NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

चुनावी प्रचार : ओली अघिअघि, गठबन्धनका नेता पछिपछि

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै सुदूरपश्चिमको विकट जिल्ला दार्चुला यतिबेला राजनीतिक ‘हटस्पट’ बनेको छ । वर्षैंसम्म राज्यको उपेक्षामा पर्दै आएको सुदूरपश्चिमा चुनावी सभा गर्न सत्ता गठबन्धन र एमालेबीच होडबाजी चलेको छ ।

कात्तिक १८ गते एमाले अध्यक्ष केपी ओलीले निकै तामझामसाथ दार्चुलाको खलङ्गामा आयोजित सभालाई सम्बोधन गरे । ६० दशकको राजनीतिक दौरानमा पहिलोपटक खलङ्गा पुगेका ओलीले दार्चुलाबाट नै राष्ट्रवादी शक्ति निर्माणदेखि आर्थिक विकासको अभियान शुरू भएको घोषणा गरे ।

चुनावी सभालाई सम्बोधन गर्दै उनले सुदूरपश्चिमलाई विकासको मूलधारमा ल्याउन र राष्ट्रियताको जागरण देशव्यापी फैलाउन आफू दार्चुला आएको दाबी गरे ।

‘नेपालले आफ्नो एक इन्च जमिन पनि कसैलाई छोड्नेवाला छैन । एक इन्च जमिन पनि मिचिन दिनेवाला छैन । मिचिएको जमिन फिर्ता ल्याउँछ भनेर हामीले नक्सा जारी गरेका छौं । संसदले सर्वसम्मतिले पास गरेको छ । त्यो सन्देश दिन म यहाँ आएको हुँ । चुनावपछि बस्नेगरी आउँनेछु’, उनले भने, ‘ठूलो भारतले सानो चित्त गर्ने होइन । नदी सर्यो कि सिमाना सारिहाल्ने । विशाल भारत छ । यति सानो सीमा मिच्न सुहाउँदैन । यसलाई नेपाली जनताले थिचोमिचोको रूपमा बुझ्छन्, त्यो कुरा भारतले गर्न हुँदैन । म भारतका नेताहरूलाई भन्न चाहन्छु ।’

सभामा ओली त्यतिमामात्र रोकिएनन्, भारतले नक्कली खोल्सो देखाएको आरोप लगाए । उनले महाकालीको शीर लिम्पियाधुरा भएकाले अब फिर्ता लिएरै छाड्ने अठोट व्यक्त गरे ।

‘एउटा नक्कली खोल्सो बनाएर त्यसलाई महाकालीको शीर भन्न खोजिएको छ । खोबिल्टो बनाएर काली दह नामाकरण गर्न खोजिएको छ । एउटा मन्दिर बनाएर काली मन्दिर भन्न खोजिएको छ । महाकाली नदी एकातिर छ, तिरतिरे अर्कोतिर छ’, ओलीले भने, ‘खोल्सीलाई सीमा भनेर नेपालीलाई झुक्याउन मिल्दैन । ६० वर्ष भयो हामीले कालापानी, लिपुलेक र लिम्पियाधुरा गुमाएको, अब फिर्ता हुनेछ ।’

यो राष्ट्रिय अभिभारा, अभियान, राष्ट्रभक्ति जागरण विकास, शान्ति सुशासन र समृद्धिका लागि हो । ओलीले एमाले पाँच दल, छ दल र सात दल मिलेर बनाउने स्वार्थको गठजोड होइन जिकिर गर्दै देशभक्त, राष्ट्रवादी, विकासप्रेमी, शान्तिपूर्ण ढंगले अगाडि बढ्ने राष्ट्रिय शक्ति भएको बताए ।

त्यस्तै दार्चुलालाई आन्तरिक उत्पादन बढाएर आर्थिक रुपले आत्मनिर्भर बनाउने, महाकाली नदी नियन्त्रण गर्न तटबन्ध बनाउने, दार्चुला र भारतको धार्चुला जोड्न पक्की पुल बनाउने ग्यारेन्टी गरे ।

सभामा उनले चीनसँग जोड्ने टिङ्कर भञ्ज्याङ बाटो नेपाल आफैंले खोल्नुपर्ने भएपनि भारत आफैंले बनाएर बेकारको झमेला निकालेको उनको आरोप छ ।

