NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

चुनाव हुन ३९ दिन बाँकी हुँदै कसरी निर्वाचित भए दीपक मनाङे ?

काठमाडौं । दीपक मनाङे गण्डकी प्रदेशकाे मनाङबाट प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । उनीविरुद्ध कांग्रेस र एमाले कुनै पनि दलले उम्मेदवार नउठाएपछि उनी मनाङको ख प्रदेशसभाबाट निर्विरोध निर्वाचित भएका हुन् ।

२०७४ सालमा उनी स्वतन्त्रबाट सांसद भएका थिए । उनलाई त्यतिखेर एमालेले समर्थन गरेको थियो ।

उनीबाहेक दोर्जे लामाले पनि यसपटक प्रदेशसभामा उम्मेदवारी दिएका थिए । तर लामाले बुधबार उम्मेदवारी फिर्ता लिएपछि चुनाव आउँन ३९ दिन बाँकी हुँदै मनाङे निर्विरोध निर्वाचित भएका हुन् ।

मनाङे सुरुमा सत्ता गठबन्धनबाट चुनाव लड्ने तयारीमा थिए । तर उनी गठबन्धनबाट तयार नभई स्वतन्त्र रुपमा खडा भए । एमालेले पनि उनीविरुद्ध उम्मेदवारी दिएन । अर्का स्वतन्त्रले उम्मेदवारी फिर्ता लिएपछि अब मनाङेलाई चुनाव नहुँदै निर्विरोध निर्वाचित भएको घोषणा मुख्य निर्वाचन अधिकृतको कार्यालयले गर्नेछ ।

आलोपालो मन्त्री

अघिल्लोपटक स्वतन्त्रबाट सांसद जिते पनि उनलाई मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले खेलकुद मन्त्रीको जिम्मा दिएका थिए । तर नेकपा हुँदै एमालेमासमेत विभाजन आएपछि मुख्यमन्त्री अल्पमतमा पर्न पुगे ।

विकल्पमा कांग्रेसका कृष्णचन्द्र पोखरेलको नेतृत्वमा सरकार गठन गर्न फेरि मनाङे नै निर्णायक बन्न पुगेका थिए । उनकै एक भोटले पोखरेल नेतृत्वमा प्रदेश सरकार बनेको थियो । यही निर्णायक मतका लागि उनलाई युवा तथा खेलकुदमन्त्री बनाइएको थियो । जुन पदमा उनी आजसम्म पनि क्रियाशील छन् ।

थोरै मतदाता रहेको हिमालपारीकाे जिल्ला मनाङमा उम्मेदवार पनि थोरै हुँदै आएका छन् । निर्वाचन हुँदा पनि जुन उम्मेदवारले भएका मतदाता बोकेर जिल्ला पुर्याउँछन् उसैले निर्वाचन जित्ने गरेका छन् ।