NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३१ गते

चुनाव जित्ने साथ पाउँदा पनि जसले कांग्रेस छोड्न अस्वीकार गरे

काठमाडौं । परम्परागत राजनीतिबाट माथि उठ्दै विषयविज्ञलाई राजनीतिको उच्च पदमा पुर्याउनुपर्छ भन्ने बहस नेपाली कांग्रेसभित्र शुरु भयो । पार्टीले चलाएको बहशको आधारमा पनि यो चुनावमा त्यो पार्टीबाट त्यस्ता धेरै अनुहारले टिकट पाउनसक्ने सजिलो अनुमान थियो ।

दुर्भाग्य, कांग्रेसमा यसपटक यिनै विज्ञलाई टिकटबाट विमुख पारियो । विकल्पमा भ्रष्टाचार र विभिन्न आरोपमा मुछिएकालाई एकपछि अर्को गर्दै टिकट वितरण भयो । विभिन्न विधाका विषयविज्ञ भने यसपटक टिकटबाट विमुख बन्नुपर्‍यो ।

यसरी टिकट नपाउनेमध्येमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सिइओ एवं कांग्रेस केन्द्रीय सदस्य गोविन्दराज गोविन्दराज पोखरेल पनि एक हुन् ।
प्युठानबाट निर्वाचन उठ्ने तयारीमा गरेका पोखरेललाई कांग्रेसले टिकट नै दिएन । पोखरेल मात्रै होईन, विश्वले विस्वास गरेको अर्थशास्त्री स्वर्णिम वाग्लेलाई समेत देउवा नेतृत्वको कांग्रेसले टिकट दिन उपयुक्त ठानेन । यस्तै नेता मिनेन्द्र रिजाललाई समेत टिकटबाट बञ्चित गरियो ।

कांग्रेसले टिकट नदिएको यी अनुहारलाई अन्तिम समयमा स्वतन्त्रमा उम्मेदवारी दिए एमालेले विना शर्त सहयोग गर्ने आश्वासन दिएको थियो ।

एमालेले पोखरेललाई दाङ क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दिए त्यहाँ आफ्नो उम्मेदवार नउठाउने भन्दै अन्तिम समयसम्म कुरेको थियो । यस्तै स्वर्णिम वाग्लेलाई काठमाडौँ ७, ९ वा अन्य कुनै एक क्षेत्र रोजेर स्वतन्त्र उम्मेदवारी दिए विना शर्त सहयोग गर्ने र त्यहाँ एमालेको उम्मेदवार नउठाउने प्रस्ताव गरेको थियो । उता कांग्रेस नेता मिनेन्द्र रिजाललाई मोरङको कुनै एक क्षेत्र रोजेर उम्मेदवारी दिन भनेको थियो ।

एमाले महासचिव शंखर पोखरेलले यी अनुहारहरु जुन सुकै दलसँग सम्वन्धित भएपनि संसदभित्र चाहिने अनुहार हो भन्ने ठानेर विना शर्त सहयोग गर्न चाहेको नेपालवाचसँग बताए । उनले भने, ‘उहाँहरुप्रति हाम्रो सद्भाव हो, तर उहाँहरुले सद्भावका लागि धन्यवाद मात्र दिनुभयो ।’

कांग्रेस केन्द्रीय सदस्य समेत रहेका नेता पोखरेलले चुनाव लड्ने सन्दर्भमा विभिन्न प्रस्ताव आएको बताए ।

‘विभिन्न ठाउँबाट प्रस्ताव आएका थिए । प्रस्ताव स्वभाविक पनि थियो । तर पार्टीभन्दा बाहिर गएर उम्मेदवार बन्न उपयुक्त ठानिएन’ पोखरेलले भने, ‘आफु लागेको पार्टीले टिकट नदिए पनि अर्को पार्टीले स्वतन्त्र उठ, विना शर्त सहयोग गछौँ भनेर प्रस्ताव गर्यो तर सद्भावको लागि धन्यवादसहित प्रस्ताव अस्वीकार गरें ।’

एमालेले आर्थिक क्षेत्रमा योग्य र विज्ञ भएर काम गरिसकेकालाई सहयोग गर्न दिनभर केहि सिट होल्ड गरेर राखेको थियो । एमालेको विनाशर्तको प्रस्ताव पोखरेल, वाग्ले, रिजाल लगायतले अस्वीकार गरेका हुन् ।

कसरी रोकिए पोखरेल ?

पोखरेल अघिल्लोपटक नै प्युठानबाट चुनाव जित्ने अवस्थामा थिए । एमाले, माओवादी र जनमोर्चा मिलेपछि थोरै मतअन्तरले चुनाव हारे ।

समानुपातिकमा बसेर कुनै लाभको पद लिनेभन्दा जनताबाट प्रत्यक्ष अनुमोदित भएरै चुनाव जित्ने उनको रुची थियो । त्यसैले यसपटक उनले प्युठानबाटै चुनाव लड्ने तयारी लामो समयदेखि गरेका थिए । निर्वाचन लड्ने भएरै उनले जिल्ला बसाईलाई बाक्लो पनि बनाएका थिए । यसपटक सत्ता गठबन्धनको तर्फबाट प्युठान राष्ट्रिय जनमोर्चाको भागमा पर्यो । जसका कारण उनले टिकट पाएनन् ।

कांग्रेसमा उनी डा. शेखर कोइराला पक्षधरका हुन् । संस्थापनभन्दा अलग गुटको हुँदा पनि उनी टिकटबाट बञ्चित हुन पुगे । किनकी संस्थापन देउवा निकटकै भएकोले विश्व पौडेलले चितवन १ बाट टिकट पाए । उम्मेदवार बन्न उनले राष्ट्रिय योजना आयोगको उपाध्यक्षबाट राजीनामा दिए ।

अर्का अर्थविद् एवं राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष स्वर्णिम वाग्ले पनि चितवनबाट सिफारिस भएका थिए । विकल्पमा गोरखा वा काठमाडौं ५ बाट पनि चुनाव लड्न तयार थिए । तर कांग्रेसले टिकट दिएन । वाग्ले पनि डा. शेखर निकटकै हुन् ।

निकटकाले टिकट पाउँदा पोखरेल र वाग्ले यसपटक टिकटबाट विमुख भएका छन् । कांग्रेसले पहिलोपटक विषयविज्ञलाई टिकट दिएर सकारात्मक सन्देश प्रवाह गर्ने आशा धेरैले व्यक्त गरेका थिए । तर निकटका, विवादित, भ्रष्टाचार आरोपी, उद्योगी र व्यापारी धेरैले टिकट पाएका छन् । अफताव आलमपुत्र, विजय गच्छदार र विभिन्न उद्योगी, व्यापारीले टिकट पाउँदै गर्दा विज्ञलाई नदिएको भन्दै आलोचना भइरहेको छ ।

डा. स्वर्णिमलाई टिकट दिन गगन थापाले सर्लाही ४ जान खोजेका थिए । गगन सर्लाही जाँदा वाग्लेलाई आफ्नो ठाउँमा उठाउने मनसाय गगनको थियो । तर देउवाले थापाले छाड्ने भए नैनसिंह महरलाई टिकट दिन खोजे । वाग्लेले ४ बाट पनि टिकट नपाउने स्थितिमा गगनले अन्तत: काठमाडौं ४ छोड्न नमानेका हुन् ।