NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ८ गते

गृहमन्त्री खाँणद्वारा भैरहवादेखि तनहुँसम्मको चार दिने साइकल यात्रा शुभारम्भ

भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले साइकल सिटी सिद्धार्थनगरले साइकल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ भैरहवादेखि तनहुँको मानुङकोटसम्मका लागि सुरू चार दिने साइकल यात्राको शुभारम्भ गरेका छन् ।

शुक्रबारदेखि सुरु साइकल यात्रा आन्तरिक पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादन प्रवर्द्धनका साथै नगर तथा राष्ट्रमा साइकल लेन निर्माणमा सम्वन्धित निकायको ध्यानाकर्षण गर्दै साइकल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ गरिएको हो ।

भैरहवादेखि तनहुँको ‘रम्भा–मानुग्कोटको ४ दिने साइकल यात्रा’ प्रारम्भ गरेको साइकल सिटीका अध्यक्ष सूर्यकुमार सारु मगरले जानकारी दिए ।

गृहमन्त्री खाँणले हरियो झण्डा फहराइ तनहुँसम्मको साइकल यात्रा प्रारम्भ गरेका हुन्। भैरहवाको लुम्बिनी गेटबाट हरियो झण्डा फहराई यात्रा प्रारम्भ गरि साइकल यात्रीलाई गृहमन्त्रीले बिदाइ गरे ।

गृहमन्त्री खाणले पछिल्लो समय साइकल यात्रा गर्नेहरुको संख्या बढ्दै गएको बताउदै यसले आन्तरिक पर्यटन प्रवर्धन र वातावरण संरक्षणमा सहयोग पुग्ने बताए ।

शुक्रबार भैरहवाबाट सुरु भएको यात्रा पाल्पा रामपुर हुदै तनहुंको मानुङकोट पुग्ने यात्राका संयोजक राजेश खरेलले जानकारी दिए । यात्राको पहिलो दिन भैरहवाबाट सुरु भई बुटवल, पाल्पा बर्तुंग, आर्यभंज्यांग, चिदीपानी, हुमिन हुदै ताहुँ धोबाधि पुग्नेछ ।

दोश्रो दिन धोबाधिबाट यात्रा शुरु गरी रम्भादेवी मन्दिर,ताहुँ बजार,बिर्कोट,रामपुर हुदै भिमाद बजार पुग्नेछ । तेश्रो दिन भिमाद बजारदेखि खैरेनीटार,जामुने भन्ज्यांग,चापाघाट हुदै मानुंगकोट सम्म पुग्ने संयोजक खरेलले जानकारी दिए ।

चौथो दिन मनुग्कोटदेखि दमौली बजारसम्म साइकलमा पुग्नेछ । दमौलीबाट भैरहवा भने बसमार्फत फर्किने छन् । यात्रामा १६ साइकल यात्री सहभागी छन् । साइकल सिटी यस अगाडी आन्तरिक पर्यटन प्रर्बधनका लागि भैरहवादेखि बर्दियासम्मको यात्रा गरिसकेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष