NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

कुरा होइन, काम गरेर देखाउँछौं : मुख्यमन्त्री अधिकारी

दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले वर्तमान सरकारले कुराभन्दा काम गरेर देखाउने बताएका छन् ।

नेकपा (एमाले) व्यास नगर कमिटीले आज दमौलीमा आयोजना गरेको सम्मान कार्यक्रममा मुख्यमन्त्री अधिकारीले धेरै कुरा गर्ने तर काम नगर्ने प्रवृत्ति हावी भएको भन्दै आफूहरु काममा केन्द्रित हुने उल्लेख गरे । विकास नहुनुको मुख्य जड कुरा बढी गर्ने प्रवृत्ति रहेको भन्दै उनले भने, ‘अहिलेको सरकारले कामबाटै जनताको विश्वासलाई पूरा गरेर देखाउनेछ ।’ मुख्यमन्त्री अधिकारीले जनताले कुरा गर्ने नेतालाई पत्याउन छाडेको बताए ।

गण्डकी प्रदेश सरकारले केही दिनमै पूर्णता पाउने भन्दै मुख्यमन्त्री अधिकारीले सानो आकारको मन्त्रिमण्डल बनाइने प्रष्ट पारे । ‘ठूलो आकारको सरकार बनाउने पक्षमा हामी छैनौँ, सानो र चुस्त आकारको मन्त्रिमण्डल बनाउँछौँ’, उनले भने ।

नेकपा (एमाले) स्थायी कमिटी सदस्य रहेका अधिकारीले चौतर्फी घेराबन्दी हुँदा पनि पार्टीले सफलता हासिल गरेको बताए । विकास निर्माणमा सरकारको स्रोतसाधनले भ्याएसम्मका काम गरिने बताउँदै मुख्यमन्त्री अधिकारीले भने ‘पार्टीलाई एकताबद्ध भएर अगाडि बढाऔँ, एमाले लोकप्रिय पार्टी हो ।

कार्यक्रममा नेकपा (एमाले) जिल्ला कमिटी अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, गण्डकी प्रदेशसभा सदस्य श्यामराजा महत, एमाले केन्द्रीय सल्लाहकार सदस्य एकबहादुर रानालगायतको उपस्थिति थियो ।