NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ९ गते

राष्ट्रपति निर्वाचनमा सत्तापक्ष भारी मतले अगाडि : कसको कति मतभार ?

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन फागुनको तेस्रो साता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सोमबार आयोगका पदाधिकारीले छलफल गरी २२ वा २३ फागुनमा राष्ट्रपतिको निर्वाचन गर्ने तयारी रहेको जानकारी गराएका छन् ।

प्रधानमन्त्री प्रचण्डले आयोगले उपयुक्त ठानेको समयमा चुनाव गर्न सरकार आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्न तयार रहेको बताएका थिए । सरकारको परामर्शमा फागुन तेस्रो साता राष्ट्रपति चुनाव गराउने आयोगको तयारी छ ।

यसको १५ दिनभित्र उपराष्ट्रपतिको चुनाव गराउने व्यवस्थाअनुसार फागुनभित्रै निर्वाचन सकिने गरी तयारीमा जुटेको प्रवक्त शालीग्राम शर्मा पौडेलले जानकारी दिए । आयोगको दाबी अनुसार फागुनभित्रै देशले नयाँ राष्ट्रपति र उपराष्ट्रपति पाउँनेछ ।

राष्ट्रपतिमा एमाले र कांग्रेसबाट क–कसको दाबी ?

देशकै सर्वोच्च पद राष्ट्रपतिमा सत्ता गठबन्धनबाट एमालेले दाबी गरेको छ । सत्ता सहयात्री दल माओवादी केन्द्रले कार्यकारी प्रधानमन्त्री लिएपछि राष्ट्रपतिमा एमालेले दाबी गरेको हो । उपराष्ट्रपतिमा माओवादी केन्द्र र जसपाले दाबी गरेको छ । सत्ता घटक राप्रपा संवैधानिक राजतन्त्रको पक्षमा रहेकाले उपराष्ट्रपतिमा दाबी गरेको छैन । रास्वपाले उपसभामुखमा दाबी गरेको छ । राष्ट्रपतिमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, संविधानसभा अध्यक्षसमेत रहेका उपाध्यक्ष सुवास नेम्वाङ, बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र उपाध्यक्ष युवराज ज्ञवाली र अनुशासन आयोगका पूर्वअध्यक्ष अमृतकुमार बोहराको चर्चा छ ।

शालिनता, संसदीय अनुभव, कानुनमा राम्रो दख्खल र जनजाति पृष्ठभूमि भएकाले राष्ट्रपतिमा नेम्बाङको सम्भावना बलियो देखिन्छ । अध्यक्ष ओलीका विश्वास पात्र र काम गराउन सजिलो भएकाले पनि नेम्बाङको सम्भावना बलियो रहेको एमालेकै नेताहरूले बताएका छन् । तर वरिष्ठ राजनीतिक कार्यकुशलताका हिसाबले पोखरेललाई राष्ट्रपति बनाउनुपर्ने माग पनि एमालेभित्र उठेको छ । उनी गएको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौ–५ बाट पराजित भएका थिए ।

यसैगरी एमालेको १० औं महाधिवेशनमा लोकप्रिय मत ल्याएकी उपाध्यक्ष शाक्य राष्ट्रपतिका लागि योग्य भएपनि पूर्वमाधव समूहका नेता भएकाले राष्ट्रपतिमा उनको सम्भावना कम देखिन्छ ।

संविधान बमोजिम एक व्यक्ति दुई कार्यकालभन्दा बढी उठ्न नपाइने भएकाले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी योपटक विदा हुँदैछिन् । भण्डारीको सात वर्ष लामो कार्यकाल भने विवादै विवादमा मुछियो । आलंकारिक राष्ट्रपति भएपनि यसप्रति विस्तारै दलहरूको आकर्षण बढ्न थालेको छ । राजसंस्था हटेपछि संविधान अनुसार राष्ट्रपतिले नै राष्ट्राध्यक्षको भूमिका निर्वाह गर्नेछ ।

