श्रेष्ठलाई निर्वाचित घोषणा गर्न सकिने समय गुज्रिसक्यो–आयोग
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट हार व्यहोरेका कांग्रेस उम्मेदवार उमेश श्रेष्ठलाई निर्वाचित घोषणा गर्न सकिने समय गुज्रिसकेको निर्वाचन आयोगले बताएको छ ।
उक्त क्षेत्रबाट निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापित रवि लामिछानेको सांसद पद बदर भएसँगै श्रेष्ठले आफूलाई निर्वाचित घोषणा गर्ने माग गर्दै आयोगमा निवेदन दिएका हुन् ।
तर, आयोगले लामिछानेलाई निर्वाचित घोषणा गरिसकेपछिमात्रै सवोच्च अदालतको फैसला आएको हुँदा अब श्रेष्ठलाई निर्वाचित घोषणा गर्न सकिने अवस्था नभएको आयोगका सह प्रवक्ता सूर्य प्रसाद अर्यालले बताए ।
‘अहिले उक्त निर्वाचन क्षेत्र सदस्य रिक्त रहेको अवस्थामा हो । यो अवस्थामा आयोगसँग भएको विकल्प उपनिर्वाचन नै हो । सर्वोच्च अदालतको पूर्णपाठ आइसकेपछि आयोगले राजपत्रमा प्रकाशन गर्छ,’ उनले भने, ‘संसद सचिवालयले उनको सांसद पद रिक्त भएकोबारे पत्र पठाउनै बाँकी छ । यत्ति प्रक्रिया पूरा भएपछि संघ, प्रदेश र स्थानीय तहका सबै रिक्त भएका स्थानको अध्ययन गरेर आयोगले सबै ठाउँमा निर्वाचन घोषणा गर्छ ।’
जहाँसम्म श्रेष्ठले दिएको निवेदनको विषय छ, यसबारे निर्वाचन कानुनमा कुनै पनि व्यवस्था नभएको उनको भनाई छ ।
रविले ४९ हजार ३०० मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार श्रेष्ठले जम्मा १४ हजार ९८८ मत पाएका थिए । श्रेष्ठलाई उनले ३४ हजार ३१२ मतको फराकिलो अंकले पराजित गरेका थिए । योपटक श्रेष्ठलाई माओवादीले समेत साथ दिएको थियो ।
यसअघि लगातार तीन पटक निर्वाचित हुँदै आएका एमालेका प्रभावशाली उम्मेदवार कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत पाए ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया