NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ साउन ८ गते

मीठो फलफूल बेच्ने धनमायाको नमीठो कथा

ढोरपाटन । पर्वत ग्याँदीकी धनमाया नेपाली आजभोलि बागलुङ बजारको चोकचोक र गल्लीगल्लीमा भेटिन्छिन्। काँधमा ढाेको र हातमा पोकापुन्तुराका साथमा भेटिने उनले फलफूल बेच्छिन्। उनको कथा भने नमीठो छ। उनले चोकचोक र गल्लीगल्लीमा बसेर फलफूल बेच्न थालेको १६ वर्ष भयो।

यसरी फलफूल बेच्नु उनका रहर होइन। पोखराबाट सुरू भएको फलफूल बेच्ने यात्रा म्याग्दीको बेनी हुँदै बागलुङ बजार आइपुगेको छ।
एक दश पोखराका विभिन्न ठाउँमा फलफूल बेच्ने र जुत्ता सिउने काम गरेकी उनी बागलुङसम्म आएकी छन्। पोखरा छाडेर म्याग्दीको सदरमुकाम बेनी आएकी उनले करिब पाँच वर्ष फलफूल तथा तरकारी बेचिन्।

बेनीमा राम्रो कमाइ नभएपछि चार महिनादेखि बागलुङ बजारमा फलफूल बेचिराखेकी छन्। यहाँबाट पनि उनलाई काम गर्ने वातावरण सहज छैन। ‘पढेरलेखेको छैन, मैले काम पाउने भनेको होटलमा जुठो भाँडा माझ्ने हो, त्यहाँ पनि अरूको गाली खानुपर्छ, त्यही भएर मैले फलफूल बेच्न थालेको हुँ, मैले यसरी बाटोबाटोमा फलफूल बेच्न थालेको १६ वर्ष भयो’,उनले भनिन्, ‘ज्यान पाल्न पर्‍यो, काम नगरी पाल्न सकिन्नँ, जसोतसो चलेकै छ, दुःख भन्ने कुरा त्यस्तै हो, चोर्न ढाँट्न जानेको छैन, यस्तो काम गर्न नपरोस्, कामजस्तो भए पनि गर्छु, सानो–ठूलो मानिँदैन।’

चालिस वर्षीया धनमायाले १० वर्ष पोखराका सडक र गल्लीमा बसेर फलफूल बेच्ने र जुत्ता सिलाउने काम गरेको स्मरण गर्दै महानगरले सडकबाट हटाएपछि बेनी पुगेको बताइन्। उनले पोखरामा राम्रो कमाइ भए पनि काम गर्न नपाएको दुःखेसो पोखिन्। बेनीमा पाँच वर्ष काम गर्दा कमाइ नभएपछि बागलुङ आएको उनको भनाइ छ। यहाँ आएर काम गर्दादेखि नै अवरोध भइराखेको उनले बताइन्।

‘पोखरामा राम्रो कमाइ हुन्थ्यो, त्यहाँ धेरै मान्छेको आवतजावत पनि भएको हुँदा फलफूल पनि राम्रै बिक्री हुन्थ्यो, मैले पोखरामा जुत्ता पनि सिलाउँथे, पछि धेरै मान्छेले नराम्रो नजरले हेरे, काम गरेको रिस गरेपछि मैले जुत्ता सिलाउन छाडेँ, फलफूल बेच्न पनि महानगरले दिएन, सडकबाट ढोकोसँगै उठाइदियो, त्यही भएर म बेनी आएँ’, नेपालीले भनिन्, ‘बेनीमा फलफूलसँगै टमाटर पनि बेच्थेँ, बुढाले कोट सिलाउनुहुन्थ्यो अरूको टेलरमा, कमाइ राम्रो नभएपछि बागलुङ आएका हौं, यहाँ आएको पनि तीन–चार महिना भयो, बाटोमा बेच्न हुँदैन भनेर नगरपालिकाले भनिराखेको छ, दुःख गरेर खान पनि दिएनन्।’

धनमायाको चार जनाको परिवार छ। दुई छोरी र श्रीमान रहेको नेपालीको परिवार यसरी फलफूल बिक्री गरेर चल्दै आएको छ। दुई छोरीले पोखरा पढ्ने र श्रीमानले यहाँको एक टेलरिङ सेन्टरमा कपडा सिलाउने काम गर्ने गरेको उनको भनाइ छ।

