NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

कुशलको शतकको सहयोगमा नेपालद्वारा नामिबिया पराजित

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–दुई को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत घरेलु मैदानमा आज भएको पहिलो खेलमा नेपाल नामिबियालाई दुई विकेटले पराजित गर्दै विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले नेपाललाई जितका लागि २८६ रनको विशाल लक्ष्य दिएको थियो । जवाफमा नेपालले ४७ दशमलव ४ ओभरमा आठ विकेट गुमाएर पूरा ग-यो । नेपालको जितमा कुशल भुर्तेल नायक बने । उनले सर्वाधिक ११५ रनको योगदान दिए । ११३ बल खेल्दै उनले दश चौका र चार छक्काको मद्दतमा ११५ रनको योगदान दिएका हुन ।

भुर्तेलले एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा पहिलो पटक शतक प्रहार गरे । यसअघि एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा उनले सर्वाधिक ८४ रन बनाएका थिए । त्यसैगरी कप्तान रोहित पौडेलले ७२ रन बनाए भने सन्दीप जोराले २८, ज्ञानेन्द्र मल्ले २५, करण केसीले २०, कुशल मल्लले ६ तथा सोमपाल कामीले ४ रन जोडे । बलिङतर्फ नामिबियाका रुवेन ट्रम्पेलम्यान र जान निकोलले समान तीन/तीन विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २८५ रनको योगफल बनाएको थियो । नामिबियाका लागि माइकल भ्यान लिङ्गेनले सानदार शतक प्रहार गरे । १३७ बल खेल्दै उनले पाँच छक्का र नौ चौकाको मद्दतमा १३३ रनको योगदान दिए ।

त्यसैगरी नामिबियाका कप्तान गेर्हार्ड इरास्मसले ५६ जोडे । जेन ग्रिनले ३४ रन बनाए भने जान फ्रिलिंकले १३ रन जोडे । बलिङतर्फ नेपालका लागि करण केसी एक्लैले ५ विकेट लिए भने सन्दीप लामिछानेले ३ विकेट झारे । कुशल मल्ल र सोमपाल कामीले समान १/१ विकेट लिए । यसजितसँगै नेपालले २५ खेलमा २० अङ्क जोडेको छ । उक्त सिरिजअन्तर्गत अब नेपालले यही फागुन ५ गते स्कटल्याण्डसँग खेल्नेछ ।