NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० फागुन १४ गते

लेखनाथको जनयुद्ध स्मरण – जेल बसेर निस्कँदा ८२ हजार कमाएँ

काठमाडौं । माओवादी केन्द्रभित्र अध्ययनशील र जुझारू नेताका रूपमा स्थापित नाम हो लेखनाथ न्यौपाने । २०३० चैत २८ हर्मी–९, गोरखामा जन्मिएका उनी २०४९ बाट पूर्णकालीन राजनीतिकमा होमिएका थिए । त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरबाट शिक्षाशास्त्रमा स्नातकोत्तर गरेका न्यौपाने अखिल विद्यार्थी क्रान्तिकारीको अध्यक्षका रूपमा २०६० को असारदेखि ०६७ मंसिरसम्म क्रान्तिकारीको अध्यक्ष रहे ।

उनी अध्यक्ष रहुन्जेल संगठन चलायमान थियाे भने विद्यार्थी राजनीतिमा उनको हस्तक्षेप जबर्जस्त स्थापित भएको थियो । ०६७ सालमा पार्टीले उनलाई नै क्रान्तिकारीको नेतृत्वमा निरन्तरता चाहे पनि नेतृत्व हस्तान्तरण हुनुपर्ने अडान राख्दै उनी नेतृत्वबाट बाहिरिएका थिए ।
नेतृत्वमाथि सधैं खबरदारी गरिरहने न्यौपाने २०६९ सालमा पार्टी विभाजन भएपश्चात् बैद्य माओवादीमा लागेका थिए । २०७४ को निर्वाचनमा रामबहादुर थापा बादलसहित उनी पुनः माओवादीमा फर्किए । न्यौपाने पार्टीभित्र र बाहिर युवामाझ निकै लोकप्रिय भएपनि उनले अहिलेसम्म कुनै कार्यकारी भूमिका पाएका छैनन् ।

लेखनाथ न्यौपानेले विद्यार्थी जीवनमा भोगेका १४ रोचक घटनाहरू उनकै शब्दमा

१. म विद्यार्थीको कार्यालय सचिव हुँदा हितमान शाक्या अध्यक्ष हुनुहुन्थ्यो । संगठनको काम गर्नुपर्ने भएकाले कोठामा गएर खाना पकाएर खाने फुर्सद हुने थिएन । त्यहि कारण हामी अधिकांश छाक मःम खाएर टाथ्र्यौं । त्यतिखेर एक प्लेट मःमलाई चार/पाँच रुपैयाँ पर्थ्याे तर कयौं दिन त्यही मम खान नपाएर पनि भोकभोकै काम गरेका छौँ । दिन त याद भएन, संगठनको मशाल जुलुसका कार्यक्रमहरू बढी हुन्थ्यो, नेतृत्वमा भएपछि त्यो काम पनि आफैंले गर्नुपर्ने हुन्थ्यो । तर पैसाको अभावमा खाजा/खाना केही पनि नखाइ भोक–भोकै मशाल जुलुस निकाल्दाका दिनहरू सम्झँदा अहिले कथाजस्तो लाग्छ ।

२.  २०५४ सालको अन्त्यतिर गिरफ्तार हुँदा म विद्यार्थी संगठनको केन्द्रीय कोषाध्यक्ष थिएँ । त्यसपछि लगातार चार बर्ष जेल बसें । त्यतिखेर मेरो गोजीमा ५ रुपैयाँ मात्र थियो । चारबर्ष जेल बसेर बाहिर निस्कदा मैले २ बर्ष अरबमा बसेर एउटा युवाले कमाउन सक्ने बराबरको पैसा लिएर निस्कें । जेलमा मैले ढाकाको टोपी, पर्स र ढाकाको चोलो बुन्थें । त्यही काम गरेवापत मैले त्यो पैसा कमाएको थिएँ । २०५८ सालको कुरा हो, जेलबाट निस्कदा मसँग ८२ हजार रुपैयाँ थियो । मैले त्यो पैसा जेलभित्र रहँदा लेखेको ‘प्रतिबन्धित कलम’ भन्ने पुस्तक प्रकाशनमा खर्च गरें ।

३. पहिलो वार्ताकालमा म जेलबाट छुटेपछि विद्यार्थी भाइहरूले बागबजारको एउटा खाजा घरमा लगेर खाजा खुवाए । ४/५ जनाले खाएको खाजाको बिल २१/२२ सय रूपैयाँ निस्क्यो । गिरफ्तार हुँदा मेरा गोजीमा जम्मा पाँच रूपैयाँमात्र थियो । चार वर्षपछि जेलबाट निस्कदाँ संगठनभित्रको आर्थिक अवस्था, खाजा खाने तरिकामा देखिएको संस्कारगत विकास देखेर म अचम्मीत र दुःखी भएँ । विद्यार्थी संगठनको केन्द्रीय कोषाध्यक्ष हुँदा समेत मैले त्यति पैसा देखेको थिइन ।

४. ०५१ सालमा म ताहचल क्याम्पसमा हाम्रो संगठनबाट स्ववियु सभापतिको उम्मेदवार भएँ । एमाले विद्यार्थी संगठनबाट बिशाल भट्टराई उठेका थिए । मसँग एक जोर राम्रो सर्ट पाइन्ट पनि थिएन । तर विशाल सुट पाइन्ट लगाएर आउँथे । पछि हितमान शाक्यले विद्यार्थीको सभापति हुने भनेपछि भोट माग्न प-यो, सबैको अगाडि जान प-यो, एक जोर राम्रो सर्ट पाइन्ट त लगाउनु पर्छ भनेर सर्ट पाइन्ट किनेर सिलाएर लगाउन दिएको मलाई अहिले पनि झलझली याद आउँछ ।

५ . यसअघि सम्पन्न स्ववीयु निर्वाचनको तयारीको लागि म इञ्जिनियरिङ्गका साथीहरुसँग छलफलमा बसेको थिएँ । ती विद्यार्थी साथीहरू निजी क्याम्पसमा पढ्ने त्रिवि अनर्तगतका थिए । हामी त माओवादीभित्र पनि क्रान्तिकारी भन्नेहरू थियौं । त्यो संगठनका साथीहरुले होटलमा बसाउने र रक्सी खाने पैसा दिने शर्तमा मात्रै भोट माग्न सक्छौँ नत्र सक्दैनौँ भने । विद्यार्थी राजनीतिमा सुधारका लागि लडें तर समस्या ज्यूँ का त्यूँ देखे । यसले मलाई निकै दुःखी बनायो । हाम्रो संगठनमा त यस्तो रहेछ अरूमा कस्तो होला ?

६. क्याम्पस पढ्न चाहिने कलम, कापी, पुस्तक तथा प्रयोगात्मक सामाग्री किन्नु मेरो लागि फलामको चिउरा जस्तो हुन थाल्यो । कोठामा खाने चामल र तरकारीको निकै समस्या हुन्थ्यो । कयौं छाक खाना रातोदालसँग मात्र पनि खाएँ भने कयौं दिन त भोकभोकै पनि सुतें । पछि म ट्युसन पढाएर पैसा जम्मा गर्थें र आवश्यकता पूरा गर्थें ।

७. ताहचल क्याम्पसमा गोरखाकै एकजना दाईले होस्टल चलाउनु भएको थियो । घरमा भात खान पैसा नभएपछि मैले लगातार निकै समयमा भात खाएँ । तर पैसा तिर्न सकिन । उहाँले माग्ने तर म तिर्न नसक्ने भएपछि लाजले म पछि त्यतातिर जानै नसक्ने स्थिती बन्यो । गरिबीले मानिसलाई बाध्यतामा पुर्याउने र बेइमानी बनाउँदो रहेछ । अहिले त्यो साथीसँग भेटघाट हुन्छ र सम्बन्धमा पनि हार्दिकता छ । तर मैले अझसम्म त्यतिखेर भात खाएको पैसा तिरेको छैन ।

८. २०५८ सम्म पैसाको अभावमा साथीहरूले किनिदिने आधा–आधा किलो चामल लगेर भात खान्थें । पछि पैसा भयो तर संकटकालको कारण चामल किनेर भात पकाएर खाने स्थिती बनेन ।

९. एकपटक बर्खामा लगाउन प्लाष्टिकको जुत्ता किन्न भनेर कृष्णध्वज र म असन गयौँ । हामीलाई दुई जोर चाहिएको, एक जोरको ६५ रूपैयाँ भन्यो । कृष्णध्वज दाईले ६० रुपैयाँ भनेर बर्गेनिङ्ग गर्नुभयो । ६५ र ६० मा विवाद भएपछि ६२ का दलले जुत्ता किनियो । यसरी सामान किन्दा २/३ रूपैयाँ जोगाउने र त्यसरी बचेको पैसाले खाजा खानुपर्ने स्थिती पनि बन्यो ।