‘हाम्रो अरू केही छैन, यही काम गर्ने खाने हो, श्रीमानले कोट सिलाउनुहुन्छ, छोरीहरूले पोखरा बसेर पढ्छन्, व्यापार खासै छैन, दसैंका बेला राम्रो भयो, अहिले कम छु,’ उनले भनिन्।

नेपालीले स्याउ, सुन्तला र मौसमअनुसारका फलफूल बेच्ने गर्छिन्। यो सिजन स्याउ, अम्बा र सुन्तलाको भएको अन्तै खुद्रा पसलबाट खरिद गर्ने र बजारको दरमा बिक्री गर्ने गरेको उनको भनाइ छ। फलफूल बेचेर दैनिक पाँच सयदेखि एक हजारसम्म कमाउने भन्दै कहिलेकाहीँ एक हजार पाँच सयसम्म आम्दानी हुने गरेको उनी बताउँछिन्।

‘अहिले खासै नाफा छैन, फलफूल बेच्दा कहिले चार सय हुन्छ, कहिलेकाहीँ एक हजार पनि हुन्छ, महिनाभरिको हिसाब गर्दा त्यही  १५ देखि २० हजारको कमाइ हुन्छ, आफ्नो घर छैन, भाडा तिर्नुपर्‍यो, खानुपर्‍यो, छोरीलाई पढाउनुपर्‍यो, खर्च बढेकोबढ्यै छ, कमाइ घट्दो छ’, उनले भनिन्, ‘अब कता गएर के गर्ने हो, केही काम पाइँदैन, यहाँ पनि नगरपालिकाले सडकमा बसेर नबेच्न भनेछ, केही काम दिए त गर्नुहुन्थ्यो, काम नगरेसम्म खान–लाउन पुग्दैन।’

धनमायाका श्रीमान कुमार नेपालीले बागलुङ बजारको एक सिलाइ-कटाइ पसलमा काम गर्दै आएका छन्। उनले आफूहरू दुई अनपढ भएको हुँदा भौंतारिनुपरेको बताए। कुमारले पढेलेखेको भए केही जागिर गर्न सकिने भन्दै अनपढ भएका कारण जस्तो काम पनि गर्न तयार हुनुपर्ने बताउँछन्। दुई जनाको मेहनतले परिवार चल्दै आएको उनको भनाइ छ।

‘सानोमा गरिबीका कारण पढ्न पाइएन, पढेको भए अहिले केही सानोतिनो जागिर खाइन्थ्यो होला, अहिले काम पनि पाइँदैन, कहिले जुत्ता सिलाउने, कहिले फलफूल बेच्ने काम गरेर गुजारा चलेको छ, उनले (धनमाया) सडकमा बेचेर र मैले कपडा सिलाएर थोरैथोकै कमाउँछौं, जसोतसो महिनाभरि खानलाउन पुगेको छु’, कुमारले भने।

उनले लामो समयदेखि यसरी सडकमा बसेर काम गर्दै आएको सुनाउँदै स्थानीय सरकारले कुनै पनि विकल्प नदिइ सडकबाट हटाउँदा आफूहरू समस्यामा परेको गुनासो पोखे। उनी भन्छन्, ‘सरकारले केही विकल्प दिएर सडकबाट हटाएको भए हामीहरूलाई जिउ पाल्न सजिलो हुन्थ्यो, जता भए पनि काम गर्ने थियौं, पोखरामा राम्रै थियो, हटाउनुभयो, बेनीमा कमाइ नै हुन नसकेपछि अहिले बागलुङ आएका छौं, यहाँ पनि बाटोमा व्यापार नर्गन भन्दै हुनुहुन्छ रे, हामीजस्ता गरिब, दुःखीले अब के गरेर ज्यान पाल्ने ?’

उनले आफू एक्लैको कमाइले परिवार चलाउन गाह्रो हुने सुनाए। काम पाए आफूहरूले जस्ता ठाउँमा पनि गर्न सक्ने बताए। बागलुङ नगरपालिकाले बजार क्षेत्रका सडकमा यत्रतत्र रूपमा राखिएका सामान हटाउन थालेको छ। यसले गर्दा ठेला व्यापारी समस्यामा परेका हुन्।(रासस)