विश्व पर्यटन दिवस : भक्तपुर प्रवेश गर्ने पर्यटकलाई स्वागत

काठमाडौं । विश्व पर्यटन दिवसको अवसरमा आज भक्तपुर नगरपालिकाको विश्व सम्पदा सूचीमा रहेको पर्यटकीय क्षेत्र भक्तपुर दरबार स्क्वायर प्रवेश गर्ने पहिलो विदेशी पर्यटकको समूहलाई स्वागत एवं सम्मान गरिएको छ ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर भ्रमणमा आएका विदेशी पर्यटकको पहिलो समूहलाई ४३ औँ विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर दरबार क्षेत्रको खौमा ध्वाकामा खादा, भादगाउँले टोपी, परम्परागत शैलीमा पुष्पगुच्छा दिँदै स्वागत एवं सम्मान गरेका हुन् ।
कार्यक्रममा भक्तपुर प्रवेश गर्ने पहिलो विदेशी पर्यटक जर्मनीका एन्ड्री, अष्ट्रियाका रेवेका, बुल्गेरियाका मिमी र जर्जलाई लाखे नाचका साथ भक्तपुरमा स्वागत गरिएको थियो । भक्तपुर नगरपालिका, भक्तपुर पर्यटन विकास समिति, भक्तपुर टुर गाइड व्यवस्थापन समिति र पर्यटक प्रहरीको संयुक्त आयोजनामा सो कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रमुख प्रजापतिले भक्तपुरको प्रकाशन, काठको मयुरको झ्याल प्रदान गरेका थिए । नगर प्रमुख प्रजापतिले पर्यटकबाट उठेको शुल्कबाटै भक्तपुर नगरपालिकाले सम्पदाको संरक्षण गर्नुका साथै शिक्षा, स्वास्थ्य, सरसफाइ जस्ता जनताका आधारभूत आवश्यकता पूरा गर्दै आएको बताए ।
नगरपालिकाले पर्यटकको लागि आवश्यक स्थानीय पथप्रदर्शकको तालिम, चिनियाँ, जापानीलगायत विदेशी भाषाको प्रशिक्षण दिनुका साथै विभिन्न ठाउँमा पर्यटक शौचालय र पर्यटक सूचना केन्द्रको व्यवस्था गर्दै आएको नगरप्रमुख प्रजापतिले बताए ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया