ब्राजिलको संसदमा आक्रमण, राष्ट्रपतिनिवास र सर्वोच्च अदालत पनि घेरियो
काठमाडौं । दक्षिणपन्थी नेता जैर बोल्सोनारोका हजारौं समर्थकले आइतबार ब्राजिलको संसदमा आक्रमण गरेका छन् । आक्रोसित ती समर्थकले सर्वोच्च अदालत र राष्ट्रपति निवासलाई समेत घेरा हालेका छन् ।
ब्राजिलको फुटबल टिमको जर्सी लगाएका हजारौं प्रदर्शनकारी हातमा झण्डा लिएर संसदमा प्रवेश गरेका थिए । केही व्यक्तिहरू चाहिँ सभामुखको मञ्चमा चढेर प्रदर्शन गरिरहेका देखिए। सार्वजनिक भिडियोमा केही प्रदर्शनकारीहरूले संसदको छतमा चढेर झ्यालका सिसा तोडेको देख्न सकिन्छ ।
भीषण झडपपछि प्रहरीले आइतबार साँझसम्म राजधानी ब्रासिलियाका महत्वपूर्ण भवनहरू आफ्नो नियन्त्रणमा लिएको छ ।
राष्ट्रपति लुला दा सिल्भाले यसलाई ‘फासिस्ट आक्रमण’ भनेका छन् ।
ब्राजिलमा आइतवार भएको हिंसापछि जनवरी ६, २०२१ मा अमेरिकी क्यापिटल भवनमा भएको यस्तै झडपको सम्झना जनताको मनमा ताजा भएको छ । त्यसबेला डोनाल्ड ट्रम्पका समर्थकहरूले क्यापिटल भवनमा आक्रमण गरेका थिए ।
अमेरिकी राष्ट्रपति जो बाइडेन, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलगायत धेरै ठूला व्यक्तित्वले हिंसाको निन्दा गरेका छन् ।
गत हप्ता मात्रै ब्राजिलको राष्ट्रपतिको रुपमा सपथ ग्रहण गरेका लुला दा सिल्भाले पूर्वराष्ट्रपतिका समर्थकहरूलाई कडा कारबाही गर्ने वाचा गरेका छन् ।
यसअघि लुला दा सिल्भाले ट्विट गर्दै भनेका थिए, ‘हामी सरकार गठनमा व्यस्त छौं । आइतबार उनीहरूले हाम्रो यही व्यस्तताको फाइदा उठाए । पूर्व राष्ट्रपतिका धेरै भाषणहरूले यसो गर्न उक्साइरहेको तपाईंहरूलाई थाहा नै छ।’
देशका न्याय मन्त्री फ्लाभियो डिनोले स्थानीय मिडियासँग कुराकानी गर्दै अहिलेसम्म घटनामा संलग्न २०० जना पक्राउ परेको जानकारी दिएका छन् ।
बोल्सोनारोले गत वर्ष अक्टोबरमा भएको निर्वाचनको नतिजा स्वीकार गर्न निरन्तर आनाकानी गर्दै आएका छन् । उनी गत हप्ता लुला दा सिल्भाको सपथ ग्रहण समारोहमा पनि सहभागी भएनन् ।
तर, ६७ वर्षीय बोल्सोनारोले जिम्मेवारीबाट टाढिँदै हिंसाको निन्दा गरेका छन् । बोल्सोनारो हाल अमेरिकामा छन्।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया