NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

ललितपुरमा धुमधामका साथ छठ मनाइँदै

काठमाडौं । चतुर्दशीका दिनदेखि सुरु हुने छठ पर्व सूर्यको आराधना गरी ललितपुरमा पनि हर्षोल्लासका साथ मनाइँदैछ । सूर्यपासनाको अनुपम छठ अत्यन्तै श्रद्धा र निष्ठाका साथ ब्रत बसी अस्ताउँदो सूर्य र उदाउँदो सूर्यको पूजा गरी मनाइने गरिन्छ ।

बिहानीमा सूर्यको न्यानो किरणसँगै बर्तालुले सबै प्रसादीलाई अघ्र्य दिइ अञ्जुलीमा पानी भरी जल चढाउँछन् । पालैपालो ठकुवा, भुसुवा, फलफूल र मिठाइजस्ता प्रसादी छठी मातालाई अर्पण गरी पूजा बिसर्जन गर्दछन् ।

त्यसपछि घरमा गई छठको प्रसाद ग्रहण गरी अरु खाने कुरा बर्तालुले खान्छन् । ललितपुरको गोदावरी–१ की मञ्जु गुप्ता भन्छिन्, ‘पहिला छठको सामग्री पाउन गाह्रो थियो । सामान न पाउँदा तराईमै छठ मनाउन जानु पथ्र्यो । पछिल्लो समय काठमाडौँ उपत्यकामा मनाउने गरेका छौँ ।’

यस्तै ललितपुरको हात्तीवनमा बस्ने बर्तालु रिता यादव उपत्यकाको रानीपोखरी, कमलपोखरी, बागमती, गोदावरी खोलालगायतमा भव्यताका साथ छठ पूजा गर्ने गरिएको बताउँछिन् । छठमा पञ्चमीदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाइ गहुँको सादा पुरी प्रसादका रूपमा खाने तथा व्रत नबस्नेलाई पनि खुवाउने चलन छ ।

परम्परानुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजाका लागि राखिएका उखु, केरा, नरिवल, सुठुनी, निम्बु, पान, सुपारी, सिन्दुर, बेसार, अदुवा, नरिवल, केराउ, भुसुवा, ठेकुवा, फलफूल, मिठाइलगायत सामग्रीका साथ अर्घ दिइन्छ ।

सम्पूर्ण प्राणीलाई विनाभेदभाव समान शक्ति, ताप र किरण दिने समानताको प्रतीक सूर्यको यसै महिमालाई आत्मसात् गर्दै सूर्यको पूजा प्रार्थना र आराधना तनमन लगाएर चार दिनसम्म गरिन्छ । सामग्रीलाई अर्घ दिएपछि रातभर नदी, पोखरी तथा तलाउ किनारमा सबै श्रद्धालु बसी रमाइलो गर्दै छठको लोकगीत गाउँछन् ।

भोलिपल्ट सप्तमी (पारन) को बिहान उदाउँदो सूर्यलाई पुनःअर्घ दिइ पूजा बिसर्जन गरिन्छ । पवित्र मनले छठ मनाउँदा पारिवारिक कल्याण, सन्तान सुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।

ललितपुर, इमाडोलमा बस्दै आएकी बर्तालु मीना दासका अनुसार पञ्चमी (खर्ना) देखि पूर्णिमासम्म चेलीबेटीले रातिमा सामा–चकेवा लोकगीत गाएर रमाइलो गरिन्छ । सामा–चकेवा दाजुभाइको सुस्वास्थ्यका लागि खेलिन्छ ।

‘सहरमा बस्नेले समय र ठाउँ नमिलेर सामा–चकेवा खेल्न छाडेका छन्’, उनले भनिन् । छठमा व्रत बसे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ ।