NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

निर्वाचन सुरक्षार्थ सेना परिचालन

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको सुरक्षार्थ नेपाली सेना परिचालन गरिएको छ ।

चुनावी सुरक्षाका लागि नेपाल सरकारले सेना परिचालन गर्न सिफारिस गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको थियो । जसलाई नेपाली सेनाकी परमाधिपतिसमेत रहेकी राष्ट्रपति भण्डारीले स्वीकृत गरेकी छन् ।

राष्ट्रपतिले स्वीकृत प्रदान गरेसँगै तोकिएको स्थानमा पुगेर सुरक्षा तयारी थालेको नेपाली सेनाले जनाएको छ । सेनाले एकीकृत सुरक्षा योजनाअन्तर्गत केन्द्र, प्रदेश र जिल्लामा निर्वाचन सुरक्षा कक्षसमेत स्थापना गरेको छ ।

पृतना, बाहिनी, गुल्मबाट ७४ हजार ८४९ सैनिक प्रत्यक्ष रूपमा निर्वाचन क्षेत्रमा परिचालन गरिएको सैनिक मुख्यालय जंगी अड्डाले जनाएको छ ।

निर्वाचन सुरक्षार्थ नेपाली सेना गत कात्तिक ४ गतेदेखि परिचालन भई शनिबारसम्म सबै स्थानमा पुगिसकेको जनाइएको छ । निर्वाचन सुरक्षार्थ ७७९ स्थानमा कम्पनी अपरेटिङ बेस (सीओपी) तथा पल्टुन अपरेटिङ बेस (पीओवी) स्थापना भइसकेका छन् । एक पल्टुनमा ३९ जना सैनिक रहने र तीन पल्टुन बरबर एक कम्पनी रहने गरी नेपाली सेनाको संरचना रहेको छ ।

त्यसैगरी, सेनाले सुरक्षा संवेदनशीलताका आधारमा देशका ७६२ स्थानमा बम डिस्पोजल टोलीलाई तयारी अवस्थामा राखेको र थप १४३ स्थानमा फौज राख्ने तयारी भइरहेको जनाएको छ ।