NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

चामल उपभोग गर्ने उपभोक्ता बढे

ताप्लेजुङ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङबाट चामल उपभोग गर्ने उपभोक्ता बढेका छन् । बजारमा चामलको मूल्य वृद्धि, ग्रामीण क्षेत्रसम्म सडकको पहुँच पुगेको लगायतका कारण उक्त कम्पनीबाट चामल लिने उपभोक्ता बढेका हुन् । पछिल्लो केही महिनायता हरेक महिनामा एक सय ५० क्विन्टलको हाराहारीमा चामल बिक्री हुँदै आएको कम्पनीले जनाएको छ ।

यस्तै, चामलको मूल्य समायोजन गरेर घटाएकाले पनि उपभोक्ता बढेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङका निमित्त प्रमुख गोपाल राईले बताए । कम्पनीले गएको पुस २० गतेदेखि बासमती चामलको मूल्य प्रतिकिलो रु नौले घटाएको छ । प्रतिकिलो रु एक सय १४ मा बिक्री हुँदै आएको उक्त चामल अहिले रु एक सय पाँचमा पाइन्छ ।

यस्तै सोना चामल प्रतिकिलो रु ४७ र जिरामसिना रु ७० का दरले पाइन्छ । बजारमा चामलको मूल्य वृद्धि भएकाले र गाउँगाउँसम्म सडकको पहुँच पुगेकाले पनि उपभोक्ताहरु बढ्दै गएको प्रमुख राईको भनाइ छ ।

विगत वर्षमा यहाँको चामल न्यून मात्रामा बिक्री हुन्थ्यो । बजार क्षेत्र र नजिकका गाउँका मानिसले मात्रै उपभोग गर्ने यहाँको चामल अहिले गाउँ–गाउँसम्म पुग्न थालेको छ । बजारमा अन्य काम विशेषले आएकाले पनि चामल लिएर फर्किने गरेको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार टाढाबाट आएकालाई कारण नखुलाई १० बोरासम्म दिने गरिएको छ भने सोभन्दा बढी लिनेले कारण खुलाई वडाको सिफारिससमेत लिएर आउनुपर्ने हुन्छ । दसैँ, तिहार जस्ता चाडपर्वमा छुट गर्दै आएको कार्यालयले अन्य समयमा समेत अवस्था हेरी छुट गर्दै आएको छ ।

यस जिल्लामा वार्षिक झन्डै एक हजार क्विन्टलको हाराहारीमा चामल आउँछ । अहिले बिक्री भइरहेको सरदर अवस्थालाई हेर्दा अब थप गर्दै जानुपर्ने अवस्था आउन सक्ने कार्यालयको अनुमान छ । जिल्लाका केही गाउँपालिकाले पनि खाद्य डिपो सञ्चालनका लागि परामर्श लिइरहेको बताइएको छ ।