यसैगरी राष्ट्रपतिमा प्रमुख विपक्षी दल कांग्रेसबाट रामचन्द्र पौडेलको चर्चा चलेपनि गठबन्धन भत्किएपछि उनी उठ्ने÷नउठ्ने बारे केही बताएका छैनन् । निर्वाचनअघि देउवा नेतृत्वको वाम–लोकतान्त्रिक गठबन्धन बनाउन कांग्रेसबाट पौडेलले मूख्य भूमिका खेलेका थिए । निर्वाचनपछि पहिलो चरणमा प्रचण्डलाई प्रधानमन्त्री बनाएर राष्ट्रपति बन्ने दाउमा रहेका उनी गठबन्धन तोडिएपछि निराश भएका छन् । गठबन्धन भत्किएपछि उनी अहिले कांग्रेससहितको राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्नेमा जोड दिएका छन् ।

यसरी चुनिने छ राष्ट्रपति र उपराष्ट्रपति

नेपालको संविधान बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन संघीय संसद र प्रदेशसभा सदस्य मतदाता रहेको निर्वाचन मण्डलबाट हुनेछ । संघीय संसद भन्नाले राष्ट्रिय सभा र प्रतिनिधि सभा पर्छन् । यी दुई सभाका एक जना सांसदले हालेको भोट ७९ बराबर मत भार हुन्छ । प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिकबाट निर्वाचित ११० गरी २७५ जना सांसद छन् । राष्ट्रिय सभामा ७ प्रदेशबाट निर्वाचित ८–८ जना र मनोनित ३ जना गरी ५९ जना सदस्य हुन्छन् । तीमध्ये अहिले ५८ जना सदस्य छन् । यसरी संघीय संसदमा ३३३ जनाले राष्ट्रपति र उपराष्ट्रपतिका लागि भोट हाल्न पाउँछन् । जसको कुल मतभार २६ हजार ३०७ भोट बराबर हुन्छ ।

प्रदेश सांसदले हालेको एक भोट ४८ बराबर मतभार हुन्छ । सातवटै प्रदेश सभामा ५५० सदस्य हुन्छन् । उनीहरूको मतभार २६ हजार ४०० बराबर हुन्छ । यी दुई सदनको कुल मतभार जोड्दा ५२ हजार ७०७ मत हुनेछ ।

जम्मा खसेको मतको बहुमत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने छ । निर्वाचत मण्डलका कुनै पनि सिट खाली नभएको अवस्थामा निर्वाचित हुन कम्तीमा २६ हजार ३९३ मत ल्याउनुपर्ने छ । तर राष्ट्रिय सभामा एक सिट रिक्त रहेकाले निर्वाचित हुन कम्तीमा २६ हजार ३५४ मत ल्याउनुपर्ने छ । कुनै पनि उम्मेदवारले यति मत प्राप्त नगरे सबैभन्दा धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुने छ र बहुमत प्राप्त गर्ने उम्मेदवार निर्वाचित हुने छ । उपराष्ट्रपति निर्वाचनमा पनि यहि प्रक्रिया अपनाइन्छ । संसदको पहिलो बैठक बसेको एक महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

कसको मतभार कति ?

सत्ता गठबन्धन जता भयो उतै बहुमत पुग्ने हुँदा राष्ट्रपति र उपराष्ट्रपति पनि सत्ता पक्षले जित्ने सम्भावना बलियो हुन्छ । अहिले संघीय संसदको अंकगणित हेर्दा एमाले–माओवादी गठबन्धन नै भारी मतले अगाडि रहेका छन् ।

सत्ता गठबन्धनमा एमाले, मओवादी, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीसहित तीन स्वतन्त्र सांसद रहेका छन् । सातवटै प्रदेशमा पनि सत्ता गठबन्धनको बहुमत रहेको छ । यद्यपी सात दलको सहयोगमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ मा विश्वासको मत लिने तयारी गरेकाले प्रतिनिधिसभाबाट बहुमत परिक्षण हुन बाँकी छ ।

