आचारसंहिता मिचेर एमालेले गर्यो पत्रिकामा चुनाव प्रचार
काठमाडौं । नेकपा एमालेले निर्वाचन आचारसंहिता नै उल्लंघन गरेर दैनिक पत्रिकामा चुनावी प्रचार गरेको पाइएको छ ।
निर्वाचन आयोगको आचरसंहिता अनुसार दलले निजी क्षेत्रको पत्रपत्रिकाको माध्यमबाट प्रचारप्रसार गर्दा प्रत्येक दिन बढीमा सात/सात इन्चसम्मको आकारमा कुनै एउटा पत्रिकामा प्रचार सामग्री छपाउन सक्छन् ।
तर, बुधबार कान्तिपुर दैनिकको मध्यपृष्ठमा एमालेले सात/सात इन्च भन्दा बढी आकारको निर्वाचन सामग्री छपाएको छ । आज प्रकाशित उक्त विज्ञापन पृष्ठको आकार १९.६/१२.९ इन्च रहेको छ । त्यो पनि एकपृष्ठमात्रै नभएर दुई पृष्ठमा छापिएको हो ।
जसमा पार्टीको निर्वाचनलक्षित २० ग्यारेन्टीसहित पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्केच र नारा समावेश गरिएको छ । त्योसँगै एमालेले आफ्नो कार्यकालमा पूर्ननिमार्ण गरेको दाबी गर्दै आएको धरहरा, रानीपोखरीलगायतका स्केच पनि छन् ।
आयोगका सह–प्रवक्ता सूर्यप्रसाद अर्याल यसरी मापदण्डविपरीत प्रचार सामग्री छपाउनु गलत भएको बताउँछन् । ‘निर्वाचन आचारसंहिताअनुसार दलहरूले पत्रपत्रिकामा ७/७ इन्चसम्मको समाग्री छपाउन पाउँछन्,’ उनले भने, ‘यो आचारसंहिताविपरित कसैले समाग्री प्रकाशन गरेको पाइएमा आयोगले कारवाही प्रत्रिया अघि बढाउँछ ।’
आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०७९ को दफा १५ मा सञ्चारमाध्यमको प्रयोग गर्दा पालना गर्नुपर्ने आचरणअन्तर्गत दलले निजी क्षेत्रको टेलिभिजन, रेडियो वा एफएम रेडियोको माध्यमबाट प्रचारप्रसार गर्दा कम्तीमा एक घण्टाको अन्तरालमा चौबीस घण्टामा बढीमा चार पटकसम्म प्रसारण गर्न सक्नेछन् ।
प्रचार विभाग प्रमुख भन्छन्, ‘मलाई थाहै छैन’
नेकपा एमाले अन्तर्गत ३३ वटा विभाग सक्रिय छन् । त्यसमध्ये एक हो प्रचार विभाग । यो विभागको काम हो, ‘पार्टीको गतिविधिबारे प्रचारप्रसार गरेर जनतासमक्ष पुर्याउनु । पत्रपत्रिकालगायतका सञ्चारमाध्यममा पार्टीको प्रचार गर्ने क्षेत्राधिकार पनि यही विभागमा पर्छ । तर, यो जिम्मेवारी सम्हाल्दै आएका विभाग प्रमुख एमाले नेता पृथ्वी सुब्बा गुरूङ आफूलाई यसबारे जानकारी नै नभएको भन्दै प्रश्नबाट पन्छिन खोजे । मुख्य दलले आचारसंहिताविपरित कार्य गरेकोबारे प्रश्नमा उनले भने, ‘हामीले प्रचार गर्ने काम सरू भएकै छैन । तैपनि मैले आजको कान्तिपुर दैनिक हेर्न पाएको छैन ।’
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया