NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

बारीमै कुहिन थाल्यो अदुवा

तनहुँ । बजारमा अदुवाको माग घटेपछि किसान कम मूल्यमा बिक्री गर्न बाध्य भएका छन् ।

बारीमै अदुवा कुहिन थालेपछि कम मूल्यमा नै बिक्री गर्न बाध्य भएको तनहुँको भिमाद नगरपालिका–४ रजिडाँडाका अदुवा कृषक तुलबहादुर राना बताउछन् । ‘अदुवा निकाल्ने समय भएको छ । अदुवाको माग खासै आएको छैन । कुहिनुभन्दा कम मूल्यमा बिक्री गर्न थालेका छौँ,’ उनले भने ।

गत वर्ष अदुवाको माग नभएपछि बिक्री गरिएको थिएन । यस वर्ष पनि माग नआएको उनि बताउछन् । ‘बारीमै कुहिनुभन्दा कम मूल्यमै बेच्न थालेका छौँ । विगत दुई वर्षदेखि धार्नीको रु दुई सयदेखि रु दुई सय ५० सम्ममा बिक्री गर्दै आएका थियौँ । यसपटक बढ्नुपर्ने बेलामा झन् घटेर बेच्न बाध्य छौँ । यस वर्ष धार्नीको रु एक सयमा बेच्दैछौँ,’ उनले भने, ‘लगानी नै उठ्दैन यसपटक ।

बीउबिजन महँगो मूल्यमा किन्नुपर्ने र बिक्री कम मूल्यमा गर्दा किसान मर्कामा परेका कृषक राना बताउछन् । मुख्यतः अदुवाको खपत भारतीय बजारमा हुने र भारतबाट माग नआएपछि अदुवा बिक्रीमा समस्या भएको उनको भनाइ छ । ‘अदुवा बारीमै कुहिने, सुक्ने भएपछि निकाल्न थालिएको छ । अलि बढी पानी भएमा पनि कुहिने समस्या आउँछ,’ उनले भने ।

कृषक रानाले वार्षिकरूपमा सात सय धार्नी अदुवा उत्पादन गर्छन् । यसपटक अलि कुहिएकाले छिटो निकालिएको उनि बताउछन् । यस क्षेत्र अदुवा पकेट क्षेत्र हो । उक्त क्षेत्रका प्रत्येक किसानले एक सयदेखि नौ सय धार्नीसम्म अदुवा उत्पादन गर्ने गरेका उनले बताए । रजिडाँडाका मात्रै २५ घरधुरीले अदुवा उत्पादन गर्दै आएका छन् ।

सो स्थानका कृषकले समूह बनाएर अदुवा खेती गर्दै आएका छन् । गत वर्ष उत्पादन गरिएको बीउ शुक्लागण्डकी नगरपालिकाका लागि अदुवाको बीउ निर्यात गरिएको उनि बताउछन् । बिक्री नभएका अदुवाको सुठो बनाएर बिक्रीका लागि बजारमा पठाइने कृषक रानाले बताए । माघ र फागुनसम्म अदुवा निकाल्न मिल्ने र चैतमा बीउ रोपण गर्ने समय हो ।

ताजा अपडेट

नेपालवाच विशेष