NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३२ गते

लोकसेवा प्रश्नमा उपसचिव डा.डिजनको समाधान

काठमाडौं । जनतामा विश्वास देखिन्छ– लोकसेवा आयोग निष्पक्ष छ । त्यसैले निजामती सेवाका लागि आवश्यक कर्मचारी नियुक्त गर्न यसले लिने परीक्षाप्रति आकर्षण छ । इमान्दारीपूर्वक अध्ययन गरेर लोकसेवा उत्तीर्ण भई सेवा प्रवेश गर्ने सपना धेरैको हुन्छ । उचित तयारी र प्रस्तुति परीक्षाका अनिवार्य सर्त हुन् । यही सन्दर्भलाई ध्यानमा राखी नेपालवाच डटकमले पूर्वप्रशासक, प्रशासक र विषयविज्ञबाट समाधान पहिल्याउने प्रयास थालेको छ । आजको श्रृंखलामा उपसचिव डिजन भट्टराई(पिएचडी) ले निर्णयका आधारहरू र निर्णय निर्माणका चरणबारे प्रश्नको समाधान पहिल्याउनुभएको छ ।

निर्णयका आधारहरू लेख्नुहोस, साथै निर्णय निर्माणका चरणहरूबारे विश्लेषण गर्नुहोस । ५+५ =१०

निर्णयका आधारहरू र निर्णय निर्माणका चरणहरू

१. निर्णयको परिचय

कुनै पनि निश्चित समस्याको समाधान गर्न वा कुनै कार्य गर्ने वा नगर्ने भनि अधिकार प्राप्त अधिकारीले लिखित रुपमा दिएको अन्तिम आदेश वा निर्देशन नै निर्णय हो । अर्थात विभिन्न विकल्पहरूमध्ये उत्तम बिकल्पको छनौट गर्ने व्यवस्थापकीय कार्य नै निर्णय हो ।

२. निर्णयका आधारहरू

सार्वजनिक निकायमा गरिने निर्णय कार्यले सार्वजनिक जवाफदेहिता सिर्जना गर्ने भएकाले यो कानुनी व्यवस्था तथा अन्य निश्चित आधारमा गरिनुपर्छ । त्यसैले निर्णयका आधारहरूलाई देहाय अनुसार प्रस्तुत गरिएको छ :

  •  संवैधानिक व्यवस्था, नीति तथा निर्देशक सिद्धान्तहरु तथा संवैधानिक मर्म र भावना
  •  विद्यमान कानूनहरू तथा तिनीहरूद्धारा सिर्जित सीमा
  • आवधिक योजना, सरकारका नीति तथा कार्यक्रम र बजेट
  • अन्तर्राष्ट्रिय कानूनहरू अर्थात् सन्धि सम्झौता
  • अदालती नजीर र निर्णयहरू,
  • प्राप्त अधिकार तथा स्रोत साधन,
  •  सूचना र तथ्यांकको उपलब्धता र गुणस्तरियता,
  •  जनताको अपेक्षा, चाहना र भावना र अन्य पर्यावरणीय अवस्था,
  •  संगठनको उद्देश्य र नीति,
  •  निर्णयकर्ताको, अनुभव, रूची, चाहना, ज्ञान, सीप, योग्यता, जोखिम बहन गर्ने सामथ्र्य,
  •  अरूको सल्लाह, सुझाव, सिफारिश,
  •  भौगोलिक, सामाजिक, आर्थिक अवस्था,
  •  निर्णयले प्रभाव पार्ने वर्ग वा क्षेत्र,
  • सांगठनिक संस्कृति, मूल्य मान्यता, परम्परा लगायतले पनि प्रत्यक्ष परोक्ष रुपमा निर्णयको आधारको रूपमा कार्य गर्दछन् ।

३. निर्णय निर्माणका चरणहरू

कुनै पनि समस्याको समाधानका लागि विभिन्न बिकल्पहरू मध्ये उपयुक्त बिकल्पको छनौटको कार्य निर्णय भएकाले यसको निर्माण चरणवद्ध रुपमा हुन्छ, जुन देहाय अनुसार छन् :

  •  समस्याको पहिचानको चरण : समस्याको प्रकृति र गाम्भिर्यताको पहिचान गर्ने । समस्याका कारण र परिणामको विश्लेषण गर्ने,
  •  विकल्पहरूको विकासको चरणः उपलब्ध श्रोत साधन, सूचना, तथ्यांकको अध्ययन गरेर, विज्ञ एवं सरोकारवालको मत समेत बुझेर विकल्प विकास गर्ने,
  •  विकल्पहरूको विश्लेषण गर्ने चरणः प्राप्त विभिन्न विकल्पहरू मध्ये लागत, जोखिम, प्रभावकारिता, उपयुक्त, कार्यान्वयनयोग्य तथा लक्ष्य र उद्देश्य अनुरुप विश्लेषण गर्ने,
  •  उत्तम विकल्पको चयनको चरण :ज्यादा लाभदायक, स्रोतको प्रभावकारी उपयोग हुने, उद्देश्य र लक्ष्य पुरा हुने, पर्यावरणीय दृष्टिले उपयुक्त र कार्यान्वयन योग्य विकल्पको चयन गर्ने,
  •  निर्णयको कार्यान्वयनको चरण :चयन गरिएको बिकल्प जुन निर्णयका रुपमा रहेको हुन्छ, त्यसलाई कार्यमा रुपान्तरण गर्ने चरण

४. निष्कर्ष

निर्णय गर्दा देशको संविधान, कानुन तथा नीतिहरूका साथै निर्णयकर्ताका वैयक्तिक विशेषताहरू पनि आधारका रुपमा रहेका हुन्छन् । सार्वजनिक जवाफदेहिता सिर्जना गर्ने सार्वजनिक निर्णयहरुमा वैयक्तिक विशेषताको न्यून भन्दा न्यून प्रभाव रहनुपर्छ भन्ने मान्यता राखिन्छ । समस्याको पहिचान गर्नेदेखि विकल्पको निर्माण र विश्लेषण तथा उत्तम विकल्पको छनौट गरी कार्यान्वयनमा ल्याउनु नै निर्णयका चराणहरू हुन ।