यसरी भाँडियो देउवा–प्रचण्ड समीकरण
काठमाडौं । देउवा–प्रचण्डको सत्ता समीकरण भत्किएपछि ओलीको सहयोगमा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका छन् । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार पाँच दलको बैठकमा देउवाले प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार नभएपछि उनी बैठक छाडेर सिधै ओली निवास गएका थिए ।
प्रचण्ड बालकोट पुग्दा सत्ता ओली राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र रास्वपाका सभापति रवि लामिछानेसँग छलफलमा व्यस्त थिए । अध्यक्ष लिङ्देनले करिब एक घण्टा ओलीसँग परामर्श गरेपछि बाहिरिएका थिए । लिङ्देनपछि प्रचण्डसँग सम्वादमा बसेका ओलीले उनलाई प्रधानमन्त्री बनाउन तयार भए । तर ओली र प्रचण्डबीचको सहमतिले मात्र बहुमत नपुग्ने भएपछि चुनावमा एमालेसँग सहकार्य गरेका राप्रपा र जसपाका शीर्ष नेताहरूलाई उनले बालकोट बोलाए ।
त्यतिबेला प्रचण्डलार्ई प्रधानमन्त्रीमा सर्मथन गर्ने÷नगर्नेबारे राप्रपाको आकस्मिक बैठक धुमबाराहीमा बसिरहेको थियो । बैठकपछि राप्रपाले सरकारलाई समर्थन गर्ने तर तत्काल सरकारमा नजाने निर्णय गरेको ओलीलाई जानकारी गराइयो । त्यतिबेलासम्म जसपाका संघीय परिषद अध्यक्ष अशोक राई ओली निवास प्रवेश गरिसकेका थिए ।
सत्ता समीकरणमा सीके राउत र रेशम चौधरीको नाउपाकोसमेत खोजि भएपछि शीर्ष नेताहरूलाई बालकोट बोलाइएको थियो । प्रचण्डलाई प्रधानमन्त्री बनाउन शीर्ष नेताहरू तयार भएपछि सहमति पत्रमा हस्ताक्षर भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । ओली–प्रचण्डबीच नयाँ समीकरण बनेसँगै देउवासँग प्रचण्डको १७ महिना लामो सहकार्य औपचारिक रूपमा भत्किएको छ भने एमालेसहितको समर्थनमा प्रचण्ड तेस्रेपटक प्रधानमन्त्री बन्न सफल भए । प्रचण्डलाई एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, जपा र नाउपासहित १६६ जनाको समर्थन रहेको छ ।
कसरी भत्कियो सत्ता गठबन्धन ?
स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेससँग सहकार्य गरेका प्रचण्डले निर्वाचनअघि नै प्रधानमन्त्री दाबी गरेका थिए । भागबण्डको विषयले गठबन्धन नै टुट्ने अवस्था आएपछि आलोपालो सरकार बनाउन देउवा र प्रचण्डबीच भद्र सहमति भएको प्रचण्डको जिकिर गर्दै आएका थिए ।
निर्वाचनअघि उनको बुझाइ सत्ता गठबन्धनले बहुमत ल्याउने र एमाले सानो आकारमा खुम्चिने र संसदको अंकगणितमा माओवादी तेस्रो निर्णायक शक्तिको रूपमा आउने थियो । तर चुनावी परिणाम प्रचण्डले दाबी गरेकोभन्दा फरक आयो । कांग्रेस ८९ सिटसहित पहिलो दल भयो । माओवादी ३२ सिटसहित सानो आकारमा खुम्चियो । विभाजित एमाले समानुपातिकमा पहिलो दल बन्न सफल भयो । प्रत्यक्षमा ४४ सिटसहित दोस्रो भयो ।
चुनावी परिणाम माओवादीको प्रतिकुल आएपछि अत्तालिएका प्रचण्डले पहिलो चरणमा आफूलाई प्रधानमन्त्री बनाउन एमाले कार्ड प्रयोग गरेर देउवामाथि दबाब बढाए । गठबन्धनकै सहयोगमा प्रधानमन्त्री बन्न चाहेका उनलाई देउवाले महत्व नदिएपछि आफ्ना सहयोगीमार्फत ओलीसँग हिमचिम बढाएका थिए ।
उता पर्ख र हेरको रणनीतिमा रहेका ओलीले उपाध्यक्ष द्वय सुवास नेम्वाङ, विष्णु पौडेल, महासचिव शंकर पोखरल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लगायतलाई विश्वास पात्रमार्फत प्रचण्डसँग सहकार्य गर्न खुमलटार पठाएका थिए । गठबन्धनकै सहयोगमा प्रधानमन्त्री बन्न चाहेका उनले उपयुक्त समयमा निर्णय लिने सन्देश ओलीलाई पठाए । तर माओवादीभित्रै उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मालगायत नेताहरूले एमालेसँग सहकार्य गर्न उनीमाथि निरन्त दबाब बढाएका थिए ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन आयोगले चुनावी परिणामको अन्तिम प्रतिवेदन बुझाएको आधार पेश गर्दै प्रधानमन्त्री चयनका लागि दलहरूलाई सात दिनको समयसीमा दिइन् ।
समयसीमा घर्किँदै लाग्दासमेत गठबन्धनबाट को प्रधानमन्त्री बन्ने भन्नेमा टुंगो नलागेपछि निर्णायक वार्ताका लागि प्रधानमन्त्री देउवाले आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा निर्णायक बैठक राखेका थिए । बिहान बसेको बैठकमा कांग्रेसबाट प्रधानमन्त्रीसमेत रहेका सभापति देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, नेता ज्ञानेन्द्रबहादुर कार्कीलगायत सहभागी थिए । माओवादीबाट अध्यक्ष प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन लगायत नेताहरू सहभागी थिए । नेकपा एसबाट अध्यक्ष माधव नेपाल, झलनाथ खनाल, महासचिव बेदुराम भुसाल सहभागी थिए ।
प्रधानमन्त्री, राष्ट्रपति लगायत पद आफैले राख्न खोजेपछि प्रचण्ड देउवासँग रिसाएका सहभागी एक नेताले बताए ।
‘देउवालाई प्रधानमन्त्री बनाउन आफूले सहयोग गरेकाले योपटक आफूले दाबी नछाड्ने प्रचण्डले अडान लिएका थिए । तर पावर शेयरिङमा कांग्रेस शीर्ष नेताहरू तयार नभएपछि उनी बैठक नै छाडेर हिडे’, ती नेताले भने । बालुवाटर बैठक भाँडिनुमा सभापति देउवा नै दोषि भएको काँग्रेस केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीको आरोप छ ।
‘प्रधानमन्त्री देउवाको दम्भ र वरिपरिकाका गुटका कारण सत्तासमीकरण भत्कियो । यसको जस स्वयम प्रधानमन्त्रीले नै लिनुपर्छ । गठबन्धनको बैठकमा महामन्त्रीलाईसमेत राख्न चाहनु भएन । गठबन्धन नभत्किए के हुन्छ ?’, नेता केसीले देउवामाथि प्रश्न उठाए ।
सत्र महिनाअघि ओलीविरुद्ध कांग्रेससँग सहकार्य गरेका प्रचण्डले ओलीकै प्रस्तावमा प्रचण्ड प्रधानमन्त्री भएपछि कांग्रेसले संघदेखि सातवटै सरकार गुमाएको छ ।
ताजा अपडेट
-
प्रधानमन्त्री भन्छन्- मलाई पनि राजदूत बन्न मन छ, पीएमको नम्बर दिनुस् न
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन


प्रतिक्रिया