NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

चुनावी मैदानमा चार पूर्वकम्युनिस्ट प्रधानमन्त्री : केपी, प्रचण्ड र माधवलाई राहत, खनाललाई आहात

काठमाडौं । मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार जना पूर्वकम्युनिस्ट प्रधानमन्त्री चुनावी मैदानमा उत्रिएकामध्ये तीन जना विजयी भए । विजयी हुनेमा पूर्वप्रधानमान्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र एमाले अध्यक्ष केपी ओली रहेका छन् । प्रचण्ड गोरखा–२ बाट निर्वाचित भए । नेपाल रौतहट–१ र ओली झापा–५ बाट विजयी भए ।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल इलाम–१ बाट एमालेका उम्मेदवार महेश बस्नेतसँग पराजित भए । यद्यपि निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै उनले पुनः मतदानको माग दबीसहित सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले योपटक निर्वाचन प्रक्रियामै भाग लिएनन् ।

२०५१ सालमा तत्कालीन एमाले अध्यक्ष मनमोहन अधिकारीे जननिर्वाचित पहिलो कम्युनिस्ट प्रधानमन्त्री बन्न सफल भएका थिए । अधिकारीपछि लामो समय सत्ताको नेतृत्वमा पुग्न नसकेका कम्युनिस्ट नेताहरू संघीय गणतन्त्र स्थापनापछि पटक–पटक सत्ताको नेतृत्वमा पुग्न सफल भए ।

२०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन विद्रोही माओवादी सबैभन्दा ठूलो दल भयो । अध्यक्ष प्रचण्ड गणतन्त्र नेपालको पहिलो शक्तिशाली प्रधानमन्त्री बन्न सफल भए । त्यसयता एमालेबाट नेपाल, खनाल, ओली र माओवादीबाट भट्टराई प्रधानमन्त्री भए । ओली र प्रचण्ड दुई–दुईपटक सत्ताको नेतृत्वमा पुग्न सफल भए ।

निर्वाचनपछि बहुमतको सरकार बनाउने दाबीसहित निर्वाचनमा होमिएका ओलीले जितेपनि पार्टीले शर्मनाक पराजय व्यहोर्यो । प्रतिनिधिसभा निर्वाचनमा एमालेले ७८(प्रत्यक्ष र समानुपातिक) सिटसहित दोस्रो स्थानमा खुम्चियो । राप्रपा र जसापसँग चुनावी तालमेल गरेको एमाले गठबन्धनले जम्मा १०४ सिट जितेको छ । बहुमत पुर्याउन एमालेलाई थप ३४ सिट आवश्यक पर्छ । पार्टीले पराजय भोगेपनि ओली पुनः प्रधानमन्त्री बन्ने दाउमा छन् ।

पूर्वप्रधानमन्त्रीत्रय प्रचण्ड, नेपाल र खनाल सत्ता गठबन्धनबाट एमालेविरुद्ध चुनावी मैदानमा उत्रिएका थिए । चुनावी माहाकुम्भबाट प्रचण्ड र नेपाल उत्रिन सफल भए भने खनालले नमिठो पराजय भोगे । यी सबैले अघिल्लो निर्वाचनमा वामपन्थी गठबन्धन बनाएर अत्याधिक मतसहित निर्वाचन जितेका थिए ।

परम्परागत दलका नेताहरूमाथि आम नागरिकमा देखिएको चरम राजनीतिक वितृष्णा र युवा तथा स्वतन्त्र उम्मेदवारहरूको सक्रिय सहभागीताले योपटकको निर्वाचन थप रोचक भयो । निर्वाचनबाट सात राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाएकोमा एमाले, कांग्रेस, माओवादी केन्द्र र जसपाले विरासत कायमै राखे । १५ वर्षपछि राप्रपाले तीन प्रतिशत थ्रेसहोल्ड कटाएर राष्ट्रिय दलको मान्यता पायो । रवि नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र सीके राउत नेतृत्वको जनमत पार्टीले दल खोलेको एक वर्ष पनि नवित्तै राष्ट्रिय दलको मान्यता पाउन सफल भयो । एकीकृत समाजवादीले राष्ट्रिय दलको मान्यता पाउनै सकेन ।

२०७४ मा वामपन्थीले झण्डै दुईतिहाइ मत पाएर पनि राजनीतिक स्थायित्व, विकास निर्माण र आर्थिक समृद्धि दिन नसकेको आरोप यी चारैजना नेतामाथि लागेको छ । योपटक एक अर्कालाई हराउन मोर्चाबन्दी कसेर निर्वाचनमा होमिएकाले त्यसको क्षति सबैभन्दा बढी वामपन्थीलाई नै भयो । प्रचण्डबाहेक ओली, खनाल र नेपाल २०४८ देखि लगातार संसदीय निर्वाचनमा भाग लिंदै आएका नेता हुन् । यी चार पूर्वकम्युनिस्ट प्रधानमन्त्रीले विगतमा पाएको मतसहित योपटक प्राप्त गरेको मत विश्लेषण गर्नु बाञ्छनीय देखिन्छ ।

