NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

पुटिनको घोषणापछि रुसमा प्रदर्शन, सयौं पक्राउ

काठमाडौं (एजेन्सी) । युक्रेनविरुद्ध लड्न हजारौं जगेडा सैनिक बोलाउने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको घोषणाविरुद्ध रुसमा प्रदर्शन चर्किएको छ । प्रदर्शनमा उत्रिएका सयौंलाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ ।

पुटिनले युक्रेन युद्धका लागि लाखौं रिजर्भ सैनिकलाई ड्युटीमा बोलाइने बताएका थिए । साथै हतियारमा लगानी बढाउने पनि घोषणा गरेका थिए ।

पुटिनले आंशिक रूपमा सेना परिचालनको आदेश पनि दिएका छन्। उक्त आदेशसँगै हाल जगेडामा राखिएका करिब तीन लाख सैनिकहरूलाई युक्रेनी युद्धभूमिमा रुसी सेनाले बेहोरिरहेको प्रत्याक्रमणको प्रतिरक्षामा प्रयोग गरिनेछ।

जगेडा सेनामा ती मानिसहरू समेटिएका छन् जसले अनिवार्य रूपमा रुसी सैन्य सेवा गर्नुपर्छ।

रुसी कब्जामा रहेका युक्रेनी क्षेत्रहरूमा रुसमा सामेल हुनेबारे जनमतसंग्रह गर्ने सार्वजनिक गरिएको भोलिपल्ट उक्त घोषणा गरिएको हो।

पुटिनको यस्तो घोषणासँगै मस्को र सेन्ट पिटर्सबर्गलगायत स्थानमा प्रदर्शन भएका छन् । रुसी मानवअधिकार संगठन ओबिडी इन्फोका अनुसार, पक्राउ पर्नेको संख्या एक हजारभन्दा बढी छ। यसमा सबैभन्दा धेरै मस्को र सेन्ट पिटर्सबर्गका छन् । प्रहरीले साइबेरियन सहर इर्कुत्स्क र याकातेरिबर्गबाट पनि दर्जनौं मानिसलाई पक्राउ गरेको छ ।

पुटिनको घोषणापछि रुसबाट बाहिरिने उडानको बुकिङमा उल्लेख्य वृद्धि भएको बताइएको छ ।

मस्कोको अभियोजकको कार्यालयले बुधबार इन्टरनेटमा अनाधिकृत विरोध प्रदर्शनको लागि आह्वान गरेमा वा सहभागी भएमा १५ वर्षसम्म जेल सजाय हुन सक्ने चेतावनी दिएको छ ।

पुटिनले गत बुधबार आंशिक सैन्य परिचालनको घोषणा गरे, जसको अर्थ तीन लाख आरक्षित सेना पठाउने भन्ने हो।

पुटिनले आफ्नो टेलिभिजन सम्बोधनमा रुसको क्षेत्रीय अखण्डतालाई कायम राख्न आफूले उपलब्ध सबै माध्यम प्रयोग गर्ने बताए।

पश्चिमी विश्वमा पुटिनको यो भनाइलाई आणविक हतियारको प्रयोग भनेर व्याख्या गरिएको छ । युक्रेन र उनका सहयोगीहरूले पुटिनको भनाइको निन्दा गरेका छन्।