NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

रामचन्द्र पौडेलले प्रचण्ड र बाबुरामलाई किन भेटे ?

काठमाडौं । सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराई र कांग्रेसका नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । शुक्रबार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा तीन शीर्ष नेताहरूबीच भेटवार्ता भएको हो । भेटमा समसामयिक राजनीतिक परिस्थिति, निर्वाचन परिणाम र नयाँ सरकार गठनका बारेमा कुराकानी भएको नेता महेन्द्रराय यादवले बताए ।

‘भेटवार्तामा चुनावी समीक्षा र आगामी सरकार गठनबारे छलफल भयो’, उनले भने, ‘वर्तमान गठबन्धनकै नेतृत्वमा सरकार बनाउन हामीबीच कुनै विमति छैन । बलियो र स्थायी सरकार बनाउ कसरी सकिन्छ भन्ने सम्बन्धमा सामन्य छलफल भएको छ ।’

गठबन्धनबाट कसले नेतृत्व गर्ने भन्नेबारे प्रधानमन्त्री शेरबहादुर देउवार र प्रचण्डबीच हानाथाप परिरहेको अवस्थामा पौडेलसँग भेटवार्ता गर्नुलाई अर्थपूर्णरुपमा हेरिएको छ । तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्यम निर्वाचित भएका पौडेल प्रधानमन्त्रीका आकांक्षी हुन् ।

यसअघि उनले प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालसँग भेट गरी प्रधानमन्त्रीमा आफूलाई सहयोग गर्न आग्रह गरिसकेका छन् । निर्वाचनअघि प्रचण्डले पौडेलको पक्षमा भोट माग्दै उनलाई जिताएर पठाए प्रधानमन्त्री बनाउने आश्वासन दिएका थिए । प्रधानमन्त्रीलाई लिएर कांग्रेसभित्र प्रधानमन्त्री को भन्ने विषयमा देउवा, पौडेल र गगन थापाबीच हानाथाप छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको सम्पूर्ण नतिजा आइसकेको छ । समानुपातिकतर्फ पनि सांसद छनोटको अन्तिम तयारी छ । दल नयाँ सरकार गठनको तयारीमा जुटेका छन् ।