केपी ओली

एमालेका अध्यक्षसमेत रहेका ओली झापा–५ बाट २८ हजार ५८० को फराकिलो मतान्तरले गठबन्धनका उम्मेदवारलाई पराजित गर्न सफल भए । ओली ५२ हजार ३१९ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीले २३ हजार ७३९ मत पाए । अघिल्लो निर्वाचनमा ५७ हजार १३९ मत ल्याएर ओली निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीले २८ हजार २९७ मत पाएका थिए । जहाँ ओलीको मतान्तर २८ हजार ८४२ रहेको थियो । यी दुवै उम्मेदवार पुरानै प्रतिस्पर्धी भएपनि योपटक ओली र अधिकारीले मत घटाएका छन् । ओलीलाई अघिल्लो निर्वाचनमा माओवादीसहित राप्रपाले साथ दिएको थियो । अधिकारीलाई योपटक माओवादीले साथ दिएको थियो ।

ओली समकालीन राजनीतिका चतुर खेलाडी मानिन्छन् । एमालेको नेतृत्वमा आएसँगै उनी पार्टीभित्र मात्र नभई राष्ट्रिय राजनीतिमासमेत प्रभाव जमाउन सफल भए । विपक्षीमाथि व्यंग्यसहित विभिन्न भाव र विम्व प्रयोग गरी चोटिलो प्रहार गर्न उनी निकै माहिर देखिन्छन् । उमेरले ७१ वर्ष नाघेका ओली विभिन्न फण्डामार्फत चर्चामा आइराख्ने नेता हुन् ।

२०४८, ०५१, ०५६ झापा–७ बाट प्रतिनिधिसभा निर्वाचन जितेका ओलीले २०६४ को संविधानसभा निर्वाचनमा झापा–६ बाट पराजित भए । २०७० र २०७४ को निर्वाचन झापा–६ र क्षेत्र नं. ५ बाट निर्वाचित भएका थिए ।

कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको नेपालको नक्सा सार्वजनिक गरेका ओलीले निर्वाचन जित्न राष्ट्रियताको मुद्दालाई उछालेका थिए । पार्टी विभाजन र सत्ता गठबन्धनको कसिलो मोर्चाबन्दीको बाबजुद पनि आगामी निर्वाचनमा १५० सिट जित्ने दाबी गर्दै आएका ओलीको भविष्यवाणी असफल भएको छ ।

प्रचण्ड

वाम गठबन्धनको सहयोगमा अघिल्लोपटक चितवन–३ बाट निर्वाचित भएका प्रचण्डले चुनाव हार्ने डरले योपटक गोरखा–२ बाट निर्वाचनमा भाग लिए । उनलाई एमालेका युवा उम्मेदवार अब्दुस मियाँले चुनौती दिएका थिए । जनमतको हिसाबले निकै कमजोर रहेको एमालेले पराजय भोग्यो । योपटक पनि एमाले तेस्रो स्थान भन्दामाथि जान सकेन । २६ हजार १०९ मतसहित प्रचण्ड विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीले १२ हजार ६३९ मत पाए । उनले विजय हासिल गरेपनि पार्टी ३२ सिटसहित सानो आकारमा खुम्चिएको छ । तेस्रो स्थान जोगानउका लागि रास्वपासँग निकै पापड बेल्नुपर्यो । आगामी दिनमा राजनीति भविष्य नदेखेका प्रचण्डले तेस्रोपटक प्रधानमन्त्री बन्ने दाउमा छन् ।

२०६४ को संविधानसभापछि निर्वाचनमा भाग लिँदै आएका प्रचण्डले प्रत्येकपटक निर्वाचनमा क्षेत्र परिवर्तन गर्दै आएका छन् । ०६४ मा उनी काठमाडौं–१० र रोल्पा–२ बाट निर्वाचित भएका थिए । २०७० को निर्वाचनमा काठमाडौं–१० र सिराहा–५ बाट उम्मेदवार रहेका थिए । त्यतिबेला काठमाडौं–१० बाट शर्मनाक हार ब्यहोरेका उनले सिराहाबाट भने झिनो मतले जितेका थिए । २०७४ निर्वाचनमा चितवन–३ बाट निर्वाचित भएका उनले योपटक अन्तिम समयमा आएर क्षेत्र परिवर्तन गरेका हुन् ।

२०७४ सालमा ९ हजार ३३८ मतान्तरले चितवन–३ मा राप्रपाका उम्मेदवार विक्रम पाण्डेलाई पराजित गरेका थिए । गोरखा–२ पूर्वप्रधानमन्त्री भट्टराईको निर्वाचन क्षेत्र हो ।

