म्याग्दीमा स्वास्थ्य एकाइ स्थापना गर्न ३५ लाख संकलन
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–१ पूर्णगाउँमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गर्न ३५ लाखभन्दा बढी आर्थिक सहयोग जुटेको छ । यसका लागि यही मंसिर १५ देखि २२ गतेसम्म श्रीमद् भागवत धनधान्याञ्चल महायज्ञ आयोजना गरिएको थियो ।
महायज्ञ आयोजक समितिका प्रचार–प्रसार संयोजक खगेन्द्र खत्रीले सोमबार आम्दानी विवरण सार्वजनिक गरेका हुन् । ‘३५ लाख ५९ हजार छ सय सहयोग घोषणा भएको छ’, उनले भने, ‘घोषणा भएको मध्ये ३१ लाख नगद प्राप्त भइसक्यो ।’ ४४ मुरी धान र छ मुरी जौँ संकलन भएको छ । सामान्य बिरामी हुँदा आधारभूत स्वास्थ्य सेवा लिनसमेत घण्टौँ पैदलयात्रा गर्नुपर्ने बाध्यता भएपछि समुदायले आफैँ लगानी जुटाउन पूर्णगाउँको शिवालय र लक्ष्मीनारायण मन्दिर परिसरमा महायज्ञ सञ्चालन गरिएको थियो ।
महायज्ञमा देवराज सुवेदीले कथावाचन गरेका थिए । महायज्ञका कार्यालय सचिव नीलकण्ठ सुवेदीले यज्ञबाट संकलन भएको ३० प्रतिशत रकम शिवालय मन्दिर सञ्चालनका लागि कोष खडा गर्ने र ७० प्रतिशत रकमलाई सामुदायिक स्वास्थ्य एकाइ स्थापनार्थ परिचालन गरिने जानकारी दिए ।
पूर्णगाउँमा दुई सयभन्दा बढी घरधुरीको बसोबास छ । यो वडाको स्वास्थ्यचौकी कुहुँमा छ । पूर्णगाउँबाट कुहुँ पुग्न एक घण्टा पैदलयात्रा गर्नुपर्छ । स्वास्थ्य संस्था टाढा हुँदा औषधोपचारमा समस्या भएकाले सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गर्न लागिएको महायज्ञ आयोजक समितिका अध्यक्ष दुर्गादत्त आचार्यले बताए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया