बिक्री नभएपछि कृषकले सुन्तलाका बिरुवा उखेलेर फाल्न थाले
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फगामका कृषकले बिक्री नभएपछि सुन्तलाका बिरुवा उखेलेर फाल्न थालेका छन् । फगामको सुन्तलाको बिरुवाका लागि स्रोत केन्द्र भए पनि बिक्री नभएपछि नर्सरीका बिरुवा उखेलेर तरकारी लगाउन थालिएको कृषक जोखबहादुर विक बताउछन् ।
‘गत वर्ष पाँच हजार बिरुवा उखेलेर फालेको थिएँ,’ उनी भन्छन्, ‘यसपालि हुर्किएका १० हजार बिरुवाले पनि बजार नपाएपछि उखेलेर टनेल हालेर गोलभेँडा लगाउने तयारी गरेको छु ।’ सोही स्थानकी डिलकुमारीले पुन पनि बिक्री हुन छाडेपछि सुन्तलाका बिरुवा उत्पादन गर्न छोडेका छन् ।
करिब पाँच रोपनी जमिनमा सुन्तलाको नर्सरी बनाएका उनी छिमेकीलाई जग्गा भाडामा दिएर तातोपानी बजारमा झरेकी छिन् । दुई वर्ष उमेरका सुन्तलाका बिरुवा रोप्न योग्य हुन्छन् । दुई वर्ष नाघेका बिरुवा बिक्री नभएपछि उखेलेर फाल्नुको विकल्प नभएको अर्का कृषक नारायण पुर्जा गुनासो गर्छन् ।
‘त्यसै लैजाओभन्दा पनि कोही आएनन्,’ उनी भन्छन् ‘सस्तो भनेर बाहिरबाट रोगी बिरुवा ल्याएर कृषकलाई बाड्दा रोग फैलिएको छ । जिल्ला भित्रै उत्पादन भएको स्वस्थ र हावापानी अनुकुलका बिरुवा नबिकेर फाल्नुपर्ने अवस्था आयो ।’ पुर्जासँग ११ हजार सुन्तलाका बिरुवा छन् ।
बजार बिस्तार हुन नसकेका कारण बिरुवा नबिकेको स्थानीय कृषक दुर्गादत्त सुवेदीको भनाइ छ । वडासदस्य समेत रहेका उनका अनुसार फगाममा उत्पादन भएका मध्ये करिब एक लाख सुन्तलाका बिरुवा बिक्री भएका छैनन् । केही वर्षअघिसम्म सुन्तलाको बिरुवाको माग अत्याधिक थियो ।
नयाँ नर्सरी बढेपनि बजार विस्तार हुन नसक्दा बिरुवा बिक्री नभएको हो । मेहनत गरेर नर्सरीमा हुर्काइएका बिरुवा बिक्री गर्न नसक्दा कृषक तनावमा छन् । नौ र १० नम्बर वडाका ४ वटा फार्ममा टिमुरका ५० हजार र वडा नम्बर ३ मा दुई लाख तीस हजार रोप्नका लागि योग्य सुन्तलाका बिरुवाले बजार नपाएको प्रशंसा बहुउद्देश्यीय नर्सरीका सञ्चालक सागर बानिया बताउछन् ।
‘जिल्लामा उत्पादन भएका बिरुवाले गण्डकी प्रदेशलाई पुग्न सक्छ,’ उनी भन्छन् ‘स्थानीय तहले जिल्लाकै उत्पादनलाई प्राथमिकता दिने कृषकमुखी नीति बनाउन नसके कृषक पलायन हुने अवस्था आउँछ ।’
जिल्लाका स्थानीय तहहरुले गत वर्ष करिब पचास हजार सुन्तलाका बिरुवा बितरण गरेका थिए । बाहिरी जिल्लाबाट ल्याइने बिरुवा सस्तो भएपनि हावापानी नमिलेर मर्ने र रोगकिरा भित्रने गरेको कृषकहरु बताउँछन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बेनीस्थित सुन्तला जोन कार्यालयका कृषि अधिकृत बिक्रम बस्याल कृषकहरुलाई सङ्गठित बनाएर बजारको खोजी गर्नुपर्ने देखिएको उल्लेख गर्छन् ।
ताजा अपडेट
-
आर्थिक वर्ष सकिन एक महिना रहँदा विकास खर्च केवल ३२.५३ प्रतिशत
-
बंगलादेशतर्फ फेरि ४० मेगावाट विद्युत् निर्यात सुरु, ५ महिनामा साढे १ अर्ब आम्दानी हुने
-
मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब १३ करोडको बजेट
-
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
-
अब सपना पूरा गर्न विदेश नै जानुपर्ने बाध्यताको अन्त्य बजेटले गरेको छः अर्थमन्त्री वाग्ले


प्रतिक्रिया