उमेरले ६७ वर्ष पार गरेका प्रचण्ड कम्युनिस्ट पूर्वप्रधानमन्त्रीमध्ये कान्छा उम्मेदवार हुन् । उनी २५ वर्ष भूमिगत राजनीति गरी २०६२ सालमा शान्तिपूर्ण राजनीतिमा आएका थिए । २०५२ सालबाट सुरु भएको सशस्त्र विद्रोहको प्रचण्डले १० वर्ष नेतृत्व गरे । २०६२ मा तत्कालीन सात दल र विद्रोही माओवादीबीच भएको १२ बुँदे सहमतिको जगमा २०६२÷६३ को जनआन्दोलन भयो । सोही आन्दोलनले नेपालबाट २४० वर्षे राजसंस्थाको अन्त्य गरायो । उनी २०६५ र २०७३ मा दुईपटक प्रधानमन्त्री भएका थिए ।

माधव नेपाल

अघिल्लो निर्वाचनमा वामगठबन्धनका साझा उम्मेदवार रहेका नेपाल काठमाडौं–२ बाट विजयी भएका थिए । योपटक उनले गृहजिल्ला रौतहट–१ बाट चुनावमा भाग लिए । काठमाडौं–२ मा पराजय हुने डरले मधेश झरेका नेपाल आफूलाई जिताउन सफल भएपनि पार्टीले मान्यता पाउन सकेन ।

नेपाल ३३ हजार ५२२ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार अजयकुमार गुम्ताले २६ हजार ९२२ मत पाए । गठबन्धनको सहयोगमा प्रत्यक्षतर्फ १० सिट जित्न सफल भएको नेकपा एस सामनुपातिकतर्फ तीन प्रतिशत मत पाउन नसक्दा राष्ट्रिय दलको मान्यता पाउन सकेन ।

रौतहट–१ मा अघिल्लोपटक राष्ट्रिय जनता पार्टीका उम्मेदवार अनिल झाले जितेका थिए । झा २१ हजार ४७२ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार कृष्णप्रसाद यादवले १५ हजार ८७४ मत पाएका थिए ।

एमालेमा झण्डै १५ वर्ष महासचिव भएका नेपाल २०६४ को संविधानसभा निर्वाचनमा काठमाडौं–२ र रौतहट–१ बाट पराजित भएपछि पदबाट राजीनामा दिएका थिए । त्यतिबेला एमाले ३३ सिटमा खुम्चिएको थियो । दुवै क्षेत्रबाट पराजित भएपनि प्रधानमन्त्री बन्ने सौभाग्य नेपाललाई मिलेको थियो ।

प्रधानसेनापति प्रकरणमा २०६५ वैशाखमा प्रधानमन्त्रीबाट प्रचण्डले राजीनामा दिएपछि नेपाल कांग्रेसको सहयोगमा २०६६ जेठमा प्रधानमन्त्री भएका थिए । २०४८, २०५१, २०५६, २०७० को निर्वाचनमा काठमाडौं र रौतहटबाट निर्वाचित भएका थिए । उमेरले ६९ वर्ष लागेका नेपाल गतवर्ष एमालेसँग विद्रोह गरी एकीकृत समाजवादी पार्टी गठन गरेका हुन् ।

झलनाथ खनाल

२०४८ देखि इलाम क्षेत्र–१ बाट लगातार प्रतिनिधिसभामा निर्वाचित रहेका पूर्वप्रधानमन्त्री एवं नेता खनाल योपटक पनि गठबन्धनको सहयोगमा साविक क्षेत्रबाट नै चुनावमा भाग लिए । चुनावी मैदानमा उनलाई एमालेका जिल्ला अध्यक्ष तथा पूर्वमेयर महेश बस्नेतले हराइदिए । बस्नेतले २५ हजार ७५३ मत ल्याएर विजयी हुँदा खनालले २३ हजार ८९ मत पाए । आफ्नै पूर्वजिल्ला नेतासँगको पराजय खनालले स्वीकार गरेका छैनन् । निर्वाचनमा धाँधली भएको, आफूलाई हराउन निर्वाचन आयोगका कर्मचारीहरूसमेत मिलेको उनले गम्भीर आरोप लगाएका छन् । पुनः मतदानको माग दाबीसहित खनालले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।

अघिल्लो निर्वाचनमा खनाल ३८ हजार ८०५ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भुपेन्द्र कट्टेलले १९ हजार ६३८ मत पाएका थिए । उनको मतान्तर १७ हजार १६७ रहेको छ ।

नेकपा एसका सम्मानित नेतासमेत रहेका खनाल २०६७ माघमा प्रधानमन्त्री भएका थिए । माओवादीको समर्थनमा प्रधानमन्त्री भएपछि पार्टीभित्र खनाल र ओलीबीच सम्बन्ध निकै चिसिएको थियो । पार्टीभित्र असहयोगका कारण उनले ६ महिनामै पदबाट राजीनामा दिएका थिए। खनालले इलाम–१ बाट २०५६ को बाहेक २०४८, ०५१, ०६४, ०७० र ०७४ को सबै निर्वाचन जितेका छन् । अन्तिमपटक निर्वाचनमा भाग लिएको बताएका खनालले गठबन्धनको सहयोग र एमाले भित्रबाट नै सहानुभूति मत पाउने विश्वास लिएका थिए ।