्दै आफू निकटसँग बताउने गरेका छन् ।

प्रचण्डले शर्माको नामै नलिइकन नेतृत्वलाई सहयोग गरेको जस्तो गरी प्रचण्ड भनेकै मै हो जस्तो गरी गुट चलाइरहेका सार्वजनिक रुपमै अभिव्यक्ति दिइसकेका छन् । पार्टीको हरेक निर्णयमा रुकुम हावी हुन थालेपछि झस्केका प्रचण्डले पार्टीभित्र कमजोर रहेका गुरुङलाई नाम मात्रको महासचिव बनाएको हुन सक्ने माओवादीका एक नेताले बताएका छन् । गत वर्ष संगठनात्मक जिम्मेवारी, केन्द्रदेखि स्थानीय तहसम्म शर्मा नै हावी हुने गरेका छन् ।

वर्षमान गुट

माओवादी पार्टी रुकुमले चलाएको हो कि रोल्पाले चलाएको हो भन्ने विषयमा पार्टीभित्र चर्चा चल्ने गरेको छ । रुकुमका शर्माले जस्तै रोल्पाका नेता वर्षमान पुनको पनि माओवादीभित्र शक्तिशाली गुट रहेको छ । तर उनी पछिल्लो समय बिरामी भएकाले पार्टीलाई समय दिन सकेका छन् । जन्डिससम्बन्धी गम्भीर रोग लागेकाले उपचारका लागि उनी लामो समय चीनमा बसेका थिए ।

आठौं महाधिवेशनमा पनि उनी उपस्थिति हुन सकेनन् । पूर्वअर्थमन्त्रीसमेत रहेका उनी महासचिवका दाबेदार थिए । प्रचण्डको हरेक निर्णयमा उनले साथ दिँदै आएका थिए । पार्टीभित्र पुन कुटनीतिक नेता मानिन्छन् । पार्टीको हरेक निर्णयमा रोल्पा हाबी भएको भन्दै रुकुम र रोल्पाबीच शक्ति संघर्ष नै चल्ने गरेको छ । संगठन विभाग प्रमुख शर्माले पाएपछि पछिल्लो समय उनी कमजोर देखिएका छन् । प्रचण्डले शर्मा र पुनको सहमतिबिना पार्टीमा कुनै निर्णय गर्न नसक्ने एक नेताले बताए ।

‘माओवादी पार्टी कहिले रुकुम त कहिले रोल्पाले चलाएका छन् । एक समय पुनको सहमति नलिइ अध्यक्षले कामै गर्न सक्ने थिएनन् । अहिले संगठनमा शर्मा हाबी भएका छन् । यी दुई नेताबीच अघोषित प्रतिस्पर्धा छ । यी दुई नेताको सहमतिबिना सांगठनिक जिम्मेवारी हेरफेर नै हुँदैन’, ती नेताले भने ।

महरा गुट

एकसमय पार्टीभित्र महरा निकै शक्तिशाली थिए । प्रचण्डले महरासँग सरसल्लाह नगरी कुनै निर्णय लिन सक्ने थिएनन् । प्रचण्डले पनि उनलाई निकै भरोसा गरेका थिए । शान्तिवार्ता देखि अन्तरपार्टी छलफल र सहमतिमा महरा निकै सक्रिय थिए । माओवादीबाट पटक–पटक राजकीय पदमा पुग्नेमा महरा नै अगाडि आउँछन् । तर सभामुख रहेकै बेला संसद सचिवालयकी एक कर्मचारीसँग यौनकाण्डमा मुछिएपछि २०७६ असोजमा पदबाट राजीनामा दिएका थिए । माओवादीभित्र प्रचण्डपछिका उत्तराधिकारीका रुपमा सबैले हेरेका थिए । यौन आरोपमा मुछिएपनि उनको गुट निकै कमजोर भएको छ ।

देव गुरुङ गुट

२०७४ मा बादल समूहसँगै माओवादी प्रवेश गरेका गुरुङ अलग्गै गुट रहेको छ । बादल नेकपा विघटनसँगै एमालेमै रहेपछि गुरुङको नेतृत्वमा गुट सक्रिय रहेपनि शक्तिशाली छैन । यही समूहबाट पम्फा भुसाल उर्जामन्त्री बन्न सफल भएकी छिन् । गुरुङ महासचिव बन्न सफल भए । बादललाई खुशी पार्न प्रचण्डले ओली नेतृत्वको सरकारमा शक्तिशाली गृहमन्त्री बनाएका थिए ।

मात्रिका गुट

कुनैबेला प्रचण्ड नेतृत्वबाट माओवादी आन्दोलन र पार्टी अगाडि बढ्न नसक्ने भन्दै पार्टी छोडेका मात्रिका यादव २०७४ को निर्वाचन अघि पुनः प्रचण्डलाई नै नेता मानेर पार्टीमा फर्किए । शान्तिप्रक्रियामा आएपछि मधेश प्रदेशमा उनको राम्रो प्रभाव रहेको थियो । मधेशको जनमत देखाएर उनी लाभको पदमा पनि पुगे । तर मधेशी क्षेत्रीय संकीर्ण मानसिकताबाट माथि उठ्न नसकेको उनीमाथि आरोप लाग्दै आएको छ ।

आठौं महाधिवेशन सहिद रामवृक्ष यादवको सालिक हटाएको विषयमा नेता गिरिराजमणि पोखरेलसँग उनी क्रुद्ध छन् । श्रेष्ठ समूह र मात्रिका समूहका द्वन्द्वका कारण स्थानीय तह निर्वाचनमा पार्टीले नमिठो पराजय भोग्यो । मधेशको विषयमा प्रचण्डले उचित कदम नचालेको उनले आरोप लगाएका छ । यही विषयलाई लिएर प्रचण्डसँग उनले बोचचाल नै बन्द गरेका छन् । प्रभु साह पार्टीबाट अलग भएपछि मधेशमा उनले आफ्नै गुट चलाएर बसेका छन् ।

यीबाहेक माओवादीभित्र शक्ति बस्नेत, हरिबोल गजुरेल, देवन्द्र पौडेल, गणेश साह, राम कार्कीलगायतका आ–आफ्नै स–साना उपगुटहरू सक्रिय छन् । यी गुटगत मानसिकता, व्यक्तिगत स्वार्थ, अस्तव्यस्त संगठन, नीति र विचारमा विचलन आएको कारण शिथिल भएको पार्टीलाई प्रचण्डले व्यवस्थापन गर्न नसक्दा माओवादीको अस्तित्व नै संकटमा पर्दै गएको देखिन्छ ।