प्रचण्डबारे दुस्प्रचार गर्नेमाथि कारवाही गर्न निर्वाचन आयोगलाई सचिवालयको आग्रह

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका सचिवालयले प्रचण्डमाथि जुत्ता प्रहारको प्रयास भएको समचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मंगलबार अध्यक्ष प्रचण्ड कर्णालीका विभिन्न जिल्लामा भएको चुनावी सभालाई सम्बोधन गरी फर्किने क्रममा ‘सुर्खेतमा प्रचण्डमाथि माओवादी पूर्वलडाकुद्वारा जुत्ता प्रहारको प्रयास, प्रहरीले जोगायो’ शीर्षमा केही सञ्चारमाध्यले समाचार प्रकाशित गरेपछि सचिवालयले समाचारको खण्डन गरेको हो ।
प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै चनावी सभाको सफलताबाट अत्तालिएका राष्ट्रघाती र जनविरोधी तत्वहरूले फैलाएको भ्रामक हल्ला भएको उल्लेख गरेका छन् ।
‘चुनावी सभाको भव्य सफलताबाट अत्तालिएका राष्ट्रघाती, जनविरोधी र परिवर्तन बिरोधि तत्वहरुको नियोजित उक्साहटमा अध्यक्ष कमरेड कर्णालीबाट फर्किनु भएपश्चात केही सञ्चार माध्यममा ‘सुर्खेतमा प्रचण्डमाथि माओवादी पूर्वलडाकुद्वारा जुत्ता प्रहारको प्रयास, प्रहरीले जोगायो’ शीर्षकमा प्रकाशित समाचारप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञेप्तिमा उल्लेख छ ।
त्यस्तै केही दिन अघि गोरखाको चुनावी अभियानमा ‘ढुंगा प्रहार’ भन्दै प्रचण्डको पुरानो भिडियो टिकटक लगायत सामाजिक सञ्जालमा फैलाएकोमा आपत्ति जनाएको छ ।
‘करिब १ दशक अगाडि काठमाडौको जनप्रर्दशनको भिडियो मेन्सन गरि झुठो समाचार टिकटक लगायतका सामाजिक सन्जालमा राखिएको थियो । यसरी निर्वाचन आचार संहिता विपरित उम्मेद्वारहरुमाथि प्रतिगामी तत्वको इशारामा निरन्तर भैरहेको निन्दनीय दुस्प्रचारको हामी सम्पुर्ण रुपले खारेज गर्दछौं’, सचिवालयको विज्ञप्तिमा उल्लेख छ ।
साथै दुस्प्रचार गर्नेमाथि कार्बाही गर्न निर्वाचन आयोग र सम्बन्धित सरोकारवाला पक्षको सचिवालयले ध्यानाकर्षण गराएको छ । कर्णाली प्रदेशका विभिन्न जिल्लाहरु जुम्ला, हुम्ला, कालिकोट र सुर्खेतमा चुनावी सभालाई सम्बोधन गर्न अध्यक्ष प्रचण्ड, काङ्ग्रेसका उपसभापति पूर्णबहादुर खड्का लगायतका नेताहरू मंगलबार कर्णाली पुगेका थिए ।
प्रतिक्रिया