NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

३९ किमि सडकको गाडीभाडा १२००

हुम्लाको सल्लीसल्लादेखि ताजाँकोट गाउँपालिकाको कबाडीसम्म सडकको दूरी ३९ किलोमिटर मात्र छ । तर, यो सडकमा यात्रा गर्दा एक हजार दुई सय रुपैयाँसम्म भाडा बुझाउनुपर्छ । यात्रुसँग चर्को भाडा असुल्ने यिनै यातायात व्यवसायीकै सहमतिमा १६ फागुन ०७८ मा जिल्ला प्रशासन कार्यालयले तीन सय १३ रुपैयाँ भाडादर निर्धारण गरेको थियो । निर्धारित दरभन्दा व्यवसायीले यात्रुसँग उठाउँदै आएको भाडा झन्डै चार गुणाले बढी हो ।

गत साता सुर्खेत झर्ने क्रममा चंखेली गाउँपालिका– ३ का धनमान ऐरीले सल्लीसल्लादेखि कबाडीसम्म जिपमा यात्रा गर्दा एक हजार दुई सय भाडा तिरेको बताए । ‘सल्लीसल्लादेखि कबाडीसम्म जिपले एक हजार दुई सय भाडा लियो । कबाडी पुलबाट अर्को जिप बदलेर बाजुराको धुलाचौरसम्म १३ किमि यात्रा गर्दा पाँच सय तिर्नुपर्‍यो,’ उनले भने ।

१६ फागुन ०७८ मा हुम्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी सीता परियारको अध्यक्षतामा जिल्लाका सरोकारवाला निकाय र यातायात व्यवसायीसमेतको बैठकले अस्थायी रुट परमिट र जिल्लाभित्रका सडकखण्डको भाडादर निर्धारण गरेको थियो । तर, उक्त भाडादर कार्यान्वयन भएको छैन ।

सर्केगाड गाउँपालिका केन्द्रदेखि चंखेली गाउँपालिकाको सल्लीसल्लासम्म १० किमि कच्ची सडकको भाडादर ८० रुपैयाँ तोकिएकोमा व्यवसायीले पाँच सय असुल्दै आएका छन् । त्यस्तै, सर्केगाड– १ को खच्चादेखि भुज्माधारासम्म पाँच किमि कच्ची सडकमा ४० रुपैयाँ भाडा तोकिएकोमा व्यवसायीले तीन सयसम्म लिने गरेका छन् । अदानचुली गाउँपालिकाको गल्फागाडदेखि श्रीनगर बजारसम्म १० किमिको ८० रुपैयाँ भाडा निर्धारण भएकोमा व्यवसायीले दुई सय असुल्दै छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।