NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

बैंक तथा वित्तीय संस्थामा ब्याजदर बढ्दा व्यवसायी मारमा

काठमाडाैं । बैंक तथा वित्तीय संस्थामा ब्याजदर बढाउँदा व्यवसायी मारमा परेका छन् । नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौँले मंगलबार  आयोजना गरेको ‘वित्तीय समस्या र समाधान’ विषयक अन्तक्रियामा व्यवसायीले ब्याजदर बढ्दा उद्योगी व्यवसायी गम्भीर समस्यामा परेको बताएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठले बैंकले ब्याजदरबारे सोच्नुपर्ने बेला आएको बताए । ‘बैंकले नाफा खानका लागि ब्याजदर बढाउँदा व्यवसायी मारमा परेका छन्,’ उनले भने । उनले ३० वर्षमा कहिल्यै भोग्नु नपरेको वित्तीय समस्या अहिले आएर भोग्नुपरेको बताए ।

नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौँका अध्यक्ष दिनेश श्रेष्ठले व्याजदर सात प्रतिशतबाट बढाएर १४ प्रतिशत बनाउँदा व्यवसायी अफ्ठ्यारोमा परेको बताए । ‘बैंकलाई ब्याजदर बढाउन राष्ट्र बैंकले स्वीकृत दियो, यसबाट व्यवसायी मारमा परे,’ उनले भने । ब्याजदरमा बैंकले ठगी गरेको उनको आरोप छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ काठमाडौँका उपाध्यक्ष हेमराज ढकालले उत्पादन बढाएर आयत प्रतिस्थापन गर्न सकेमात्र देशको अर्थतन्त्र संकटमा केही हदसम्म कमी आउने बताए । राष्ट्र बैंक र अर्थ मन्त्रालय आआफ्नो ढङ्गले सञ्चालन हुँदा समस्या परेको उनको भनाइ थियो । बैंकर्स सङ्घका अध्यक्ष अनिल उपाध्यायले महङ्गी र व्यवसायीलाई असर नपर्ने गरी ब्याजदर बढाइएको बताए । ‘बैंकिङ क्षेत्र जोगाउन ब्याजदर बढाएका हौँ, बैंक क्षेत्र डुब्यो भने मुलुकको अर्थ व्यवस्थामा गम्भीर सङ्कट पर्छ,’ उनले भने ।

नेपाल राष्ट्र बैंकका निर्देशक ईश्वरीप्रसाद भट्टराईले नेपालमात्र नभई विश्वकै अर्थतन्त्र समस्यामा परेको बताए । ‘अर्थतन्त्रको समस्या क्षणिक हो, यो विस्तारै सुधार हुँदै जान्छ,’ उनले भने । सम्झौताभन्दा बढी ब्याजदर लिने बैंकलाई राष्ट्र बैंकले ‘एक्सन’ लिने उनको भनाइ थियो ।