NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ साउन ८ गते

विकल्प बन्दै जैविक मल ‘कमल झोल’

झापा । झापाको कमल गाउँपालिका कार्यालयको दक्षिण तर्फको गेटबाट सिटी सफारीमा एक हूल किसान पानी राख्ने भाँडो लिएर सोझै कार्यालय परिसर प्रवेश गरे । आफनो खेतबारीबाट सोझै गाउँपालिका कार्यालय प्रवेश गरेका उनीहरुले कृषि प्राविधिक प्रेम पोखरेललाई अभिवादन गर्दै सोधे, ‘मल पाइन्छ कि पाइँदैन ?’ किसानको जिज्ञासा सुनेपछि प्राविधिक पोखरेलले पनि सहजै जवाफ दिए, ‘किन नपाउनु ? जत्ति पाइन्छ ।’

किसानको प्रतिनिधित्व गर्दै कमल ३ केरखाकी गीता ढकालले सोधे, ‘कति सम्म लान पाइन्छ ? किसानले मलको मूल्य सोधे कसरी पर्छ नि ?’ पोखरेलले जवाफ फर्काए, ‘पैसा पर्दैन, निःशुल्क पाइन्छ ।’ किसान खुसीले गदगद भए ।

हिउँदे खेती लगाउने चटारोमा रहेका किसान मल लिन गाउँपालिका आउँदा हातमा भने प्लास्टिकका ड्रम, जर्किन, जग लिएका देखिन्थे । किसानले मल भन्ने वित्तिकै सबै ठाउँमा यतिबेला डिएपी, युरिया जस्ता रासायनिक मल खोजेको अनुमान गर्न सकिन्छ तर कमलमा आएको किसानको यो समूह डिएपी, युरिया जस्ता रासायनिक मलको माग लिएर आएको थिएन । उनीहरु आफनो बारीमा लगाउने रासायनिक मलको विकल्पमा गाउँपालिकाभित्रै बनेको जैविक मलको प्रयोग गरेर कृषि उत्पादन बढाउन चाहन्छन् ।

गाउँपालिकाले तयार गरेको यस्तो मल तरल (झोल) प्रकृतिको छ । गाउँपालिका कार्यालयको दक्षिण तर्फको गेट प्रवेश गर्ने वित्तिकै १५, २० थान प्लास्टिकका ठूला ड्रम हमेसा यहाँ उत्पादित कमल झोल मलले भरिएका हुन्छन् । यो सखर र ‘वेस्ट डिकम्पोजर’ को समिश्रणबाट तयार गरिएको झोल मलको ब्राण्डिङसमेत भइसकेको छ । यहाँ झोल मल मात्रै हैन, कमल युरिया, कमल प्राङ्गारिक, कमल जिबामृतलगायत सात प्रकारका मल बनाउने गरिएको छ ।

प्रदेश एकका किसानलाई लक्षित गरेर सरकारले स्थापना गरेको कृषि अनुसन्धान केन्द्र तरहराले समेत गाउँपालिकाका कृषि प्राविधिकले तयार गरेको यो कमल झोललाई गुणस्तरीय जैविक मलका रुपमा प्रमाणित गरिसकेको छ । केही समय अघि आफनो तोरीबालीमा यही झोल मल हालेर खेती सप्रिएपछि पुनः मकै खेतीमा लगाउन झोल मल लिन आएका कमल २ क्याम्पा नजिकैका किसान विष्णु अधिकारीले यहाँको कमल झोल मल लाभदायक रहेको अनुभव आफूले गरेको सुनाउछन् । अधिकारीले भने, ‘मैले तोरीमा यो मल लगाएपछि लाइ लागे जस्तो कीराले खान थालेको पनि एकाएक हराएको देखें । यो मलले उत्पादनसमेत बढाएको छ ।’

गाउँपालिकाका कृषि शाखा प्रमुख महेन्द्र बोहोरा झोल मलमा किसानको आकर्षण बढेको बताउछन् । उनका अनुसार गत आर्थिक वर्षमा एक लाख लिटर झोल मल किसानले आफनो खेतबारीमा प्रयोग गरेका छन् । अहिले पनि दिनहुँ २०, ३० जना किसान झोल मल लिन आउने गर्छन् । चालु आर्थिक वर्षको पाँच महिनामा ४० हजार लिटर हाराहारीमा यो मल खपत भइसकेको छ ।

कृषि शाखाले कमलका सात वटै वडाका किसानलाई लक्षित गरी पालिकाको कार्यालयसँगै कमल ६ को वडा कार्यालयबाट आवश्यकता अनुसार झोल मल वितरण गरिआएको छ । गाउँपालिकाले विषादीरहित कृषि उपज उत्पादन गर्ने लक्ष्य राखेर क्रमशः खेतबारीमा रासायनिक मलको प्रयोग घटाउँदै जाने नीति लिएर स्थानीयस्तरमानै जैविक मल उत्पादन गर्ने कार्यक्रमनै अघि सारेको छ । त्यसका लागि पालिकाले रु पाँच लाखको बजेट विनियोजन गरेको छ । कोरोना सुरु हुने वित्तिकै दुई वर्ष अघि बजारमा रासायनिक मलको हाहाकार मच्चिएपछि त झनै किसान पनि सहजै रासायनिक मललाई विस्थापन गर्न तयार भए । किसानको साथ सहयोग पनि रह्यो ।

गाउँपालिकाले किसानलाई मलमा आत्मनिर्भर बनाउने उपाय खोज्दै जाँदा जैविक मल (कमल झोल) विकल्प बन्दै गएको हो । तीन वर्ष अघिदेखि सुरु भएको मल उत्पादन गर्ने उपयुक्त योजनालाई पछिल्लो पटक चुनिएका जनप्रतिनिधिले पनि महत्वसाथ निरन्तरता दिँदै आएका छन् । त्यसो त गाउँपालिकाले चालु आर्थिक वर्षदेखि किसानसँग अध्यक्ष कार्यक्रमनै ल्याएर कृषिमा आधुनिकीकरणसँगै व्यवसायिकरणको प्रयास पनि गरिरहेको छ ।

गाउँपालिका अध्यक्ष हुकुमसिंह राई भन्छिन्,’कृषि पेसा एउटा सम्मानित पेसा हो भन्ने अनूभूति गाउँपालिकावासीलाई दिलाउने गरिएका कार्यक्रम ल्याएका छौँ ।’ सधैँ मलको हाहाकार र अभाव झेलिरहनु परेको तितो यथार्थलाई गाउँपालिकाले नजिकैबाट बुझेको र कृषिसँग सम्बन्धित पुराना राम्रा कार्यक्रमलाई निरन्तरता दिँदै रणनीतिक रुपमा कृषिलाई सम्बोधन गर्ने खालका नयाँ कार्यक्रम समावेश गर्ने योजना रहेको अध्यक्ष राईको भनाइ छ ।