अवस्था ठिक नभएका २२ ओटा टाटा सुमो जिप ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडाैं । काठमाडौंको बल्खुमा सोमबार गरिएको विशेष चेकिङका क्रममा अवस्था ठिक नभएका २२ ओटा टाटा सुमो जिपलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोमबार तालिम प्राप्त प्राविधिक सहितको टोलिद्धारा गरिएको चेकिङको क्रममा ह्याण्ड ब्रेक नभएका २२ ओटा टाटा सुमो जीपलाई नियन्त्रणमा लिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिएका छन् ।
नियन्त्रणमा लिएकामध्ये १४ ओटा टाटासुमोलाई आवश्यक कारवाहीको लागी यातायात व्यवस्था विभाग मिनभवन पठाईएको र बाँकी ८ ओटा ट्राफिक प्रहरी प्रभाग किर्तिपुरमा राखिएको छ ।
अवस्था ठिक नभएको सवारी साधन चलाउदा सवारी दुर्घटना बढ्न सक्ने र यसले यात्रुको जीवन पनि जोखिममा पर्न सक्ने भएकाले संभावित जोखिम कम गर्न सोमबार बिहानै सवारी साधनको अवस्था चेकजाँच गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीको कमाण्डमा ट्राफिक प्रहरीको टोली बल्खु क्षेत्रमा खटिएको थियो । अवस्था ठिक नभएका सवारी साधनलाई कार्वाही गर्दै आएको ट्राफिक प्रहरीले गत भदौ १५ गते देखि अभियानकैमा रुपमा कार्वाहीलाई थप तिब्रता दिदै आएको छ ।
प्रतिक्रिया