NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २१ गते

दुई कम्पनीका भिटामिन गुणस्तरहीन, फिर्ता गर्न विभागले दियो निर्देशन

काठमाडौं । दुई स्वदेशी औषधि कम्पनीका भिटामिन गुणस्तरहीन पुष्टि भएको छ । मापदण्ड पूरा नगरी ती भिटामिन उत्पादन गरेर बिक्री वितरण गरेको पाइएपछि औषधि व्यवस्था विभागले तत्काल फिर्ता गर्न निर्देशन दिएको छ ।

बायोगेन रिमेडाइज प्रालि, रूपन्देहीको उत्पदन बायोकल–डी (क्याल्सियम कार्बोनेट एण्ड भिटामिन डी३ ट्याबलेट बिपी) र लोमस फर्मास्युटिकल्स प्रालि गोठाटारको भिटामिन सी अस्भिट न्यून गुणस्तरको पाइएको हो ।

बजार अनुगमनका क्रममा विभागले यी दुई कम्पनीका औषधिको नमुना संकलन गरी परीक्षण गरेको थियो । त्यसको नतिजामा दुवैका उत्पादन न्यून गुणस्तरको भेटिएको विभागको सूचनामा उल्लेख छ ।

बायोगेनले मार्च २०२१ र लोमसले अगस्ट २०२१ मा यी भिटामिन उत्पादन गरेर बजारमा पठाएका थिए । यी भिटामिनको म्याद क्रमशः फेब्रुअरी २०२३ र जुलाई २०२३ राखिएको छ ।

विभागले न्यून गुणस्तरको यी दुवै भिटामिनको तत्काल बिक्री वितरण रोकी बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ ।

औषधि ऐन, २०३५ को दफा १४ अनुसार उत्पादन फिर्ता (रि–कल) गर्न निर्देशन दिएको विभागले जनाएको छ ।