NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

अक्षयले ‘हेरा फेरी ३’ नखेल्नुको कारण स्क्रिप्ट नभएर पैसा कम भएको खुलासा

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारले फिल्म ‘हेरा फेरी ३’ मा काम नगर्नुको कारण स्क्रिप्ट नभएर पारिश्रामिक कम भएको खुलासा भएको छ । केही दिनअघिमात्रै उनले एक कार्यक्रममा आफूलाई फिल्मको स्क्रिनप्ले र स्क्रिप्ट चित्त नबुझेका कारण फिल्मबाट बाहिरिएको बताएका थिए ।

तर, उनको यो अभिव्यक्तिलाई कटाक्ष हुने किसिमको खुलासा भारतीय सञ्चारमाध्यमले गरेका हुन् । सोही कार्यक्रममा अक्षयले बलिउड फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शनी नगरेको अवस्थामा सुधार ल्याउन कलाकारको पारिश्रामिक कटौतीकोसमेत कुरा उठाएका थिए । आफैं पनि त्यसका लागि तयार रहेको उनको अठोट थियो ।

यस्ता अभिव्यक्ति बीच उनलाई मोटो रकम दिन निर्मता असफल भएपछि अक्षय उक्त फिल्ममा नरहेको खबर सार्वजनिक भएको छ । जसकारण उनको सट्टा फिल्ममा अर्का अभिनेता कार्तिक आर्यनलाई लिइएको छ ।

कार्तिक आर्यन अक्षयको ठाउँमा हुने घोषणा पछि यतिबेला उनका समर्थकले ट्वीटरमा ‘नो अक्षय, नो हेरा फेरी ३’ को ट्रेण्ड नै चलाएका छन् । तर, फिल्मको निर्माण पक्षले भने कार्तिक आर्यनलाई छनौट गरिएको बारे आधिकारिक घोषणा भने गरिसकेको छैन ।

अक्षयले एउटा फिल्ममा काम गरेवापत ८० करोड भारतीय रूपैयाँ लिँदै आएका छन् । पछिल्लो समय उनी अभिनित फिल्मले पनि बक्स अफिसमा पहिलाको तुलनामा कमाई गरेको छैन । योसँगै कोभिड महामारी पछि आएको आर्थिक संकटका कारण फिल्म निर्माता पनि सेलिब्रेटीलाई मोटो रकम दिन तयार छैनन् । जसकारण अक्षयलाई यसपटक भारी रकम दिनबाट अस्वीकार गरिएको हो ।

तर, अक्षयको तुलनामा कार्तिकले आधार पारिश्रामिक लिन्छन् । उनले ३५ देखि ४० करोड हाराहारीमा पारिश्रामिक बुझ्छन् । उनी अभिनित पछिल्लो फिल्म भूल भुलैयाले दुई सय ६० करोड भन्दा बढी व्यापार गर्न सफल भएको थियो । र, उनको फ्यान फलोइङ पनि राम्रो छ । जसकारण निर्माण पक्ष कार्तिकप्रति लोभिएका हुन् ।