NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

चिनियाँ पाहुनाको तालिका : बिहान भक्तपुर घुमफिर, अपराह्न राष्ट्रपतिसँग भेटवार्ता

काठमाडौं । नेपालको तीनदिने औपचारिक भ्रमणमा आएका चिनियाँ राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सु आज पनि दिनभर व्यस्त रहने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार, भक्तपुर दरबार क्षेत्रको अवलोकन, राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटघाटलगायत कार्यक्रम आजका लागि तय छ ।

मंगलबार दिनभर भेटघाटमा व्यस्त नेता ली नेतृत्वको प्रतिनिधिमण्डल अहिले भक्तपुरतर्फ लागेको छ । उनीहरूले त्यहाँ भूकम्पपछिको भक्तपुर दरबार क्षेत्रको पुनःनिर्माण परियोजनाहरूको अवलोकन र निरीक्षण गर्ने कार्यक्रम छ ।

लीले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्दैछन् । त्यसका लागि बुधबार अपराह्न ४ बजेको समय तोकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

लिले यसअघि नै प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, सभामुख अग्निप्रसाद सापकोटालगायत नेतासँग भेटवार्ता गरिसकेका छन् ।

भ्रमणको पहिलो दिन उनले सभामुख सापकोटासँग संसद् भवन नयाँ बानेश्वरमा संसदीय प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरी सहयोगसम्बन्धी छ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा द्विपक्षीय व्यापार, लगानी, कनेक्टिभिटी, चीनमा अध्ययनरत नेपाली विद्यार्थीको अध्ययन निरन्तरताका लागि फिर्ता, यात्रु उडान सञ्चालन गर्ने, सीमा बन्दरगाह खोल्नेलगायतका आपसी हितका विविध विषयमा छलफल भएका छन् ।

मङ्गलबार नै अध्यक्ष ली र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच शिष्टाचार भेटवार्ता भएको थियो । सो अवसरमा नेपाल–चीन सम्बन्धका विभिन्न विषयमा अन्तरसंसदीय आदान–प्रदान र सहकार्यका विषयमा छलफल भएको थियो । मङ्गलबार नै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अध्यक्ष लीले संसद् भवन नयाँ बानेश्वरमा शिष्टाचार भेटवार्ता गरेका थिए । भेटवार्तामा द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको जनाइएको छ ।

मङ्गलबार नै दिउँसो परराष्ट्रमन्त्री डा. नारायण खड्काले अध्यक्ष लीसँग शिष्टाचार भेटवार्ता गरेका थिए । भेटवार्तामा दुई पक्षबीच नेपाल–चीन सम्बन्धका विभिन्न पक्षमा विचार आदान–प्रदान भएको थियो ।

अध्यक्ष ली नेतृत्वमा छ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल छन् ।

ली भोलि भदौ ३० गते बिहान भ्रमण समापन गरी विशेष विमानबाटै स्वदेश फर्कंने कार्यक्रम छ ।