NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

जो अन्तिम पटक चुनाव लड्दैछन्

काठमाडौं । गत ५ भदौमा भैरहवा पुगेका पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले पहिलोपटक गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै भने, ‘म अन्तिमपटक चुनावी प्रतिस्पर्धामा उत्रिँदै छु । त्यसपछि उठ्दिनँ ।’ त्यतिवेला उनले सत्तागठबन्धनका तीनैजना शीर्ष नेताहरू शेरबहादुर देउवा, प्रचण्ड र माधव नेपालबाट चुनावपछि राष्ट्रपति बनाउने आश्वासन पाएको चर्चा चलिरहेको थियो । अहिले त्यो चर्चा सेलाएको छ, तर मतदातासामु होस् या मिडिया, उनले यो चुनाव आफ्ना लागि ‘अन्तिम हो’ भन्न छाडेका छैनन् ।

इलाम १ मा यसपटक आफ्नै पूर्वसहकर्मी एमाले उम्मेदवार महेश बस्नेतसँग प्रतिस्पर्धा गर्नुपर्ने मोडमा पुगेका छन् उनी । र, ०४८ देखि लगातार उम्मेदवार हुँदै आइरहेका उनी एमालेभित्रै विद्रोह गरेर नयाँ पार्टी खोल्नुपर्ने स्थिति खासै सुखद नभएको बताइरहेका छन् । त्यसैले गठबन्धनको सुदृढीकरण, संविधानको सुनिश्चितता र राष्ट्रियताको रक्षाका निम्ति पनि अन्तिमपटक उम्मेदवारी दिएको तर्क उनी पेस गरिरहेका छन् ।

संसदीय राजनीतिमा सुखद बहिर्गमन खोजिरहेका ८० वर्षीय लोसपा अध्यक्ष महन्थ ठाकुर पनि मतदातालाई आफ्नो यो चुनाव अन्तिमपटक भएको भन्दै जिताउन आग्रह गरिरहेका छन् । महोत्तरी ३ मा सत्तागठबन्धनबाट उम्मेदवार रहेका उनीविरुद्ध पूर्वसहकर्मी तमलोपाका अध्यक्ष वृषेशचन्द्र लालदेखि जसपाका हरिनारायण यादव मुख्य प्रतिस्पर्धी छन् । त्यसैले यसपटक अप्ठेरो अवस्थामा रहेका उनी यसपछि चुनाव नलड्ने भन्दै मतदाता फकाइरहेका छन् । शनिबार मात्रै जलेश्वरआसपास घरदैलो गर्ने क्रममा उनले मतदातालाई भने, ‘यो मेरो अन्तिम चुनाव हो । मधेसको पहिचान र हक–अधिकारसम्बन्धी केही काम गर्न बाँकी छन् । त्यसैले अन्तिमपटक मलाई भोट दिनुस् ।’ उमेर, शरीर र पुस्तान्तरणको ख्याल गर्दै महन्थले अहिलेको चुनावलाई अन्तिम भनेको उनीनिकट लोसपाका नेता सुरेन्द्र झा बताउँछन् । ‘अर्को चुनाव आउँदा उहाँ ८५ वर्ष पुग्नुहुन्छ । उमेर र शारीरिक हिसाबले पनि सहज हुँदैन । दोस्रो, अहिले उठिरहेको पुस्तान्तरणको मुद्दाको सम्मान गर्दै अर्कोपटकदेखि चुनावी राजनीतिबाट बिदा लिने, पार्टीको नेतृत्वमा मात्रै सक्रिय रहने उहाँको मनसाय हो,’ झाले भने ।

