NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

विश्वकप फुटबल फाइनल : गेम एक, दाउ अनेक

काठमाडौं । कतारमा जारी विश्वकप फुटबल २०२२ को आज मैजारो हुँदैछ । कतारको लुसेल रंगशालामा आज हुने फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन फ्रान्स र दुई पटकको विजेता अर्जेन्टिना आमनेसामने हुँदैछन् । खेल नेपाली समयअनुसार राति ८ः४५ बजे सुरु हुनेछ ।

फ्रान्सलाई जिताउने जिम्मेवारी स्टार स्ट्राइकर केलियन एमबाप्पे र ओलिभर जिराउडजस्ता खेलाडीको काँधमा हुनेछ ।

उता, अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी फाइनल खेल आफ्नो पक्षमा पारेर विश्वकपलाई बिदाइ गर्न चाहन्छन् ।

मेस्सीले धेरै वर्षदेखि विश्वकप ट्रफी जित्ने आफ्नो सपनालाई जोगाउँदै आएका छन् । र, यो पटक उनीसँग यो ट्रफी जित्ने अन्तिम मौका छ।

कतारमा जारी विश्वकप फुटबल प्रतियोगिता आज समापन हुँदैछ । अर्जेन्टिना र फ्रान्सका खेलाडी आज उपाधि रक्षाको दौडमा मात्र हुनेछैनन्, केही कीर्तिमान कायम गर्न पनि प्रयासरत रहनेछन्

मेस्सीको अगाडि वर्तमान च्याम्पियन र बलियो टोली फ्रान्स छ, जसलाई हराउन उनका लागि सहज भने हुनेछैन । फ्रान्सले लगातार दोस्रो विश्वकप जित्नका लागि सक्दो प्रयास गर्नेछ भने अर्जेन्टिनाले पनि कुनै कसर बाँकी राख्ने छैन ।

दुवै टोलीबीच एउटा समानता छ । फ्रान्स र अर्जेन्टिना दुवै तेस्रो पटक विश्वकपको उपाधि आफ्नो पोल्टामा पार्न चाहन्छन् ।

अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा उपाधि जितेको थियो भने फ्रान्सले १९९८ र २०१८ मा । अर्जेन्टिनाले ३६ वर्षपछि पहिलो पटक विश्वकपको ट्रफी उचाल्ने मौका पाएको छ । योसँगै फ्रान्स लगातार दोस्रो पटक उपाधि जित्नबाट एक कदम टाढा छ ।

एमबाप्पे र मेस्सीको योजना

दुवै टोलीका प्रशिक्षकको नजरमा आज मेस्सी र एमबाप्पेमाथि पर्नेछ र सकेसम्म गोल गर्नबाट उनीहरूलाई दुवै टिमले रोक्ने भरमग्दुर प्रयास गर्नेछन् । जसको फाइदा आज अन्य खेलाडीले लिन सक्छन् ।

मेस्सीले यसअघि पनि फाइनल खेलेका थिए तर उनको टोली सन् २०१४ मा जर्मनीसँग पराजित भएको थियो । एम्बाप्पे हुँदा फ्रान्सले क्रोएसियालाई हराएर २०१८ को विश्वकप जितेको थियो।

अर्जेन्टिना अनेक अवरोधलाई छिचोल्दै फाइनलको यात्रा तय गर्न सफल भएको छ । यसको पछाडि मेस्सीको बलियो प्रदर्शनलाई कारण मानिएको छ । मेस्सीलाई महान फुटबलर म्याराडोनासँग तुलना गरिन्छ । मेस्सीले जारी विश्वकपमा तीन असिस्टका अतिरिक्त पाँच गोल गरेर आफ्ना फ्यानहरूलाई रोमाञ्चित बनाएका छन् ।