NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

करारका कर्मचारी हटाउँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले त्यहाँ कार्यरत केही अस्थायी कर्मचारी हटाउने निर्णय गरेको छ ।

मन्त्रालयले कम्पुटर अपरेटरका रूपमा कार्यरत ६ जना कर्मचारीलाई हटाएर स्थायी कर्मचारी भर्ना गर्ने निर्णय गरेको हो ।

निष्कासनमा पर्ने कर्मचारीहरूमा कुमार भुजेल, पुजा पोखरेल, सोभा पोखरेल, प्रह्लाद अधिकारी, रोशन ठाकुर र सलिना श्रेष्ठ रहेका छन् । कम्पुटर अपरेटरकै भूमिकामा रहेका अर्का अस्थायी कर्मचारी मधुसुदन खत्रीलाई भने मन्त्रालयले नहटाउने भएको छ । मन्त्रालयभित्र उनी बेरुजु हेर्ने करारका कर्मचारी हुन् । सोही भूमिका निर्वाह गर्ने अन्य ६ जनालाई हटाउने निर्णय हुँदा उनी भने जोगिएको स्रोते बतायो ।

मन्त्रालयले ६ जना अस्थायी कर्मचारीको ठाउँमा स्थायी कर्मचारी भर्नाको माग गर्दै प्रक्रिया अघि बढाइसकेको उनले जानकारी दिए । स्थायी रूपमा आवश्यक कर्मचारी परिपूर्तीका लागि माग गर्दै लोक सेवा आयोगमा पत्र पठाइसकेको हो ।

पछिल्लो समय अधिकांश मन्त्रालय तथा सरकारी निकायले कम्पुटर अपरेटर पदमा रहेका अस्थायी कर्मचारीलाई हटाएर स्थायी कर्मचारी नै माग गर्न थालेका छन् । मन्त्रालयका एक अधिकारीका अनुसार कर्मचारी भर्तीमा राजनीतिकरण बढी हुँदा अस्थायीलाई हटाउन भनिएको हो।

‘उक्त पदमा अस्थायी कर्मचारी राख्दा कार्यालयप्रति जिम्मेवार भएनन्,’ उनले भने, ‘त्यसमाथि विभिन्न राजनीतिक आडमा भर्ती हुने हुँदा पार्टी फेरबदलले त्यसमा पनि स्वतः असर पार्ने भयो । त्यसैले स्थायी कर्मचारीकै काग सुरू भएको हो ।’

(यसअघि समाचारमा भूलवश समाज कल्याण परिषद् हुन गएकोमा त्यसलाई सच्याइएको छ । यसबाट पाठकवर्गमा पर्न गएको असुविधाप्रति क्षमाप्राथी छौं ।)