NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

के हो नेपालगन्ज विमानस्थलमा लागू गरिएको ‘कन्भेयर बेल्ट’ प्रणाली ?

काठमाडौं । नेपालगञ्ज विमानस्थलको आगमन कक्षमा अत्याधुनिक ‘ब्यागेज ह्यान्डलिङ सिस्टम’ अन्तर्गत कन्भेयर बेल्ट’ प्रणाली सञ्चालनमा ल्याइएको छ । विमानस्थलको सेवा सुविधा वृद्धि गरेर यात्रुलाई बढीभन्दा बढी सहज सेवा प्रदान गर्ने उद्देश्यले नेपालगन्ज विमानस्थलमा यो प्रणाली सञ्चालनमा ल्याइएको नागरिक उड्डयन कार्यालय नेपालगञ्जका प्रमुख सुरेश खनालले बताए।

उनका अनुसार अब विभिन्न ठाउँबाट नेपालगञ्ज आउने यात्रुको सामानलाई छिटोछरितो तरिकाले उपलब्ध गराउन सकिनेछ । रु दुई करोड बढीको लागतमा विमानस्थलको आगमन कक्षमा ‘कन्भेयर बेल्ट’ प्रणाली जडान गरिएको हो ।

यसअघि आगमन कक्षमा आएको यात्रुको सामानलाई कर्मचारीले हातले वितरण गर्दा निकै समय लाग्ने र झन्झटिलो समेत रहेको थियो । यो सेवा सञ्चालन भएपछि अब यात्रु र एयरलाइन्स दुवैलाई सामान लिन दिन सहज भएको छ ।

नेपालगञ्ज विमानस्थलको आगमन कक्षमा जडान गरिएको कन्भेयर बेल्टको लम्बाइ ४०.६ मिटर र लगेज हैन्डलिङ क्षमता प्रतिघण्टा दुई हजार चार सयदेखि तीन हजारसम्म रहेको छ ।

नेपालका विभिन्न आन्तरिक विमानस्थलमा यात्रुको सेवा सुविधा अभिवृद्धि गर्ने योजनाअनुरूप पहिलो चरणमा नेपालगञ्ज, विराटनगर र धनगढीमा ब्यागेज ‘ह्यान्डलिङ सिस्टम’अन्तर्गत ‘कन्भेयर बेल्ट’ प्रणाली सञ्चालनमा ल्याइएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।