NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

नाइजेरियामा बाढीले १५ लाखभन्दा बढी बालबालिका जोखिममा

एजेन्सी । नाइजेरियामा अधिकांश बालबालिकासहित २५ लाखभन्दा बढी मानिसलाई मानवीय सहायताको खाँचो रहेको संयुक्त राष्ट्रसंघीय निकाय युनिसेफले जनाएको छ ।

प्रभाबितमध्ये ६० प्रतिशत बालबालिका रहेको र विगत एक दशकको सबैभन्दा भीषण बाढीका कारण पानीजन्य रोग, डुब्ने र कुपोषणको उच्च जोखिममा रहेको युनिसेफले चेतावनी दिएको छ ।

बाढीका कारण देशका ३६ राज्यमध्ये ३४ राज्य प्रभावित भएका छन् भने १३ लाख मानिस विस्थापित भएका छन् । बाढीका कारण ६ सय भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् भने दुई लाखभन्दा बढी घरहरू आंशिक वा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।

युनिसेफका अनुसार झाडापखाला र पानीजन्य रोग, श्वासप्रश्वाससम्बन्धी सङ्क्रमण र छालासम्बन्धी रोगका घटना बढ्दै गएका छन् । उत्तरपूर्वी राज्यहरू बोर्नो, अदामावा र योबेमा मात्र अक्टोबर १२ सम्ममा हैजाका सात हजार ४८५ विरामीहरू भेटिएका र ३१९ जनाको मृत्यु भएको थियो ।

केही हप्तासम्म वर्षा जारी रहने भएकाले मानवीय आवश्यकता पनि बढ्ने अनुमान गरिएको छ । नाइजेरियाका लागि युनिसेफका प्रतिनिधि क्रिस्टियन मुन्डुएटले भने, ‘बाढी प्रभावित क्षेत्रका बालबालिका र किशोरकिशोरीहरू अत्यन्तै जोखिममा छन् ।’ उनीहरू विशेष गरी पानीबाट हुने रोग र भावनात्मक र मनोवैज्ञानिक सङ्कटको जोखिममा छन् ।

युनिसेफले सरकार र अन्य साझेदारहरूसँग मिलेर अति आवश्यक परेकाहरूलाई जीवन रक्षक सहायता प्रदान गर्न काम गरिरहेको छ । बाढीले देशमा पहिलेदेखि नै अनिश्चित मानवीय स्थितिमा जटिलताको अर्को तह थपिरहेको छ । बालबालिकाका लागि तत्काल प्राथमिकताका आवश्यकताहरूमा आश्रय र भोजनसहित स्वास्थ्य, पानी, सरसफाइ र स्वच्छता समावेश छन् ।

बढ्दो आवश्यकतालाई सम्बोधन गर्न र जारी मानवीय हस्तक्षेपलाई निरन्तरता दिन, अपाङ्गता भएका बालबालिकालगायत अति जोखिममा रहेका व्यक्तिहरूलाई ध्यान केन्द्रित गर्न थप कोष र स्रोतहरूको आवश्यकता पर्दछ ।

‘युनिसेफको चिल्ड्रेन क्लाइमेट रिस्क इन्डेक्स (सीसीआरआई)’ का अनुसार नाइजेरिया जलवायु परिवर्तनको प्रभावको ‘अति उच्च जोखिममा’ रहेको छ । संयुक्त राष्ट्रसङ्घीय निकायले ‘अति उच्च जोखिम’ भएका मुलुकका बालबालिकाले पानी, सरसफाइ, स्वास्थ्य सेवा र शिक्षाजस्ता अपर्याप्त आवश्यक सेवाका कारण जलवायु र वातावरणीय समस्याका साथै उच्च स्तरको अन्तर्निहित बाल जोखिमको घातक संयोजनको सामना गर्नुपरेको जनाएको छ ।