बागलुङमा मकै, सुन्तला र तरकारी खेती प्रवद्र्धन

गलकोट । बागलुङ नगरपालिकाले चालू आर्थिक वर्षमा निश्चित खेतीलाई मात्र प्रवद्र्धन गर्ने कार्यक्रम ल्याएको छ । कृषिका धेरै क्षेत्रमा बजेट विनियोजन गर्दा उपलब्धि हासिल नभएको भन्दै यस वर्ष ससर्त अनुदानमा आएको रु २० लाखमा बागलुङ नगरपालिका–९ तित्याङमा सुन्तला र बेमौसमी तरकारी खेती प्रवद्र्धन गर्न थालिएको छ ।
वडास्तरी कृषि समिति, समूह र व्यक्तिगत फार्ममार्फत चालू आर्थिक वर्षमा रु ३० लाखमा मकैबाली, सुन्तला र तरकारी खेती प्रवद्र्धन गर्न थालिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको कृषि शाखा प्रमुख राहुल केसीका अनुसार नगरपालिकाका १४ वटै वडामा मकै प्रवद्र्धनका लागि रु १० लाख खर्च गरिनेछ ।
“तित्याङमा यस वर्ष रु १० लाखको सुन्तला प्रवद्र्धन र रु १० लाखकै तरकारी खेती प्रवद्र्धनका लागि काम गरिनेछ”, उहाँले भन्नुभयो, “यस वर्ष त्यहाँका किसानको सुन्तला बगैँचा व्यवस्थापन, उपचार, नयाँ बगैँचा स्थापना र सुन्तलाको नर्सरी स्थापना गर्ने गरी प्रस्ताव आह्वान गरेका छौँ ।”
पछिल्लो समय नगरपालिकाले उन्नत जातको मकै खेती प्रवद्र्धन गरिरहेको छ । यस वर्ष मकैको बीउदेखि उपकरणलगायत कार्यक्रमका लागि रु १० लाख बजेट विनियोजन गरेको कृषि शाखाले जनाएको छ । नगरपालिकाको सुन्तला, मकै र तरकारी खेती प्रवद्र्धन कार्यक्रममा ५० प्रतिशत र स्थानीय कृषकले ५० प्रतिशत लगानी गर्नुपर्ने प्रावधान रहेको तित्याङका वडाध्यक्ष राजु थापाले बताए ।
“तित्याङमा पछिल्लो समय बगैँचा व्यवस्थापन हुन सकेको छैन”, उनले भने । पछिल्लो समय तित्याङमा सुन्तला खेतीमा विस्तार भइरहेको छ । तित्याङमा तरकारी खेतीका लागि चार हाइटेक टर्नेल र सिँचाइको कार्यक्रमका लागि यस वर्ष रु १० लाख खर्च गरिनेछ ।
सङ्घीय सरकारले तित्याङमा बेमौसमी तरकारी र सुन्तला खेती प्रवद्र्धनमा नगरपालिकामार्फत बजेट विनियोजन गरेको छ ।
ताजा अपडेट
-
खनाल नेतृत्वको आयोगले बझायो अर्थमन्त्रीलाई प्रतिवेदन
-
मन्त्री सहभागी कार्यक्रम छाडेर ऊर्जा सचिव हिँडेपछि…
-
चट्याङ लागेर खोटाङमा दुई महिला गम्भीर घाइते
-
प्रहरीले भन्यो– प्रसाईं पक्राउ परेका छैनन्, भ्रम छर्ने काम नगरौं
-
माओवादी केन्द्र र चिनियाँ कम्युनिस्ट पार्टीले मिलेर तालिम सञ्चालन गर्ने
प्रतिक्रिया