NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असोज २६ गते

यसरी चुनिने छन् राष्ट्रपति र उपराष्ट्रपति

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फागुन तेस्रो साता गर्ने तयारी गरेपछि उम्मेदवार छनोटका लागि दलहरू आन्तरिक तयारीमा जुटेका छन् । देशको सर्वोच्च पद राष्ट्रपति राष्ट्राध्यक्षसमेत हुने भएकाले आ–आफ्ना पक्षमा पार्न सत्तारुढ दल एमाले र प्रतिपक्षी दल कांग्रेसले आन्तरिक छलफलमा तीब्रता दिएका हुन् ।

सरकार प्रमुखको हैसियतले सत्तापक्ष र प्रतिपक्ष दुवैलाई मान्य हुनेगरी प्रधानमन्त्री प्रचण्डले आफूलाई समर्थन गर्ने १० दलको बैठक यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा राखिसकेका छन् । संविधान बमोजिम राष्ट्रपति आलांकारिक पद भएपनि देशकै उच्च पद भएकाले दलहरूले ध्यान राष्ट्रपति निर्वाचनमा केन्द्रीत रहेको छ ।

संघीय सांसद र प्रदेशसभा सदस्य मण्डलबाट निर्वाचित हुने राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन संघीय कानुन बमोजिम निर्वाचन आयोगले गर्ने प्रावधान रहेको छ । नेपालको संविधान बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन संघीय संसद र प्रदेशसभा सदस्य मतदाता रहेको निर्वाचन मण्डलबाट हुनेछ । संघीय संसद भन्नाले राष्ट्रियसभा र प्रतिनिधिसभा पर्छन् ।

यी दुई सभाका एक जना सांसदले हालेको भोट ७९ बराबर मतभार हुन्छ । प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिकबाट निर्वाचित ११० गरी २७५ जना सांसद छन् । राष्ट्रियसभामा ७ प्रदेशबाट निर्वाचित ८–८ जना र मनोनित ३ जना गरी ५९ जना सदस्य हुन्छन् । तीमध्ये अहिले ५८ जना सदस्य छन् । यसरी संघीय संसदमा ३३३ जनाले राष्ट्रपति र उपराष्ट्रपतिका लागि भोट हाल्न पाउँछन् ।

जसको कुल मतभार २६ हजार ३०७ भोट बराबर हुन्छ । प्रदेश सांसदले हालेको एक भोट ४८ बराबर मतभार हुन्छ । सातवटै प्रदेश सभामा ५५० सदस्य हुन्छन् । उनीहरूको मतभार २६ हजार ४०० बराबर हुन्छ । यी दुई सदनको कुल मतभार जोड्दा ५२ हजार ७०७ मत हुनेछ । जम्मा खसेको मतको बहुमत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने छ ।

निर्वाचत मण्डलका कुनै पनि सिट खाली नभएको अवस्थामा निर्वाचित हुन कम्तीमा २६ हजार ३९३ मत ल्याउनुपर्ने छ । तर राष्ट्रिय सभामा एक सिट रिक्त रहेकाले निर्वाचित हुन कम्तीमा २६ हजार ३५४ मत ल्याउनुपर्ने छ । कुनै पनि उम्मेदवारले यति मत प्राप्त नगरे सबैभन्दा धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुने छ र बहुमत प्राप्त गर्ने उम्मेदवार निर्वाचित हुने छ । उपराष्ट्रपति निर्वाचनमा पनि यहि प्रक्रिया अपनाइन्छ ।