बैतडीका ३१ मतदानस्थल अतिसंवेदनशील
बैतडी । मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बैतडीका ३१ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा राखिएको छ । यहाँ रहेका एक सय २९ मतदानस्थलमध्ये ३१ स्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको हो ।
सुरक्षा दृष्टिकोणले मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र कम संवेदनशील गरी तीन भागमा वर्गीकरण गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।
निर्वाचनलाई ध्यानमा राखेर मतदानस्थलको संवेदनशीलता वर्गीकरण गरिएको हो । जिल्लाका ३४ मतदानस्थल संवेदनशील र ६५ मतदानस्थल कम संवेदनशीलको सूचीमा राखिएको छ ।
विगतको निर्वाचनको समीक्षा, सञ्चार, यातायातको पहुँच र विभिन्न राजनीतिक दलको प्रभावजस्ता विषयलाई आधार मानेर निर्वाचनस्थल र केन्द्रका लागि सुरक्षा संवेदनशीलता तयार पारिएको हो ।
प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई मध्यनजर गरेर स्थानीय प्रशासनले सुरक्षा योजना निर्माण गरिरहेको छ । मतदानस्थलको अवस्था हेरेर सुरक्षा योजना निर्माण भइरहेको हो ।
जिल्लाका १० स्थानीय तहमा रहेको मतदानस्थलको अनुगमन गरिएको छ । मतदान केन्द्र, मतदानस्थल, मतदाता, उम्मेदवार सबैको सुरक्षाको प्रत्याभूति हुने गरी सुरक्षा योजना तयार गरिएको जनाएको छ ।
सुरक्षा योजनालाई थप प्रभावकारी बनाउन स्थलगत अध्ययन र अनुगमनको कामसमेत भइरहेको छ । दश स्थानीय तह रहेको बैतडीमा दुई सय १० मतदान केन्द्र छन् ।
जिल्लामा एक लाख ५० हजार १५६ मतदाता रहेकाे जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनको मिति नजिकिएसँगै यहाँका राजनीतिक दलहरूले प्रचार–प्रसारमा पनि तीव्रता दिएका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया