NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

राजनीति र विकासलाई सँगै अगाडि बढाउँछौँ : नेता पौडेल

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले राजनीतिसँगै विकासलाई अगाडि बढाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताएका छन् ।

तनहुँको देवघाट गाउँपालिका–४ सिन्च्याङगढी, गाईघाट, मोहोरियामा आज आयोजित मतदाता भेटघाटका क्रममा वरिष्ठ नेता पौडेलले विकास अहिलेको मुख्य प्राथमिकता रहेकाले राजनीतिसँगै विकासलाई अगाडि बढाउनुपर्ने बताए । ‘जनतालाई अहिले चाहिएको विकास हो, हामी विकासका लागि प्रतिबद्ध छौँ’, वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार पौडेलले भने,‘देशमा राजनीतिक क्रान्ति सफल भइसकेकाले अबको मुख्य एजेण्डा विकास हो ।’

सुशासनको जग बसाउन र गाउँमा रोजगारी र आम्दानी दिने काम बाँकी रहेकाले आफू त्यो अभियानमा लागेको पौडेलको भनाइ थियो । ‘देशलाई सुशासन दिएर विकास गरेर युवालाई विदेशिननपर्ने, रोजगारी सिर्जना गर्नेतर्फ ध्यान दिन्छौँ’,उनले भने ।

वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट तनहुँ १ प्रदेश २ का उम्मेदवार हरिबहादुर चुमानले उपलब्धि रक्षाका लागि गठबन्धन गरिएको र गठबन्धनले निर्वाचन जित्नुपर्ने बताए ।

नेता पौडेल शुक्रबारदेखि घरदैलो अभियानमा व्यस्त छन् । शनिबार देवघाट गाउँपालिका–१ र २ को खाल्टे, बैदी, कोटा, आइतबार देवघाट गाउँपालिका–५ कालिमाटी लगायतका ठाउँमा उनले घरदैलो गरेका थिए ।

पौडेलको घरदैलो अभियान कात्तिक १५, १६ र १७ गते आँबुखैरेनी तथा १९, २० र २१ गते बन्दीपुर गाउँपालिकामा सञ्चालन हुनेछ ।