चामल र धानमा लगाएको करले नेपाली उद्योग मारमा
वीरगञ्ज । भारत सरकारले धान र चामलको निर्यातमा २० प्रतिशत भन्सार शुल्क लगाएकोमा बारा र पर्सा औद्योगिक करिडोरका चामल तथा धानसम्बन्धी कारोबार गर्ने व्यवसायीले त्यसको प्रत्यक्ष मार नेपाली बजारमा पर्ने बताएका छन् ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै भारतले हाल जारी गरेको पत्रअनुसार शून्य भन्सार दरको चामल र धान निर्यातमा २० प्रतिशत भन्सार दर कायम गरेको कारण उद्योग, उपभोक्ता र राष्ट्रको अर्थतन्त्रमा असर पर्ने बताएका हुन् ।
नेपाल चामल, तेल, दाल उद्योग सङ्घका केन्द्रीय अध्यक्ष एवं वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्षसमेत रहनुभएका डा सुबोध गुप्ताले भारतले पछिल्लो समय लिइरहेको निर्णय नेपालका उद्योग व्यवसाय, उपभोक्ता र नेपाली बजारका लागि न्यायोचित नभएको बताए । अर्का चामल उद्योगी सुरेश रुगङ्टाले चामल र धानमा लगाइएको भन्सार शुल्कले उद्योगीभन्दा प्रत्यक्षरुपमा उपभोक्ता बढी मारमा पर्न सक्ने बताए । अध्यक्ष गुप्ताले चामल मिल बन्द हुने अवस्थामा पुग्न सक्नेतर्फ अवगत गराउँदै छिटोभन्दा छिटो यसको समाधानका लागि नेपाल सरकारले पहल गर्न आवश्यक रहेको बताए ।
नेपालले भारतबाट वार्षिक रु सात–आठ अर्ब बढीको चामल आयात गर्दै आएको छ । गत वर्ष मात्रै भारतबाट नेपालमा साढे पाँच लाख मेट्रिकटन धान, पाँच लाख २० हजार मेट्रिकटन चामल र ५० हजार मेट्रिक टन कनिका आयात गरिएको तथ्याङ्क छ ।
देशभरि करिब दुई हजार पाँच सय चामल उद्योग छन् जसमध्ये आधा जति बन्द अवस्थामा छन् । रहेका उद्योगले विभिन्न कारणले शतप्रतिशत क्षमतामा चल्न सकेका छैनन् । नेपालकामा उद्योगले ४० प्रतिशत चामल उत्पादन गर्दै आएका छन् । बाँकी चामलका लागि भारतमाथि निर्भर हुनुपर्ने अवस्था रहेको उद्योगीको भनाइ छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया