प्रचण्डलाई समर्थन गर्ने निर्णयले रविको पार्टीमा असन्तुष्टि
काठमाडौं । प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने पछिल्लो कदमलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा असन्तुष्टि देखापर्न थालेको छ ।
आइतबार राजनीतिमा आएको नाटकीय परिवर्तनमा भूमिका खेल्दै रास्वपाका सभापति रवि लामिछानेले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए । जसलाई लिएर रास्वपामा विस्तारै असन्तुष्टिहरू बाहिर आउन थालेका छन् ।
सो पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले आफ्नो दल पनि सत्ता स्वार्थमा लागेको भन्दै पार्टीसमक्ष लिखित फरक मत प्रस्तुत गरेका छन् ।
चुनावमा ‘हामी अलग छौं, अलग रहनेछौं र अलग गर्नेछौं’ भनेर मत मागे पनि अहिले आएर सत्ताप्रति आशक्ति देखाइएको उनको आरोप छ ।
‘आम नागरिकहरुको निराश मनस्थितिमा हामी अलग छौं, अलग रहनेछौं र अलग गर्नेछौं भनेर मत मागेका थियौं,’ पार्टी सभापति र संसदीय दलको नेतालाई बोधार्थ दिएर पार्टी सचिवलाई लेखिएको असहमति पत्रमा भनिएको छ, ‘चुनावको परणाम आउँदै गर्दा हतारमा हामी पनि उनीहरूजस्तै छौं भन्न आफ्नै कान आफैंले चिर्न थाल्यौं ?,’ उनले प्रश्न गरेका छन्, ‘हामी हुनु र नहुनुले सरकार निर्माणमा केही असर नपुग्ने अवस्थामा पनि प्रचण्डभन्दा पहिले बालकोट पुग्ने हतारो किन गर्यौं ?’
सरकारमा जानेबारे पार्टीमा छलफल हुनुपर्नेमा त्यसो नगरिएको उनको भनाइ छ । सरकारमा जानेजस्तो विषय आफूले सञ्चारमाध्यमबाट मात्र थाहा पाएको उनले बताए ।
रास्वपाले आफ्नो चुनावी बाचापत्रमा विभिन्न भ्रष्टाचार काण्डका फाइल खोल्ने प्रतिबद्धता जाहेर गरेको थियो । कार्कीले अब यी काण्ड के हुन्छन् भनेर प्रश्नसमेत गरेका छन् ।
‘हाम्रो वाचापत्रमा नै फाइल खोल्ने भनेर लेखिएका मुद्दाहरू ललितानिवास सरकारी जग्गा किनबेच काण्ड, वाइड बडी विमान खरिद काण्ड, कोभिड भ्याक्सिन खरिद काण्ड, यति र ओम्नी काण्ड, प्रिन्ट्रिङ प्रेस खरिदको ७० करोड रूपैयाँलगायतका काडहरू अब के हुन्छन् ?,’ कार्कीले प्रश्न गरेका छन्, ‘हामीले दस्तावेजमा गरेको गत ५ वर्षको राजनीतिक समीक्षा केबल मतदातालाई झुक्याउने प्रपञ्च थियो कि के थियो ?’
गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने र संवैधानिक परिषद् खारेज गर्ने मुद्दाबारे पनि उनले प्रश्न गरेका छन् । रास्वपाले चुनावअघि राष्ट्रपति गैरराजनीतिक व्यक्तिलाई बनाउनुपर्ने र संवैधानिक परिषद् खारेज गर्नुपर्ने मत राखेको थियो । कार्कीको प्रश्न छ– हाम्रो पार्टीको चरित्र हिजो हामीले नै आलोचना गरेका पार्टीहरूभन्दा भिन्न के भयो ?’

ताजा अपडेट
-
प्रधानमन्त्री भन्छन्- मलाई पनि राजदूत बन्न मन छ, पीएमको नम्बर दिनुस् न
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन


प्रतिक्रिया