त्यसैदिन बैतडी र कञ्चनपुरको सभालाई सम्बोधन गरी काठमाडौं फर्किंका ओली शनिबार पुनः सुदूरपश्चिमका डोटी लगायतका जिल्लामा हुने सभामा भाग लिन जाँदैछन् ।

दार्चुलामा ओलीले सम्बोधन गरेको पाँच दिन नबित्दै बुधबार गठबन्धनका शीर्ष नेताहरूले दार्चुलाकै गोकुलेश्वरमा संयुक्त चुनावी सभा गरी ओलीलाई जवाफ फर्काएका छन् ।

सभालाई प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गर्दै महाकाली क्षेत्र समेटिएको चुच्चे नक्सा ओलीलेमात्र नभइ संसदभित्र सबै दलको सर्वसम्मत सहमतिमा ल्याएको बताए ।

‘चुच्चे नक्सा ओली एक्लैले जारी गरेको होइन, सबैले मिलेर जारी गरिएको हो । यो विषय राष्ट्रिय सहमति बनेर ल्याइएको हो । मैले एक्लै ल्याएँ भन्नु केपी ओलीजीको चुनावी फन्डा हो । ओलीले झुट बोले,’ देउवाले भने, ‘ओलीले जस्तो भाषणबाजी गरेर भूमि फिर्ता हुँदैन । फिर्ता ल्याउन भारतसँग कुटनैतिक संवाद गर्नुपर्छ । ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुराबारे भ्रम फैलाइरहेका छन् । दार्चुलामा आएर भूमि फिर्ता ल्याउँछौँ भनेर मात्रै हुँदैन ।’

यसैगरी देउवाभन्दा अघि बोलेका माओवादी अध्यक्ष प्रचण्डले पनि चुच्चे नक्सा ओलीको नभई सबैको योगदानबाट आएको दाबी गरे । तत्कालीन नेकपाको आफू अध्यक्ष रहेका बेला स्थायी कमिटीको बहुमत सदस्यले निर्णय गरेपछि सरकारको नीति तथा कार्यक्रममा थप्न ओली बाध्य भएको उनको दाबी थियो । करिब २४ मिनेट सभालाई सम्बोधन गरेका प्रचण्डले चुनावका बेला मात्र ओली राष्ट्रवादीजस्तो देखिने र चुनावपछि भारतसँग लम्पसार पर्ने गरेको आरोपसमेत लगाए ।

‘चुच्चे नक्सा जारी गर्ने बेला म नेकपाको अध्यक्ष थिएँ । यो विषय सबैको सहकार्य र सहमतिमा आएको हो । यसले संसदमा कांग्रेससहित सबै पार्टीले सहमति गरेपछि नक्सा पासले वैधानिकता प्राप्त गरेको हो,’ उनले भने, ‘नक्सा जारी गरेको ओलीले दाबी गरेका छन् । त्यतिबेला हामीले भारतसँग कुटनैतिक सम्बन्धबाट भू–भाग ल्याउनुपर्छ भनेका थियौं । तर उहाँले कहिल्यै हिम्मत गरेनन् । उनी सबैभन्दा कायर मान्छे पनि हुन् । मानिसले बहादुर ठान्छन्, बिल्कुल उनी त्यस्ता व्यक्ति होइनन् । जब चुनाव आउँछ, दार्चुलाभन्दै गोहीका आँशु झार्छन् । कोही भ्रममा नपर्नुहोला ।’

सभामा सम्बोधन गर्दै प्रचण्डले मंसिर ४ को निर्वाचन संविधान, लोकतन्त्र र परिवर्तनपक्षधर र संविधान, लोकतन्त्र र व्यवस्था विरोधी निरंकुशपक्षधरबीचको महासंग्राम भएकाले गठबन्धनलाई बहुमत दिन आग्रह गरे ।

संविधानसभाबाट संविधान र गणतन्त्र हुनै सक्दैन भन्ने ओलीलाई संविधानमा हस्ताक्षर गरिसकेपछि उनको बुद्धि फिरेछ भन्नठाने पनि संविधान र लोकतन्त्र समाप्त पार्न षड्यन्त्रमा लागेको प्रचण्डले आरोप लगाए ।

