कर्णाली सरकारद्वारा करिब १२ लाख कित्ता सेयर खरिद
कर्णाली । कर्णाली प्रदेश सरकारले हिमाली जिल्ला डोल्पामा निर्माण हुने अर्धजलाशययुक्त जगदुल्ला जलविद्युत् आयोजनाको ११ लाख ७१ हजार पाँच सय कित्ता शेयर खरिद गरेको छ ।
प्रदेश सरकारले आयोजनाको पाँच प्रतिशत शेयर खरिद गरेको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई बिहीबार आयोजनाका प्रमुख सञ्जय सापकोटाले ११ लाख ७१ हजार पाँच सय कित्ता शेयरको प्रमाणपत्र हस्तान्तरण गरे । शेयर प्रमाणपत्र ग्रहण गर्दै मुख्यमन्त्री शाहीले जलविद्युत्को प्रचुर धनी कर्णालीको डोल्पामा निर्माण हुने उक्त आयोजनाले यहाँको समृद्धि र विकासमा ठूलो सहयोग पुग्ने बताए ।
‘गत साउनमै प्रदेश सरकारले आयोजनाको पाँच प्रतिशत कित्ता शेयर खरिद गर्ने निर्णय गरेको थियो,’ उनले भने, ‘शेयर खरिदले आयोजना निर्माणमा प्रदेश सरकारको अपनत्व बढेको छ ।’ प्रदेश सरकारले प्रतिशेयर रु एक सयका दरले रु ११ करोड ७१ लाख ५० हजार शेयरबापतको रकम जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडलाई उपलब्ध गराइसकेको मुख्यमन्त्री शाहीले जनाए ।
प्रदेश सरकारले करिब रु ३६ करोड रकम खर्चनु परेको भन्दै त्यसबाट आउने राजस्वले कर्णालीको जनताको विकासमा सहयोग पुग्ने बताए । उनले भने, ‘आयोजनाले प्रतिदिन एक करोड आम्दानी गर्ने देखिन्छ भने त्यसबाट प्रतिदिन हामीले पाँच प्रतिशतका दर पाँच लाख रु मासिक रुपमा रु एक करोड ५० लाख कमाउँछौँ ।’ शेयरमा भएको लगानी प्रदेश सरकारको आम्दानीको दीर्घकालीन स्रोत हुने उनको भनाइ छ ।
आयोजना प्रमुख सापकोटाले कर्णाली प्रदेश सरकारले खरिद गरेको शेयरले सरकार र आयोजना दुवैलाई प्रतिफल मिल्ने बताए । आयोजनाको विद्युत्गृह मुड्केचुला गाउँपालिका-४, इलमा निर्माण हुने तथा जगदुल्ला गाउँपालिका–१ र २ मा बाँध निर्माण हुने अध्ययनले देखाएको छ ।
काम सुरु गरेको करिब ६ वर्षभित्र पूरा गर्ने लक्ष्य लिइएको आयोजनाको करिब ७ दशमलव १ किलोमिटर भूमिगत सुरुङ निर्माण गरी इलस्थित विद्युत्गृहमा खसालिने छ । आयोजनामा अनुमानित रु १९ अर्ब ९० करोड लगानी हुनेछ भने भने आयोजनाले एक सय ६ मेगावाट विद्युत् उत्पादन गर्नेछ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया