NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

७ महिनामा नेपालको व्यापारघाटा ८ खर्ब नाघ्यो, ९ खर्बको आयात

काठमाडाैं । चालु आर्थिक वर्ष २०७९/८० को ७ महिनामा नेपालको कूल व्यापार घाटा आठ खर्ब २५ अर्ब ७३ करोड नाँघेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार माघ मसान्तसम्ममा नेपालले कूल १० खर्ब १२ अर्ब ५९ करोड ७६ लाख बराबरको वैदेशिक व्यापार गरेको छ ।

यसमध्ये नौ खर्ब १९ अर्ब १६ करोड ५३ लाख  रूपैयाँ बराबरको वस्तु तथा सेवा आयात हुँदा ९३ अर्ब ४३ करोड २३ लाख रूपैयाँ बराबरको मात्रै निर्यात भएको देखिएको हो ।

यो अवधिमा नेपालले गरेको कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९० दशमलव ७७ प्रतिशत र निर्यातको हिस्सा नौ दशमलव २३ प्रतिशत छ । गत माघ मसान्तसम्म भएको वैदेशिक व्यापारबाट दुई खर्ब १२ अर्ब १२ करोड ७४ लाख रूपैयाँ बराबर भन्सार राजस्व उठेको विभागको तथ्याङ्कबाट देखिन्छ । गत आर्थिक वर्ष २०७८/७९ को अर्धवार्षिक समीक्षा अवधिमा नेपालले गरेको कूल वैदेशिक व्यापारको तुलनामा यसवर्षको सोही अवधिमा गरेको व्यापार २० दशमलव ८४ प्रतिशतले घटेको छ ।

त्यस्तै गतवर्षको तुलनामा आयात १९ दशमलव ९० प्रतिशतले घटेको छ भने निर्यात २९ प्रतिशतले घटेको विभागले जनाएको छ । नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार भारत हो । माघ मसान्तसम्ममा नेपालले भारतबाट पाँच खर्ब ७० अर्ब ९६ करोड ९७ लाख रूपैयाँ बराबरको सामान आयात गरेको छ । यही अवधिमा नेपालबाट भारतमा भएको निर्यात भने ६६ अर्ब २२ करोड ६५ लाख रूपैयाँ बराबर मात्रै छ । ७ महिना अवधिमा चीनबाट एक खर्ब २५ अर्ब पाँच करोड २४ लाख रूपैयाँ बराबरको आयात गरेको छ भने ४२ करोड २६ लाख रूपैयाँ बराबरको मात्रै निर्यात गरेको छ ।

यो अवधिमा नेपालले वैदेशिक व्यापार गरेको तेस्रो ठूलो मुलुक इन्डोनेसिया हो । इन्डोनेसियाबाट ५७ अर्ब ९ करोड ६९ लाख रूपैयाँ बराबरको आयात हुँदा १० करोड ३६ लाख रूपैयाँ बराबर मात्रै निर्यात भएको छ । त्यस्तै, संयुक्त अरब इमिरेट्सबाट २० अर्ब २६ करोड २५ लाख  रूपैयाँ बराबरको सामान आयात हुँदा २५ करोड ८९ लाख रूपैयाँ बराबरको निर्यात भएको छ ।

अर्जेन्टिनासँग १८ अर्ब ५६ करोड ६० लाख रूपैयाँ बराबरको आयात र  १० लाख २० हजार रूपैयाँ बराबर निर्यात कारोबार भएको भन्सार विभागको तथ्याङ्कबाट देखिन्छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्म नेपालले सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात गरेको छ । विभागका अनुसार छ महिनामा  ८४ अर्ब ६१ करोड ६४ लाख बराबर रूपैयाँको डिजेल, ३८ अर्ब ७३ करोड ३३ लाख रूपैयाँ बराबरको पेट्रोल र ३३ अर्ब ३४ करोड रूपैयाँ बराबरको एलपी ग्यास आयात भएको छ । यही अवधिमा नेपालले २६ अर्ब ४२ करोड ४२ लाख रूपैयाँ बराबरको अप्रशोधित सोयाबिन तेल आयात गरेको छ ।

त्यसैगरी, २३ अर्ब ६६ करोड रूपैयाँ बराबरको फलाम, १८ अर्ब ४५ करोड ३५ लाख रूपैयाँ बराबरका सुनजन्य वस्तु, १७ अर्ब ७६ करोड रूपैयाँ बराबरको अप्रशोधित पाम आयल र १४ अर्ब ७६ करोड ८३ लाख रूपैयाँ बराबरको स्मार्टफोन आयात भएको देखिन्छ ।

७ महिना अवधिमा नेपालबाट सबैभन्दा धेरै पाम आयल निर्यात भएको छ । यो अवधिमा १३ अर्ब ९२ करोड ६७ लाख रूपैयाँ बराबरको पाम तेल निर्यात भएको देखिएको हो । त्यस्तै, सोयाबिन तेल आठ अर्ब २७ करोड ७५ लाख रूपैयाँ बराबरको निर्यात भएको छ । विभागका अनुसार चार अर्ब ८९ करोड ७३ रूपैयाँ बराबरको अलैँची र दुई अर्ब ५८ करोड ३४ लाख रूपैयाँ बराबरको चिया निर्यात भएको छ ।

वैदेशिक व्यापार गर्ने सबैभन्दा ठूलो नाका वीरगञ्ज भन्सार हो । वीरगञ्ज भन्सारबाट ७ महिना अवधिमा  तीन अर्ब ४३ करोड ६३ लाख ४३ हजार रूपैयाँ बराबरको सामान आयात भएको छ भने २३ अर्ब २८ करोड ४० लाख रूपैयाँ बराबरको निर्यात भएको छ । नेपालले यो अवधिमा गरेको कूल वैदेशिक व्यापारमा वीरगञ्जबाट मात्र ३७ दशमलव ३९ प्रतिशत आयात भएको छ भने कूल निर्यातको २४ दशमलव ९२ प्रतिशत हिस्सा रहेको छ ।

त्यस्तै, भैरहवा भन्सारबाट एक खर्ब ३० अर्ब ५३ करोड ९३ लाख रूपैयाँ बराबरको आयात र पाँच अर्ब ४२ करोड ७० लाख बराबर रूपैयाँ निर्यात भएको छ । विराटनगर भन्सारबाट एक अर्ब ६ करोड ९० लाख १९ हजार रूपैयाँ बराबरको आयात हुँदा २५ अर्ब ५३ करोड ८० लाख रूपैयाँ बराबरको निर्यात भएको विभागको तथ्याङ्कबाट देखिन्छ ।