NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

दलका चुनावी मुद्दा प्रधानमन्त्री

काठमाडौं । एमाले, कांग्रेस र माओवादीले आगामी सरकारको नेतृत्वलाई प्रमुख चुनावी मुद्दा बनाएका छन् । एमालेले अध्यक्ष केपी शर्मा ओली, कांग्रेसले सभापति शेरबहादुर देउवा र माओवादीले अध्यक्ष पुष्पकमल दाहाललाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका छन् । सत्ता गठबन्धनले कसैको नाम नलिई आगामी सरकारको नेतृत्व गर्ने भनेको छ भने एमालेले ओलीलाई ‘ब्रान्डिङ’ नै गरेको छ ।

‘मंसिर ४ : ओली सरकार’ नारा तय गरेको एमालेले समकालीन राजनीतिमा ओलीको जस्तो क्षमता र आत्मविश्वास भएको नेता नरहेको भन्दै उनलाई ‘ब्रान्ड’ का रूपमा अघि सारेको हो ।

माओवादी अध्यक्ष दाहालले सार्वजनिक भाषणमै निर्वाचनपछि सरकारको नेतृत्व आफूले लिने बताएका छन् । दाहालकै लवजमा देउवाले बोलेका छैनन् तर उनको अन्तर आवाज गृहमन्त्री बालकृष्ण खाँण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र प्रवक्ता प्रकाशशरण महतलगायत नेतामार्फत प्रकट भइरहेको छ । कांग्रेसमा देउवाको विकल्प खोज्ने समूह पनि छ । त्यसको केन्द्रमा नेता रामचन्द्र पौडेल र महामन्त्री गगन थापा मुख्य छन् । पार्टीको आन्तरिक शक्तिसंघर्षमा जहाँ रहे पनि देउवासँग प्रतिस्पर्धामा उत्रिएर थापाले कांग्रेस र मुलुककै लागि सन्देश दिन खोजेको प्रस्ट्याएका छन् ।

यसअघि देउवालाई छाडेको कारण उल्लेख गर्दै निर्वाचनपछि आफू प्रधानमन्त्री हुने सन्देश दाहालले दुई दिनअघि सल्यानबाट दिएका थिए । ‘मैले यसअघि प्रधानमन्त्री पद छाडेकाले आउने प्रधानमन्त्रीका लागि कुनै विवाद हुने देखिँदैन,’ सोमबार स्थानीय सञ्चारकर्मीबीच दाहालले भनेका थिए, ‘तर यस विषयमा सहमति भइसकेको छैन ।’ माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गठबन्धनको बहुमत आउनेमा शंका नभएकाले आगामी पाँच वर्ष कांग्रेस र माओवादी मिलेरै सरकार चलाउने दाबी गर्छन् । ‘समझदारी भएको छैन, मोटामोटी आधा–आधा कार्यकाल कांग्रेस र माओवादीले चलाउने कुरा स्वतः बुझिने विषय हो,’ उनले भने ।

निर्वाचनअघि नै प्रधानमन्त्रीको टुंगो नलागे पनि संघ र प्रदेशमा गठबन्धनकै सरकार बन्ने दाहाल र देउवा दुवैका भनाइ छन् । सत्ता र शक्तिको आकर्षण मतदातामा पर्ने भएकाले पनि मुख्य नेताहरूले आफू प्रधानमन्त्री बन्ने र गठबन्धनका उम्मेदवारलाई चुनाव जितेर आएमा मन्त्री बनाइदिने भन्दै पद बाँडिरहेका छन् ।

२०५६ को आमनिर्वाचनमा एमालेले मनमोहन अधिकारी र कांग्रेसले कृष्णप्रसाद भट्टराईलाई ‘भावी’ प्रधानमन्त्रीका रूपमा अघि सारेका थिए । माओवादीले ०६४ मा पुष्पकमल दाहाललाई भावी कार्यकारी राष्ट्रपतिका रूपमा अघि सारेको थियो ।

कांग्रेस प्रवक्ता प्रकाशरण महतले निर्वाचनपछि कांग्रेस ठूलो दल बन्ने र कांग्रेसकै नेतृत्वमा सरकार बन्ने दाबी गर्दै आएका छन् । उनले कांग्रेसभित्र देउवाको विकल्प नभएको समेत बताइरहेका छन् । चुनावी दौडाहा सकेर बुधबार राजधानी फर्केका महतले देउवालाई प्रधानमन्त्री बनाउन माओवादीमा पनि समस्या नरहेको दाबी गरे । गठबन्धनभित्र देउवा र दाहालमध्ये पहिले को प्रधानमन्त्री हुने वा यी दुईबाहेक एमाले अध्यक्ष केपी ओली हुने भन्ने विषय निर्वाचन परिणामले देखाउनेछ । त्यसपछिको समीकरणले प्रधानमन्त्रीबारे निर्क्योल हुने नेताहरू बताउँछन् । चुनावी मैदानमा जसपा, लोसपा, राप्रपासहितका पुराना र नयाँ दल पनि छन् ।

यीबाहेक स्थापित दलका लागि स्वतन्त्र र दलभित्रकै बागी उम्मेदवारको चुनौती पनि छ । माओवादीका अर्का नेता हरिबोल गजुरेल वैकल्पिक राजनीतिक धार, पार्टीभित्रकै बागी र असन्तुष्ट समूहका कारण धेरै–थोरै मत आदानप्रदानमा समस्या आउन सक्ने बताउँछन् ।

अझै प्रस्ट समीकरणको दृश्य नदेखिएकाले को प्रधानमन्त्री हुन्छ भनेर ठोकुवा गर्न नसकिने उनको भनाइ छ । ‘निर्वाचन परिणामले संसद्को अंकगणित कस्तो बनाउँछ, त्यसपछि मात्रै सरकारको निर्माण र प्रधानमन्त्रीको विषयमा प्रस्ट हुन्छ,’ उनले भने, ‘अबको एक साता चुनावी प्रतिस्पर्धा कस्तो ढंगले अघि बढ्छ, त्यसपछि मात्रै केही भन्न सकिएला ।’

दाहालले केही दिनयता सार्वजनिक मञ्चबाटै माओवादी तेस्रो तर राष्ट्रिय राजनीतिको निर्णायक शक्तिका रूपमा संसद्मा उपस्थित हुने दाबी गर्दै आएका छन् । उनको प्रक्षेपणलाई आधार मान्ने हो भने कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो तर निर्णायक शक्ति हुनेछ । माओवादीबिना कांग्रेस र एमाले दुवैले सरकार बनाउन नसक्ने संसद्को समीकरण बनेमा दाहाललाई सुरुवातमै प्रधानमन्त्री हुनबाट रोक्न नसक्ने कांग्रेस–माओवादी नेताहरूको बुझाइ छ । ‘सत्ता गठबन्धनमा आलोपालो प्रधानमन्त्री हुने कुरामा विवाद भएन तर देउवा र दाहालमध्ये को अघि हुने भन्ने कुरामा संसद्को समीकरणले धेरै अर्थ राख्छ,’ देउवानिकट एक नेताले भने, ‘चुनावी मैदानमा दाहालले प्रधानमन्त्री बन्छु भन्दा कांग्रेसले त्यसलाई अन्यथा मानेको छैन । जो प्रधानमन्त्री भए पनि यही गठबन्धनबाट हुने कुरामा प्रस्ट छ ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।