१०. क्याम्पस पढ्दा खाना र लुगामा भन्दा पनि म पुस्तकमा बढी खर्च गर्थें । २०४६ सालतिरको कुरा हो, रसिया विघटन भएपछि रसियन दूतावास वरिपरि किताब फ्यालेको छ रे, किताब पाइन्छ रे भन्ने हल्ला आयो । त्यसपछि म बोरा लिएर गएँ । केहि किताब पनि भेटें । तर २०५२ सालको चैत्रमा नै म पक्राउ परें । त्यतिखेर पुलिसले मसँग भएका सबै किताब लगिदियो ।

११. धनबहादुर बस्नेत भन्ने साथी हुनुहुन्थ्यो । उहाँ र म काठमाडौँमा सँगै बस्ने भनेर आएका थियौं । इञ्जिनियरिङ्ग पढ्न पैसाले नसकिने भएपछि मैले कानुन पढ्ने निर्णय गरें र मेरो नाम एक नम्बरमा पनि निस्कियो । धनबहादुरले मिनभवनमा कमर्श पढ्ने निर्णय गर्नुभयो । हामी पहिले मिनभवनमा धनबहादुरको भर्ना गर्ने र त्यहाँबाट आएर ल क्याम्पसमा मेरो भर्ना गर्ने भनेर मिनभवन जादैँ थियौ । माइतघरमा ओर्लेर चना/रोटी खाएपछि ट्रलीबस चढेर मिनभवन जादै थियौं । भाडा दिनेबेलामा यसो गोजी हेरेको, ३६ सय रूपैयाँ सबै चोरी भइसकेको रहेछ । हामी निकै आत्तियौं र हामी दुवै भर्ना हुन सकेनौं । पछि थप ऋण गरेर एक महिनापछि भर्ना भयौं ।

१२. गाउँका दाइहरू च्यासल बस्थे । म त्यहीं गएर खाना खान्थें । राती पाटनमा खाना खाएर एकजना साथीसँग म हिँड्दै बालाजुमा एउटा साथीकोमा सुत्न जान्थें । त्यतिखेर मेरो कोठा पनि थिएन, पैसा पनि थिएन । पाटनमा काम गर्ने दाइले खाना दिनुहुन्थ्यो तर बस्ने व्यवस्था थिएन । त्यसले गर्दा पाटन ढोकामा खाना खाएर बालाजु सुत्न जानुपर्ने बाध्यता थियो ।

१३. ताहचल पढ्दाको कुरा हो, पार्टीको निर्देशन र संगठनको आफ्नै योजना अनुसार पटक–पटक मशाल जुलुस निकालीरहनु पर्ने हुन्थ्यो । मशाल जुलुस निकाल्न लाठी चाहिने तर किन्नका लागि पैसा हुँदैन थियो । धेरै पटक कहिले क्याम्पसलाई आग्रह गरेर, कहिले बल मिचाँइ गरेर क्याम्पस हाताभित्र रहेको लहरे पिपलको हाँगा काटेर हामी मशाल जुलुस निकाल्थ्यौं । संगठनका लागि हामी यसरी काम गथ्र्यौं । यस घटना कहिलेकाहीं रोमाञ्चक लाग्छ भने यसरी अगाडि ल्याएको आन्दोलनले एक प्रकारले धोका खाँदा मन अमिलो हुन्छ ।

१४. अहिलेजस्तो कार्यकर्ताले मञ्च बनाइदिएपछि नेताले भाषण गर्ने, नेता फर्कने/ कार्यकर्ता मञ्च व्यवस्थापन गर्ने अवस्था पहिले थिएन । म आफैं प्रमुख अथिती हुन्थें, आफैं माइक बोकेर जान्थें । बेन्च ल्याएर आफैं मञ्च बनाउथ्यौं । माइक जोड्थ्यौं, भाषण गर्थ्याैं र फेरी त्यहि माइक बोकेर कार्यालय फर्कन्थ्र्यौँ । यसरी संगठनको काम गर्थ्याैं।

 

ताजा अपडेट

नेपालवाच विशेष