६५ करोड ठगी प्रकरणः पृथ्वीबहादुरकी पूर्व कर्मचारी पनि पक्राउ
काठमाडौं । अमेरिकामा ठगी गरेको रकम बैंकिङ माध्यमबाट नेपालमा ल्याएको आरोपमा थप एक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले विनिता तामाङलाई पक्राउ गरेको हो ।
उनी ठगी समूहका नाइके अछामका पृथ्वीबहादुर शाहकी पूर्व कर्मचारी हुन् ।
ठगीमा संलग्न एक कम्पनी तामाङको नाममा देखिएपछि उनलाई पनि पक्राउ गरिएको सिआइबी स्रोत बताउँछ । नेपालमा विभिन्न कम्पनी खडा गरी शाहले ती कम्पनीको नाममा उनले ठगीको पैसा ल्याएको सिआइबीले जनाएको छ ।
गत शुक्रबार उनीसहित ६ जनालाई सिआइबीले पक्राउ गरेको थियो । जसमा उनका भाइ विजय बिक्रम शाह, चक्रबहादुर खत्री, अनुप खड्का, रुकमांगत काफ्ले र रंगबहादुर साउद छन् ।
उनीहरुविरुद्ध अमेरिकी नागरिकले समेत काठमाडौंस्थित अमेरिकी दूतावासमार्फत उजुरी गरेको सिआइबीका निर्देशक एआइजी उत्तमराज सुवेदीले बताए । पक्राउ परेका उपर ठगी र संगठित अपराध मुद्दामा अनुसन्धान भइरहेको छ ।
शाहको कम्पनी हन्टिङ रिजर्भ अफ नेपालको नाममा यस्तो शंकास्पद रकमको कारोबार देखिएको प्रहरीले जनाएको छ । सो कम्पनीको नामको खातामा ४६ लाख ४६ हजार सात सय ३७ अमेरिकी डलर, १२ हजार ८ सय २५ पाउन्ड स्टर्लिङ र तीन करोड २२ लाख २८ हजार रुपैयाँ ६ सय ८० रुपैयाँ स्वीफ्टमार्फत आफ्नो खातामा ल्याइ निकालेका थिए ।
अमेरिकी नागरिकहरुलाई कम्प्युटर तथा ल्यापटपमा एन्टिभाइरस अपडेट गर्नुपर्ने भन्दै भ्रममा पारी उनीहरुको बैंक खाताबाट चोरिएको रकम यसरी शाह र उनका साझेदारहरुको कम्पनीको खातामा ट्रान्सफर गरिएको थियो ।
केही रकम भने निकाल्न उनी सफल भएका थिए । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि यो प्रकरणमा छानबिन गर्दै आएको छ ।


प्रतिक्रिया