२३ असोजमा नवलपुर १ बाट उम्मेदवारी दर्ता गराउँदै गर्दा कांग्रेस केन्द्रीय सदस्य डा. शशांक कोइरालाले पनि पत्रकारसामु आफ्नो चुनाव अन्तिम भएको घोषणा गरे । प्रधानमन्त्रीको उम्मेदवार बन्नकै लागि पनि यसपटक चुनावमा उठेको उनको तर्क थियो । ‘तीनपटकसम्म चुनाव जितिसकेको छु । यस क्षेत्रका जनताले मलाई विश्वास गरेका छन् । यो चुनाव जितेपछि म राष्ट्रको सेवा गर्न कांग्रेसका तर्फबाट प्रधानमन्त्रीको उमेदवारका रूपमा अगाडि बढ्नेछु । पार्टीभित्र पनि मैले सोहीअनुसार कुराकानी गरेको छु,’ उनले उम्मेदवारी मनोनयन दर्ता गराएपछि भने । चौथोपटक चुनावी मैदानमा उत्रिएका उनी अहिले मतदातामाझ पनि आफूलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गर्दै भनिरहेका छन्, ‘मलाई प्रधानमन्त्री बनाउनका लागि चुनाव जिताउनुस्, अर्कोपटकदेखि उठ्दिनँ ।’

काठमाडौं ९ बाट सातौँपटक प्रतिनिधिसभा चुनाव लडिरहेका एमाले नेता कृष्णगोपाल श्रेष्ठले पनि अर्कोपटकदेखि युवाका लागि ठाउँ छाड्ने भन्दै आफ्नो यो अन्तिम चुनाव भएको घोषणा गरेका छन् । उनले हालै एक अनलाइनसँगको कुराकानीमा खुलेरै भने, ‘अब युवाहरूलाई राजनीतिमा आकर्षण गर्नुपर्छ । देशको बागडोर उनीहरूको हातमा सुुम्पिनुपर्छ । त्यसैले होला आफैँ पनि भनिरहेको छु– यो मेरो लागि अन्तिम निर्वाचन हो । यसपछि म संसदीय र निर्वाचनको प्रक्रियामा सहभागी हुँदैन र नयाँ पिँढीलाई सहयोग गर्छु ।’

एमालेको सहयोगमा जनता प्रगतिशील पार्टीबाट उम्मेदवार बनेका हृदयेश त्रिपाठीविरुद्ध चुनाव लड्न यसपटक नवलपरासी १ (बर्दघाट सुस्ता पश्चिम) पुगेका छन् । सत्तागठबन्धनका उम्मेदवार विनोद चौधरीविरुद्ध कडा प्रतिस्पर्धाको अवस्थामा पुगेका उनी पनि यतिखेर मतदातामाझ ‘अन्तिम चुनाव’को इमोसनल कार्ड फ्याँकिरहेका छन् । अर्का चुनावमा नयाँ पुस्तालाई अवसर दिने दाबीसहित उनले अघिल्लो साता मात्रै प्राइम टेलिभिजनको कार्यक्रममा खुलेरै भने, ‘यसपालिको यो क्षेत्रको अस्मिताचाहिँ जोगाऔँ, मेरो अन्तिम हो चुनाव । भिडियो रेकर्ड राखौँ, अन्तिम चुनाव हो ।’

गत असोज २४ गते मतदातामाझ घरदैलो कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य तथा नुवाकोट २ का उम्मेदवार अर्जुननरसिंह केसीले अर्को निर्वाचनबाट आफूले उम्मेदवारी नदिने सार्वजनिक घोषणा नै गरे । मतदातामाझ भावुक हुँदै उनले भने, ‘यो मेरो अन्तिम निर्वाचन हो । फेरि म लड्न पनि सक्दिनँ होला । योभन्दा अघिल्लो निर्वाचनमा अन्तिम भनेको रहेछ भने त्यो होइन, योचाहिँ अन्तिम हो ।’ यसपटकचाहिँ पार्टीलाई लोकतान्त्रिक विधि तथा प्रक्रियामा अघि बढाउन र पार्टीभित्र र बाहिर युवाको नेतृत्व सुरक्षित गराउन उठ्नुपरेको उनको तर्क थियो ।

लोसपाका अर्का ठूला नेता लक्ष्मणलाल कर्ण पनि पटक–पटक मतदातामाझ ‘यो आफ्नो चुनाव’ रहेको घोषणा दोहो¥याइरहेका छन् । अघिल्लोपटक पर्सा ४ बाट विजयी भए पनि यसपटक पर्सा १ बाट उम्मेदवारी दिनुपर्ने बाध्यतामा पुगेका उनले पहिलोपल्ट २३ असोजमा वीरगन्जस्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएकै दिन पत्रकारसँग भनेका थिए, ‘यो मेरो अन्तिम चुनाव हो । वीरगन्ज महानगरपालिकाका विद्यमान शिक्षा, स्वास्थ्यलगायत विकासका काम गर्न बाँकी छ, त्यसैले उम्मेदवारी दिएको हुँ, यसपछि उठ्दिनँ ।’ तर, स्थानीय तहको अंकगणित सत्तागठबन्धनको पक्षमा नदेखिएपछि दबाबमा रहेका कर्णले अहिले मतदाता रिझाउन अन्तिम चुनावकै इमोसनल कार्ड फ्याँकिरहेका छन् ।

कांग्रेसबाट आफूलाई प्रधानमन्त्रीकै उम्मेदवारका रूपमा प्रस्तुत गरिरहेका नेता रामचन्द्र पौडेल पनि अन्तिमपटक चुनाव लडेको भन्दै जिताइदिन आग्रह गरिरहेका छन् । ३ भदौमा तनहुँ पुगेर पौडेलले पहिलोपल्ट उम्मेदवारीबारे औपचारिक घोषणा गरेका थिए, ‘जहाँबाट चुनाव हारेँ, त्यहीँबाट जितेर मात्र मर्न चाहन्छु ।’ घोषणा गर्नुअघि केही दिनअघि मात्रै उनले काठमाडौंमा तनहुँका कांग्रेसी नेताहरूको भेला गराएका थिए । त्यतिवेला उनको अनुरोध थियो, ‘तनहुँ १ बाट अन्तिम पटक चुनाव लड्ने इच्छा छ । सहयोग गर्नुस् ।’

गत वर्ष १७ मंसिरमा कांग्रेस नेत्री सुजाता कोइरालाले विराटनगरमा आयोजना भएको प्रदेश १ को अधिवेशनलाई सम्बोधन गर्ने क्रममै आफूले अन्तिमपटक चुनावमा लड्ने घोषणा गरेकी थिइन् । त्यसपछि युवाहरूलाई राजनीतिक प्रशिक्षण दिँदै अघि बढाउनुपर्ने उनको तर्क थियो । अहिले उनी मोरङ २ बाट उम्मेदवार छिन् ।

०७० र ०७४ मा काठमाडौं ७ बाट एमालेबाट सांसद निर्वाचित रामवीर मानन्धर यसपटक स्वतन्त्र उम्मेदवार छन् । पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका उनी यहाँ सत्तागठबन्धनकी उम्मेदवार मानुषी यमी भट्टराई र एमालेका श्याम घिमिरेविरुद्ध प्रतिस्पर्धा गर्दै छन् । उनले पनि यतिखेर मतदातामाझ ‘अन्तिम चुनाव’को कार्ड प्रयोग गरिरहेका छन् । हालै प्राइम टिभीको टक सोमा पुगेर उनले खुलेरै भने, ‘मैले एमाले छोडेको होइन, मलाई छोडाइयो । मेरो लक्ष्य विकास नै हो । अधुरा योजना पूरा गर्नु छ । प्रत्येक बाटोमा पैसा राखेको छु । म ६० वर्ष पुगेँ । यो मेरो अन्तिमपटकको चुनाव हो । यहाँ कांग्रेसको उम्मेदवार छैन । रुख चिह्न छैन । उहाँहरूलाई मतदान गर्न मेरो घन्टाघर चिह्न छ ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।