‘यिनले संविधान, संघीयता र गणतन्त्रपनि माने सबैको समान हक र अधिकार दिन पनि माने भन्ठानेर पहिलोपटक प्रधानमन्त्री बन्न प्रस्ताव मैंले राखेको हो । पार्टी एकताको प्रस्ताव पनि मैंले राखेको हो तर एकतापछि ओली बदलिएका रहेनछन् । उनी लुकेर बसेका रहेछन् । मौकाको ताकमा ढुकेर बसेका रहेछन्’, उनले भने, ‘आफू शक्तिमा आएपछि संविधान च्यात्ने, गणतन्त्र मास्ने र सबैको पहिचान सिध्याउने उद्देश्यले पाखण्डी चरित्र पो देखाएका रहेछन् । व्यवस्था सिध्याउनकै लागि उनले दुई–दुई पटक संसद विघटन गरे । संविधान मिच्ने काम गरे । यसबाट के प्रमाणित हुन्छ भने उनी बयलगाढावाला सिद्धान्तबाट पछि हटेका रहेनछन् । जनयुद्ध र जनआन्दोलनबाट आएको परिवर्तनलाई उल्टाउने र फेरि देशलाई निरङ्कशतातिर लैजाने षड्यन्त्र रहेछन् ।’

तर सदन, सडक, न्यायलय, बौद्धिक जगत र मिडिया लगायत सबैतिर व्यापक विरोध भएपछि उनको षड्यन्त्र तत्कालका लागि असफल भएको उनले टिप्पणी गरे ।

‘अघिल्लोपटक झण्डै दुईतिहाइको प्रधानमन्त्री बालुवाटारबाट बालकोट पुगे । आज फेरि बहुमतको सरकार चाहियो भन्दै हिँडेका छन् । म आफैंलाई लाज लाग्छ’, प्रचण्डले ओलीमाथि प्रश्न गरे, ‘दुईतिहाइको सरकार ढाल्ने, संसद् विघटनन गर्ने, त्यत्रो विशाल पार्टीलाई विभिन्न सेटिङबाट टुक्राटुक्रा पार्ने ओलीले कुन मुख र नैतिकताले बहुमत माग्ने ? ओलीलाई फेरि बहुमत किन चाहियो ? संविधान च्यात्न सकिनँ भनेर बहुमत चाहियो ? संसदलाई पटक–पटक विघटन गरी नेपाली जनताको अधिकार खोस्न बहुमत चाहिएको हो ?’
आफ्नै प्रस्तावमा ओली दुईपटक प्रधानमन्त्री बनेको दाबी गर्दै अब उनी प्रधानमन्त्री बन्न सम्भव नभएको प्रचण्डले बताए ।

‘एकपटक संविधान बनाउन नचाहेपछि प्रधानमन्त्री बनाउँछु संविधानमा हस्ताक्षर गर्नोस् भनेर प्रस्ताव गरेको हो । अर्कोपटक वाम एकताका लागि मैंले प्रधानमन्त्री प्रस्ताव गरेको हो । अब तेस्रोपटक प्रधानमन्त्री भएर देखाउनोस् त्यो सम्भव छैन’, उनले भने ।

दार्चुलामा भएको चुनावी सभा सकेर शीर्ष नेताहरूसँगै बैतडी र कैलालीको सभालाई सम्बोधन गर्न पुगेका थिए । गठबन्धन र विपक्षी एमालेका शीर्ष नेताहरू चुनावको मुखमा सुदूरपश्चिमको दौडाहामा निस्केको देख्दा राष्ट्रियताको मुद्दामा जस कसले लिने भन्ने देखिन्छ । २०७२ मा भारतले नेपालमाथि लगाएको नाकाबन्दीको विरोध गरेपछि ओली एकाएक राष्ट्रवादी नेताको रुपमा उदाएका थिए ।

त्यसैको फाइदा उठाउँदै २०७४ मा झण्डै दुइतिहाइको प्रधानमन्त्री बन्न उनी सफल भए । ६० वर्षदेखि भारतको कब्जामा रहेको दार्चुलाको कालापानी क्षेत्रलाई ओली सरकारकै पालामा नक्सामा समेटिएको थियो । अहिले त्यसैलाई मुल मुद्दा बनाएर एमाले आगामी निर्वाचनमा बहुमत ल्याउने दाउमा देखिन्छ । तर गठबन्धनका नेता यस्ताे भ्रम चिर्न चाहन्छन् ।

आफूसहितको सहमतिमा जारी भएको चुच्चे नक्सालाई ओलीको एकल स्वामित्व नभएको देखाउन ओलीको पछिपछि गठबन्धनका शीर्ष नेताहरू सुदूरपश्चिम दौडाहामा छन् ।