पुस १० मा प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गर्न दलहरूले राष्ट्रपति कार्यालयमा बुझाएको हस्ताक्षर हेर्दा प्रतिनिधिसभामा सत्तागठबन्धनको सिट संख्या १६९ रहेको छ । जसमा एमालेको ७९, माओवादी केन्द्रको ३२, रास्वपाको २०, राप्रपाको १४, जसपाको १२, जपाको ६ र नाउपाको ३ र तीन जना स्वतन्त्र गरी जम्मा १६९ जना सांसदले प्रचण्ड सरकारलाई समर्थन गरेका छन् । प्रतिनिधिसभाका सत्ता पक्षका सबै सांसदले राष्ट्रपतिको उम्मेदवारलाई मतदान गरेमा १६९ सिट संख्यालाई ७९ ले गुणन गर्दा १३३५१ मतभार हुनेछ ।

यसैगरी राष्ट्रिय सभामा एमालेको १५, माओवादीको १५, जसपाको ३ र मनोनित ३ जना गरी जम्मा ३६ ससदस्य सत्तापक्षमा छन् । यीनको कुल मतभार २८४४ हुनेछ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको गरी सत्तापक्षको कुल मतभार १६१९५ हुन्छ ।

यसैगरी सात प्रदेशमा प्रत्यक्ष र समानुपातिक गरी सत्तापक्षमा ३२० सदस्य रहेका छन् । जसमा एमालेको १६१, माओवादीको ८३, राप्रपाको २८, जसपाको २०, जपाको १६ सदस्य छन् । प्रदेशसभाको मतभार ४८ हुनेछ । सत्तापक्षको कुल सिट संख्यालाई ४८ मतभारले गुणन गर्दा सत्तापक्षको जम्मा १५३६० मतभार हुन्छ । अब संघीय संसद र प्रदेश सभाको कुल मतभार जोड्दा सत्तापक्षको ३१५५५ मत हुन्छ ।

त्यस्तै विपक्षी गठबन्धनमा कांग्रेसको ८९, नेकपा एसको १०, लोसपाको ४, नेमकिपाको १, राजमोको १ स्वतन्त्र १ सांसद गरी १०६ सांसद रहेका छन् । नेमकिपाका सांसदले दुवै पक्षका उम्मेदवारलाई मतदान गर्ने सम्भावना छैन । यदि एकीकृत र लोसपाले पनि कांग्रेसका उम्मेदवारलाई साथ दिए ८२९५ मतभार विपक्षीको हुनेछ ।

विपक्षी कांग्रेसको १०, एकीकृत समाजवादीको ९, लोसपाको १ र राजमोको १ जना गरी जम्मा २१ सदस्य छन् । यहाँ विपक्षी गठबन्धनको जम्मा मतभार १६५९ रहेको छ । दुवै सदनको मतभार जोड्दा विपक्षी गठबन्धनमा ९९५४ मतभार रहेको छ ।

प्रदेश सभामा विपक्षमा कांग्रेसको १७५, नेकपा एसको २५ लोसापको १२ गरी जम्मा २१२ सदस्य छन् । यीनिहरूको कुल मतभार १०१७६ हुन्छ। संघीय प्रतिनिधिसभा र प्रदेशसभाको कुल मतभार जोड्दा विपक्षीको २०१३० हुन्छ ।

अन्यको संघीय संसदमा एक सिट र प्रदेशसभामा १८ सिट रहेको छ । यहाँ अन्यको संघीय संसदमा ७९ र प्रदेशमा ८६४ गरी कुल ९४३ मतभार छ । माथिको तथ्याङ्क अनुसार गठबन्धन ३१५५५ मतभारसहित भारी मतले अगाडि रहेकोे छ । विपक्षीसँगको मतान्तर ११४२५ रहेको छ ।