NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

सिञ्जा गाउँपालिकाद्वारा घरमै पुगेर स्वास्थ्य सेवा

जुम्ला । जुम्लाको सिञ्जा गाउँपालिकाले पालिकाभित्रका ज्येष्ठ नागरिक, गर्भवती र सुत्केरीको घरमै पुगेर स्वास्थ्योपचार सेवा दिने गरेको छ ।

यहाँका ज्येष्ठ नागरिक र शारीरिकरूपमा कमजोर बनेका व्यक्तिलाई स्वास्थ्य संस्थाको पहुँचमा पु¥याउन निःशुल्क उपचार सेवासहित घरदैलोमै स्वास्थ्य सेवा दिने गरेको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए ।

सिञ्जाका स्थानीयवासीको आवश्यकताका आधारमा सेवा दिने गरिएको छ । अध्यक्ष धितालले भने, “ज्येष्ठ नागरिकका लागि र गर्भवती र सुत्केरी भइसकेकालाई प्रत्येक महिनामा घरदैलोमार्फत निःशुल्क स्वाथ्य सेवा दिइने कार्यक्रमको थालनी भएको छ ।” गर्भवती, ज्येष्ठ नागरिक र दमका बिरामीका लागि गाउँ केन्द्रित सेवा दिन गरेको सिञ्जाका अध्यक्ष धितालले जानकारी दिए ।

स्वास्थ्य संस्थाको पहुँचभन्दा टाढा रहेका नागरिकलाई प्राथमिकतामा राखी सेवा दिने गरिएको सिञ्जा गाउँपालिका स्वाथ्य शाखाका प्रमुख ललितजङ्ग रोकायाले बताए ।

स्थानीय सरकारले हिउँदयाममा स्वास्थ्य सेवा गाउँमै दिन थालेपछि यहाँका ज्येष्ठ नागरिक, गर्भवती र सुत्केरीलाई निकै राहत पुगेको छ । यो समयमा यहाँ अत्यधिक जाडो हुने गरेको छ । उपचार गर्ने स्वास्थ्य संस्थामा जान पनि ज्येष्ठ नागरिकलाई सकस हुन्छ । पालिकाका स्वास्थ्यकर्मीसहितको टोलीले गाउँमै सेवा दिँदा सिञ्जाका स्थानीयवासीलाई राहत मिलेको स्थानीयवासी लीला रावतले बताए ।