NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३० गते

खेल मैदानमा सवारी पार्किङ

गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा रहेको चिदिचौर खेल मैदान सवारी पार्किङले कुरूप बन्दै गएको छ । विगत केही दिनदेखि चिदिचौरमा सरकारी, सार्वजनिक र निजी सवारीको पार्किङ बढेको हो ।

खेल मैदानमा सवारी पार्किङ गर्नुले यहाँको बजार कुरूप देखिएको स्थानीयवासी मणि पाण्डेले बताए । खेल मैदानलाई पार्किङका रूपमा प्रयोग गर्दा विभिन्न खेल खेल्न पनि समस्या भइरहेको उनले बताए ।

चिदिचौर खेल मैदानमा यसअघि रेसुङ्गा नगरपालिका–८ ले सवारीसाधन पार्किङ, सिक्न र सिकाउन निषेध गरेको छ । तर यसको कार्यान्वयन भएको छैन । सवारी साधन आएपछि चिदिचौरमा पार्किङ गर्दा खेल्ने समयमा नै असर गरेको छ ।

पार्किङ गर्ने अन्यत्र ठाउँ नभएकाले बढी सवारी हुँदा सवारीधनी आफैँले चिदिचौरमा पार्किङ गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका हवल्दार नवीन भण्डारी बताए । उनका अनुसार ट्राफिक प्रहरीले चहेर पनि हटाउन सकेको छैन ।